

काठमाडौं- गोङ्गबु चोक नजिकै सञ्चालनमा रहेको श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको दुई सय बोरा चामल बिक्री गर्न रोक लगाइएको छ।
श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० केजी तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद बिक्री बिल नभएको र मिलको परिचय पाटी नराखिएको भन्दै बिक्री गर्न रोक लगाइएको हो।
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आज दिउँसो मिल सञ्चालकलाई कागजातसहित कृषि विभागमा डाकेको छ।
त्यस्तै बालाजु चोक छेउमा ११० रुपैयाँमा प्याज बिक्री गर्ने ढकाल आलु तथा सब्जी भण्डारका सञ्चालक पण्डितप्रसाद ढकाललाई पनि विभागमा डाकेको छ।
त्यस्तै गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार पारिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करिब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुल्ला चाउमिन बरामद गरेर नष्ट गरिएको छ।
त्यस्तै सानो भर्याङमा सञ्चालित माँ भवानी ट्रेडर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकाले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।