

दमौली- सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले युवा शक्तिको परिश्रमबाट देश समृद्धिको यात्रामा जाने उल्लेख गरे।
उनले भने, ‘देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो। युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ।’
कोभिड-१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराईले जानकारी दिए। उनका अनुसार पर्यटन क्षेत्रमा १५ खर्बको लगानी रहेको र कोरोनाका कारण धारासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने बताए।
जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतीले कोभिड-१९ र यसका विरुद्धमा सहजीकरण गरेका थिए। सो क्रममा उनले भान्छामा पाक्ने खानाले नै हरेक रोगसँग लड्नसक्ने क्षमता विकास गर्ने जानकारी दिइन्। ‘दाल, भात, तरकारीले नै रोगसँग लड्ने क्षमता बढाउँछ, चाउमिन, मःम लगायत पत्रु खाना हुन्,’ उनले भनिन्। त्यस्तै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक कमलनयन गौतमले युवा र समाजसेवाका बारेमा सहजीकरण गरेका थिए।