पुराना वामपन्थी नेता भेट्न प्रचण्ड घरघरमा-Sutra News

पुराना वामपन्थी नेता भेट्न प्रचण्ड घरघरमा

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

चितवन– पारिवारिक भेटघाटका लागि शुक्रबार चितवन गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विहान चितवनका पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरलाई भेट गरेका छन्।



प्रचण्डको निजी सचिवालयका अनुसार केही समयदेखि अस्वस्थ्य रहेका श्रेष्ठ र कुँवरलाई प्रचण्डले उनीहरुको निवासमा पुगेर भेट गरेका हुन्। भेटमा दुबै जनाको स्वास्थ्य अवस्था बुझेर प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए।

प्रचण्डले पुराना कम्युनिष्ट नेता श्रेष्ठको निवास पुलचोकमा पुगी स्वास्थ्य लाभको कामना गरे। केही दिनअघि घरमै लडेर गम्भीर बिरामी परेका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो।

अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताए।  श्रेष्ठले कम्युनिष्ट आन्दोलन र निष्ठाको राजनीतिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई प्रचण्डले आग्रह गरे।

त्यस्तै उनले शनिबार नै अर्का पुराना वामपन्थी नेता कुँवरको निवासमा पुगेर उनलाई भेटे। लामो समयदेखि प्रोस्टेटको समस्यामा रहेका कुँवरले स्वास्थ्यलाभ गरिरहेका छन्। अध्यक्ष प्रचण्डले नेता कुँवरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उच्चमनोबलका साथ जिउन आग्रह गरे।

काजीबा उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनैतिक सल्लाहकारको भूमिका निभाएका थिए। पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस काम गर्न नसकेको भन्ने नेता कुँवरको गुनासो रहेको छ।

चितवनका दुई जना पुराना वामपन्थी नेताको स्वास्थ्य अवस्था बुझ्न उनीहरुको निवासमा पुगेका चण्डसँगै नेकपा बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थिति रहेको थियो।

प्रचण्ड आजै काठमाडौं फर्कँदै छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट