नेकपाले बालुवाटार र धुम्बाराहीको साटो पेरिसडाँडामा सचिवालय बैठक राख्नुका तीन कारण-Sutra News

नेकपाले बालुवाटार र धुम्बाराहीको साटो पेरिसडाँडामा सचिवालय बैठक राख्नुका तीन कारण

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण शुक्रबार (२ असोज) मा स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको  बैठक आज (आइतबार) बस्दै छ।



यसअघि जस्तो केन्द्रीय सचिवालयको यो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार वा तत्कालीन एमालेको पार्टी मुख्यालय रहेको धुम्बाराहीमा होइन, तत्कालीन माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडा बस्दैछ।

एमाले र माओवादी केन्द्रबीचको एकतालगत्तै धुम्बाराहीको साथै पेरिसडाँडाको कार्यालयलाई नेकपाले केन्द्रीय कार्यालयको रुपमा घोषणा गरेको थियो। केही समयपछि पेरिसडाँडामा जनवर्गीय संगठनहरुको मात्र केन्द्रीय कार्यालय राख्ने निर्णय नेकपाले गर्‍यो।

३ जेठ २०७५ मा नेकपा बनेयता पेरिसडाँडामा बस्न लागेको यो पहिलो बैठक हो। यसअघिका अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो, एकाधपटक धुम्बाराहीस्थित कार्यालयमा पनि भयो।

२६ भदौको स्थायी समिति बैठकपछि लामो समयदेखि चल्दै आएको नेकपाभित्रको विवाद साम्य भएलगत्तै पेरिसडाँडामा तोकिएको बैठकलाई नेकपाभित्रै पनि धेरैले अर्थपूर्ण रुपमा हेरिरहेका छन्।

पार्टीको केन्द्रीय कार्यालय हुँदाहुँदै नेकपाले केन्द्रीय सचिवालयको बैठकका लागि पेरिसडाँडालाई नै किन रोज्यो होला?

आरोपबाट मुक्ति पाउन
बालुवाटारमा बैठक गरेर नेकपाले प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय बनाएको आरोप खेपिरहेको थियो। नेकपाकै नेताहरुले पनि बालुवाटारमा बैठक राख्ने निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

प्रधामन्त्री ओलीले बालुवाटारमा बैठक बोलाउने तर, अनुपस्थित हुने, उपस्थित हुँदापनि पनि २–३ घण्टा ढिलो गर्ने गरेका कारण २२ मंसिर (२०७६) मा नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले त बैठक बहिस्कार नै गरेका थिए।

प्रचण्ड साँच्चै कार्यकारी
२६ भदौ (०७७) स्थायी समिति बैठकले वास्तविक रुपमै प्रचण्डलाई पार्टीको ‘कार्यकारी अधिकार’ सुम्पेको छ। प्रचण्ड कार्यकारी अध्यक्ष बनेको स्थितिमा फेरि बालुवाटारमा बैठक बस्दा फेरि उनी प्रधानमन्त्री ओलीको छायाँमा पर्न सक्थे।

नेकपा स्थायी कमिटी सदस्य मणि थापा सहताका कारण पनि बैठक बालुवाटार बाहिर तोकिएको हुन सक्ने बताउँछन्। उनी भन्छन्, ‘प्रचण्ड कमरेडलाई पेरिसडाँडामा बैठक गर्दा सजिलो हुने ठानेर बोलाउनु भएको होला।’

थापाका भनाइमा, प्रधानमन्त्री ओलीले बालुवाटारमा बैठक बोलाउँदा प्रधानमन्त्रीका कारणले बालुवाटार जानु परेको भनेर स्पष्टीकरण दिन सजिलो थियो। तर, प्रचण्ड नै कार्यकारी अध्यक्ष भएको स्थितिमा फेरि बैठकका लागि बालुवाटार पुग्दा चित्तबुझ्दो स्पष्टीकरण दिनसक्ने स्थिति पनि थिएन।

स्थायी कमिटी सदस्य रघुजी पन्त भने धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँ नेकपाकै कार्यालय भएकाले पेरिसडाँडामा बैठक बोलाइनुका पछाडि कुनै अर्थ नभएको बताउँछन्। पन्त भन्छन्, ‘केन्द्रीय कार्यदलका कैयौं बैठक त्यहाँ गरिएको छ। अहिले सचिवालयको बैठक त्यहाँ गरिनु अस्वभाविक होइन।’

पेरिसडाँडाको तुलनामा धुम्बाराही साँघुरो
बालुवाटारमा बैठक नबस्ने भएपछि रहेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालयको बैठक गरे हुने हो। तर, जानकारहरुका भनाइमा, धुम्बाराहीका बैठक कक्षहरु त्यति अनुकूल छैनन्। कोभिड–१९ का कारण बैठकमा बस्ने बैठकमा भौतिक दुरी कायम गर्न सकिने गरी धुम्बाराहीका बैठक हल उपयुक्त छैनन्।

तत्कालीन एमाओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडास्थित मुख्य भवनको उपल्लो तलामा ठूलो भवन हल छ। तत्कालीन एमाओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटी (दिवाकर) को स्मृतिमा ‘दिवाकर हल’ नामाकरण गरिएको सो हलमा झण्डै २ सय मानिस अट्न सक्छन्।

हल फराकिलो र खुला ठाउँमा पनि भएकाले नेकपाले त्यहाँ बैठक राखेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट