काठमाडौँ- रेल विभागका महानिर्देशक बलराम मिश्रले शुक्रबार (२ असोज) जनकपुर आइपुगेका दुईवटा रेलबारे आफ्नो फेसबुक वालमा आइतबार बिहानै एउटा स्टाटस लेखे। त्यसमा उल्लेख छ, ‘नेपाललाई हस्तान्तरण गरिएका दुई रेल र भारतीय रेलमन्त्री पियुस गोयलको ट्वीटबाट सिर्जित विवादलाई कोंकण रेलवेले स्पष्ट पारेको छ।’
Posted by Balram Mishra on Saturday, September 19, 2020
आफ्नो फेसबुक स्टाटसका साथ महानिर्देशक मिश्रले कोंकण रेलवेले शनिबार गरेको एउटा ट्वीटको ‘स्क्रिनसट’ राखेका छन्। कोंकण रेलवेको सो ट्वीटमा रेल विभाग (नेपाल) ले अर्डर गरे अनुसार निर्माण गरिएको रेलका दुई सेट नेपाललाई सफलतापूर्वक हस्तान्तरण गरिएको उल्लेख छ।
यति भन्दै ट्वीटमा नेपालले खरिद गरेको दुई वटा रेलको मूल्य समेत उल्लेख गरिएको छ। त्यसमा भनिएको छ, ‘ती रेलको मूल्य ५२.४६ भारु हो। यो अवसर दिएकोमा कोंकण रेलवे नेपाल सरकारप्रति आभार व्यक्त गर्दछ।’ यो मूल्यलाई नेपाली रुपैयाँमा ‘कन्भर्ट’ गर्दा करिब ८५ करोड रुपैयाँ हुन आउँछ।
कोंकण रेलवेको चेन्नईस्थित कारखानामा निर्माण गरिएका रेलका सेट झण्डै तीन हप्ता ती दुई रेल पटनास्थित हाजिपुर रेलस्टेशन ल्याएर राखिएको थियो। ती रेल नेपाललाई हस्तान्तरण गर्ने गरी बिहीबार जयनगर आइपुगेका थिए। शुक्रबार बिहान जनकपुर ल्याएर नेपाल रेलसेवा कम्पनी लिमिटेडलाई ती रेल हस्तान्तरण गरिएका थिए।
जब कोंकण रेलवेका अधिकारीहरुले जनकपुरमा रेल नेपाली पक्षलाई हस्तान्तरण गरे, लगत्तै रेलमन्त्री पियुस गोयलले दुबै रेल भारतले नेपाललाई उपहारस्वरुप दिएको जस्तो अर्थ लाग्ने गरी ट्वीट गरे। नेपालले खरिद गरेको रेल भारतले सित्तैमा दिएजस्तो गरी मन्त्रीले नै ट्वीट गरेपछि नेपाली पक्ष अप्ठेरोमा पर्यो।
‘नेपालसँग हाम्रो पुरानो सांस्कृतिक र हार्दिक सम्बन्ध छ, यो सम्बन्धमा नयाँ आयाम थप्ने गरी हामीले नेपाललाई दुई वटा ‘डिएमयु’ रेल प्रदान गरेका छौं,’ मन्त्री गोयलको ट्वीटमा भनिएको थियो, ‘यसको उपयोग विहारको जयनगरदेखि नेपालको कुर्थासम्म हुनेछ। यसबाट दुवै देशका नागरिक लाभान्वित हुनेछन्।’
मन्त्री गोयलले गरेको यो ट्वीटलाई रेल निर्माता कम्पनी कोंकण रेलवे र भारतीय रेल मन्त्रालयले पनि तत्काल रिट्वीट गरिदिए। एकातिर रेलमन्त्रीले नेपाललाई भारतले सित्तैमा दिएको सन्देश जाने गरी ट्वीट गर्नु, अर्काेतिर बिक्रेता कम्पनीले त्यसलाई रिट्वीट गरिदिँदा नेपाललाई सो रेल सित्तैमा दिएको हो भन्ने पुष्टि भएजस्तै हुन पुग्यो।
चेन्नईमा निर्माण भएको रेल कोभिड–१९ को महामारीका बीच पनि कोंकण रेलवेले नेपाल ल्याएर हस्तान्तरण गर्नुको कारण छिटो भुक्तानीका लागि थियो। किनकि सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार सो कम्पनीले कूल मूल्यको २० प्रतिशत अर्थात् करिब १७ करोड रुपैयाँमात्र पाएको थियो, जबकि दुई सेट रेलको मूल्य करिव ८५ करोड हो।
रेल हस्तान्तरण नगर्दा बाँकी रकम नपाउने भएपछि निर्माता कम्पनीे रेल छिटो हस्तान्तरण गर्न हतारिएको थियो। त्यसैले, हाजिपुरबाट जयनगर ल्याएर शुक्रबार नेपाललाई हस्तान्तरण गरिएलगत्तै भुक्तानीको प्रक्रिया सुरु गरिएको पनि थियो। तर, भुक्तानीको प्रक्रिया सुरु हुँदै गर्दा सित्तैमा दिएको अर्थ लाग्ने गरी जिम्मेवार पक्षबाटै ट्वीट र रिट्वीट गर्ने काम भयो।
भुक्तानी प्रक्रिया सुरु हुनै लाग्दा भारतीय पक्षको यस्तो दाबी (ट्वीट) प्रति नेपाली पक्ष अप्ठेरोमा पर्यो। सित्तैमा दिएजस्तो गरी ट्वीट गर्दा त्यसले भुक्तानी प्रक्रियालाई समेत अप्ठेरो पार्ने निश्चित थियो। त्यसैले, कोंकण रेलवेले ‘दुवै रेल सित्तैमा दिइएको होइन’ भन्ने सन्देश जाने गरी नेपालले खरिद गरेका रेलका दुई वटा सेटको मूल्य भारु ५२.४६ करोड भएको बताउँदै शनिबार ट्वीट गर्यो।
Shared Journey for Development, Connectivity and Progress #IndianRailways @RailMinIndia @Central_Railway @WesternRly @GMSRailway @SWRRLY pic.twitter.com/eQjKiZ5s65
— Konkan Railway Corp (@KonkanRailway) September 19, 2020
शुक्रबार नेपाललाई रेल हस्तान्तरण गरिएपछि तिनको बाँकी भुक्तानी प्रक्रिया सुरु भएको छ भने रेललाई फेरि जयनगरमै फर्काइएको छ। कोभिड–१९ का कारण जयनगर–जनकपुर रेलमार्गमा तत्काल रेलसेवा सञ्चालन हुने स्थिति नभएको र जनकपुरमा राखिँदा सुरक्षामा समेत अप्ठेरो पर्ने भएका कारण शुक्रबार मात्र ल्याइएका रेल फेरि जयनगर नै फर्काइएको हो।