मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपामा औपचारिक छलफल सुरु, यस्ता छन् तीन मापदण्ड-Sutra News

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपामा औपचारिक छलफल सुरु, यस्ता छन् तीन मापदण्ड

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको छ। आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको हो।



करिब पौने चार घण्टा चलेको बैठकमा चार कार्यसूची बनाएर छलफल सुरु भएको र पहिलो दिन मन्त्रिपरिषद् गठनबारे छलफल भएको नेकपा प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को पुनर्गठन, राजनीतिक तथा संवैधानिक पदमा नियुक्ति, एकता गर्न बाँकी रहेको सागंठानिक विषय र विविध विषय गरी चारवटा कार्यसूची पहिलो बैठकले तय गरेर छलफल प्रारम्भ भएको छ।

बैठकको पहिलो कार्यसूचीको रुपमा रहेको मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिकरुपमा छलफल भएको श्रेष्ठले बताए। ‘मन्त्रिपरिषद्को पुनर्गठन गर्दा स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ,’ उनले भने, ‘पुनर्गठनका सन्दर्भमा आजको सचिवालयले विभिन्न कोणबाट नीतिगतरुपमा छलफल गरेर सुझाव लिइएको छ।’

यस्ता छन् तीन मापदण्ड
सचिवालय  सदस्य झलनाथ खनालले मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल भएको बताउँदै मुख्य गरी तीन मापदण्डमा त्यो गर्न सबैले सुझाव दिएको जानकारी दिए।

खनालले सूत्रन्युजसँग ती मापदण्ड खुलाउँदै भने, ‘क्याबिनेट अलि ठूलो मात्रामा पुनर्गठन गर्ने, नयाँ पुराना सबैलाई समेटेर पुनर्गठन गर्ने र पुनर्गठन गर्दा क्षेत्रीय, जातीय, सामाजिक र लैंगिक सन्तुलनलाई मिलाएर गर्ने।’

सबैबाट लगभग उस्तै सुझाव आएको बताउँदै खनालले आजको बैठकमा नामबारे चर्चा नगरिएको र पुनर्गठनको कुनै समयसीमा नतोकी ‘यथाशिघ्र चाँडै’ गर्ने समझदारी बनेको बताए।

प्रवक्ता श्रेष्ठले पनि संवाददताहरुसँग कुरा गर्दै नामका बारेमा आज छलफल नभएको र आवश्य परे प्रधानमन्त्रीसँग यस विषयमा पेचिलै छलफल हुने बताएका थिए। ‘व्यक्तिहरुको नाममा प्रवेश गरेका छैनौं,’ श्रेष्ठले भने, ‘आवश्यकता पर्‍यो भने प्रधानमन्त्रीसँग पेचिलै छलफल हुन्छ। आज नीतिगतरुपमा मापदण्डबारे विभिन्न कोणबाट सुझावहरु लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट