पेरिसडाँडा बैठकका चार पृथक दृश्य-Sutra News

 पेरिसडाँडा बैठकका चार पृथक दृश्य

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- तत्कालीन दुई कम्युनिष्ट पार्टीबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मुख्यालय पेरिसडाँडामा पहिलोपटक आइतबार नेकपा केन्द्रीय तहको बैठक बस्यो।



माओवादीसँग पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेयता दोस्रोपटक पेरिसडाँडा छिरेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले करिब पौने चार घण्टा त्यहाँ बिताए।

नेकपाको सचिवालय बैठकभित्रको दृश्य के थियो, त्योचाहिँ मिडियालाई बैठकस्थलमै जान नदिएकाले थाहा भएन। तर, पार्टी कार्यालय र आसपासमा भने केही पृथक दृश्य देख्न सकिन्थ्यो। त्यहाँ देखिएका मुख्य चार दृश्यबारे यहाँ संक्षिप्त वर्णन गरिएको छ।

माओवादी कार्यकर्तालाई नेता भेट्ने अवसर

आफ्नै पूर्व पार्टी कार्यालयमा बैठक बसेकाले पनि होला, कार्यालय आसपास पूर्व मोआवादी कार्याकर्ता बढी देखिन्थे। धेरैले यसलाई आफ्ना नेता भेट्ने अवसरका रुपमा प्रयोग गर्न चाहन्थे। नेतादेखि कार्यकतासम्म प्रचण्ड, ओलीलगायतका शीर्ष नेताहरुलाई भेट्न चाहान्थे।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका बालकृष्ण ढुंगलको सजाय सरकारले मिनाहा गर्दिएको थियो। उनी पनि त्यहाँ नेताहरुसँग भेटघाटका लागि आएको बताए।

त्यस्तै तत्कालीन माओवादी निकट किसान संगठनका महासचिव रहेका प्रेमप्रसाद बिमली मगर पनि कार्यालय परिसरमै थिए। उनको चाहना नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेकपाको जेष्ठ अधिकार मञ्चलाई किन बिस्तार नगरेको भनेर प्रश्न सोध्नु थियो।nekapa sachiwalay4.jpg

तीन महिनादेखि भेट्ने प्रयास गरेपनि प्रचण्डलाई भेट्न नपाएपछि मगरले आक्रोस पोखे- ‘यो पार्टी कार्यालयलाई व्यवस्थित गराउन मेरो पनि श्रम खर्च भएको छ। तर, आज शौचालय जान्छुभन्दा पनि जान दिएनन्।’

‘पहिले सकेसम्म दुई दिनमा एकपटक भए पनि भेटघाट गर्नुपर्छ’ भनेर प्रचण्डले भन्ने गरेको भन्दै उनले विगत सम्झिए। बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको भन्दै पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो।

८ असोजबाट ७४ वर्षमा टेक्न लागेका मगर नेकपाको जेष्ठ नागरिक मञ्चमा बस्न चाहन्छन्। नेकपाले अध्यक्ष र उपाध्यक्ष तोकेको भए पनि मञ्चको विस्तार भने भएको छैन।

प्रेमप्रसादजस्तै अन्य धेरै कार्यकर्ता नेताहरुलाई भेट्न सकिन्छ कि भन्दै पेरिसडाँडा पुगेका थिए। बैठक स्थलमा पूर्व एमालेका नेता कार्यकर्ता भने खासै देखिएनन्।

पहिलोपटक खुलेको क्यान्टीन

पेरिसडाँडा कार्यालमा पहिलोपटक नेकपाको केन्द्रीय तहको बैठक भएपछि कोरोना नियन्त्रणका लागि भन्दै गरिएको ‘लकडाउन’यता पहिलोपटक त्यहाँ रहेको क्यान्टीन खुल्यो। क्यान्टीन सञ्चालिका भन्दै थिइन्- धेरैपछि आजै हो क्यान्टीन खुलेको। पहिलो दिन भएकाले पसलमा खासै सामान पनि केही छैन।’

बैठकमा बसेका नेताहरुका लागि चिया बिस्कुट र खाजा त्यही क्यान्टीनमा बनाएर पठाइएको थियो। त्यहाँ उपस्थितले पनि कालो, सेतो (दुध चिया) चिया र  बिस्कुट खाइरहेका थिए। धेरै समयपछि क्यान्टीन चलाएर पैसा थाप्न पाएकाले होला, क्यान्टीन सञ्चालिकाको अनुहारमा अलग्गै चमक थियो।

nekapa sachiwalay3.jpg

शहीदलाई सम्झनै सकस

माओवादी युद्धकालमा सरकारी सुरक्षा संगठनबाट सिन्धुलीमा मारिएका त्यहाँका शहीद महेन्द्र श्रेष्ठको स्मृति दिवस आज रहेछ।

शहीद तथा बेपत्ता सन्तती योद्धा फाउन्डेसनले श्रेष्ठको स्मृति दिवस पेरिडाँडामा मनाउनेगरी कार्यक्रम तय गरेको थियो। कार्यक्रमका लागि सिन्धुलीकै नेता हरिबेला गजुरेललाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो भने सांसद् गणेश पहाडीलाई अतिथिका रुपमा।

दिउँसो दुईबजेतिर कार्यक्रम गर्ने योजना भएको भए पनि बैठकसँग जुधेकाले श्रेष्ठको २२औं स्मृति दिवस प्रभावित भयो। बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो। कसैले पनि कार्यालयभित्र प्रवेश गर्न पाइरहेका थिएनन्।

बैठक लम्बिएकाले समयमै भित्र कार्यक्रम गर्न पाइने सम्भावना कम थियो। त्यसैले आयोजकले क्यान्टीन प्राङ्गनमै कार्यक्रम गर्ने योजना बनाए। कार्यक्रमका लागि व्यानर टाँग्न निकै सकस भइरहेको थियो। साँघुरो ठाउँमा भएकाले कता व्यानर झुन्ड्याउने भनेर खुट्याउन आयोजलाई मुस्किल भइरहेको थियो। उनी व्यानरलाई ठाँउ-ठाँउमा सारिरहेका थिए।

balika1.jpgमुख्यमन्त्रीलाई पति दाबी गर्ने प्रक्राउ

आफूलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पत्नी भएको दाबी गर्ने दोलाखाकी बालिका खड्का पेरिसडाँडामा प्रक्राउ परिन्।

नेता भेट्न भन्दै पेरिसडाँडा पुगेकी खड्कालाई प्रहरीले जबर्जस्ती प्रवेश गर्न खोजेको भन्दै नियन्त्रणमा लियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार खड्कालाई झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको हो। खड्का धर्नामा बस्न आएको र उनले अन्य साथीसमेत बोलाएको प्रहरीको दाबी छ।

नेकपा दोलखाकी कार्यकर्तासमेत रहेकी खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुव्यर्वहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबीसहित जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन्। पछि उनले राईविरुद्धको मुद्दा फिर्ता लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट