कोरोना महामारीले भृकुटीमण्डपको रौनक हरायो, यसवर्ष ‘नाडा अटो सो’ पनि नहुने-Sutra News

कोरोना महामारीले भृकुटीमण्डपको रौनक हरायो, यसवर्ष ‘नाडा अटो सो’ पनि नहुने

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- नेपालमा असोज-कात्तिक चाडपर्वको सिजन हो। योबेला मानिसहरुले विभिन्न साइत पारेर नयाँ सामानहरु किन्ने गर्छन्। मानिसहरुले आफ्नो घर सजाउने सामानदेखि निजी सवारी साधन, भाँडाकुडा, लत्ता-कपडाजस्ता सामानहरु किन्ने गर्छन्।



नेपालीहरुको महान चाड दसैं-तिहारमा धेरै जनाले गाडी किन्ने, घर सजाउनका लागि सोफा, दराजजस्ता सामानहरु किन्ने, बाइक, स्कुटी र फ्रिजजस्ता इलेक्ट्रिक सामानहरु पनि यही समयलाई उपयुक्त बनाएर खरिद गर्ने गर्छन्।

व्यापारीहरुले पनि आफ्ना ग्राहकलाई लक्षित गरेर सबै सामानको व्यापार व्यवसायमा मेलादेखि लिएर विभिन्न खालको अफरको घोषणा गरेको हुन्छन्। आफ्ना ग्राहकको चाहना पूरा गर्न विभिन्न कम्पनीले दसैं तिहारलाई लक्षित गर्दै काठमाडौंमा भृकुटीमण्डपमा नेपालकै बृहत प्रदर्शनी मेला गरेका हुन्छन्। यो वर्ष भने त्यो उत्साह नहुने भएको छ। भृकुटमण्डपमा अटो मोबाइलको सबैभन्दा ठूलो मेला नाडा ‘अटो शो’ यो वर्ष नहुने भएको छ।

नाडा अटो शोमा ग्राहकहरुले गाडी बुकिङ गर्ने र व्यावसायीले दसैंमा डेलिभरी गर्ने गर्दथे। दसैंका लागि गाडी बिक्रेताले ग्राहक आकर्षित गर्न नगद डिस्काउन्ट र बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा सवारीसाधन कर्जा दिने घोषण गरेका हुन्थे। तर, यो पटको दसैंमा भने त्यो उत्साह हराएको छ। कोरोनाको कारण सरकारले नै सार्वजनिक ठाउँमा मेला नर्गन आग्रह गरेको छ।

यता चैतदेखि सुरु भएको लकडाउनसँगै सबै क्षेत्रमा आर्थिक मन्दी छाएको छ। जसले गर्दा गाडी किन्ने योजना बनाएका ग्राहकहरुले पनि किन्नसक्ने अवस्था कम भएको छ। यो मन्दीले गर्दा अटो मोबाइलका क्षेत्र पनि आर्थिक संकट ल्याएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष्य कृष्णप्रसाद दुलालले बताए।

उनी भन्छन्, ‘कोरोनाको कारण अटो मोबाइल व्यवसायमा ५० प्रतिशतभन्दा माथिको गिरावट आएको छ। गत वर्षभन्दा बाहिरबाट आउने साधन पनि घटेको छन्। यो वर्ष गतवर्षको जस्तो कुनै पनि ठाउँमा व्यापार मेला तथा प्रर्दशन हुँदैन। कोरोनाको माहोल साम्य भयो भने माग फागुनतिर नाडाको अटो सो हुन्छ। तर, यस्तै समय भए गर्न सकिन्न।’

नेपालमा अहिले सबैभन्दा धेरै चलेका गाडी तथा स्कुटीको ब्राण्ड बजाज, होन्डा, टाटा मोटरर्स, यामाहा, महिन्द्रा, हुन्डाई, रेनो, टोयोटा, टिभिएस, ष्कोडा रिन्लट निसान र भेष्पा स्कुटर आदि हुन्। यी कम्पनीले दशैको अवसर पारेर भृकुटमण्डपमा मेला प्रर्दशनी गर्दथे। योवर्ष मेला हुँने-नहुँनेबारे अन्योल रहेको बजाजकी महाप्रबन्ध पुनम सिंहले बताइन्। ‘गत वर्ष यो समयसम्ममा गाडी खरिद गर्ने मानिसहरुले बुकिङ गरिसकेका हुन्थिए।’

उनी भन्छिन्, ‘तर, यो वर्ष त्यस्तो अवस्था छैन। कोरोनाको कारण व्यवसाय घटेको छ। अहिले कति मान्छे बेरोजगार भएका छन्। कति पय मानिसहरु काठमाडौं छाडेर गाउँ गएका छन्। जसको कारण पनि व्यवसाय घटेको छ। जति अघिल्लो साल बिक्री भएको थियो। त्यत्ति त छैन। तर, निषेधाज्ञा खुलेसँगै केही व्यपार भने बढ्न थालेको छ। गत वर्षकै अनुपातमा व्यापार नभए पनि व्यापार राम्रो हुन्छ भन्ने अनुमान गरेको छौं। अब के कति हुन्छ त्यो त समयले नै बताउँला।’

टीभीएस नेपालका कार्यकारी प्रबन्धक दिपक रौनियार पनि कोरोनाको कारण यो वर्षको व्यवसायमा उत्साह नभएको बताउँछन्। उनी भन्छन्, ‘दशैंको लागी मेला नगरे पनि ग्राहकहरुलाई अफरको सुविधाचाहिँ ल्याउछौं। एक दुई वटा कम्पनीका ब्राण्डहरुले ल्याइसकेका छन्। हाम्रो पनि एकदुई दिनसम्ममा दशैंका लागि अफर ल्याउने तयारीमा छौं।’

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि गाडीको भन्सार रेट बढाएको छ। जसका कारण ३० प्रतिशत गाडी किन्ने मान्छे घट्ने अनुमान रहेको उनले बताएका छन्। वर्षभरि नाडा अटो सोमा ६० प्रतिशतको बिक्री हुने थियो। यो वर्ष त्यो हुन्न। जसले व्यावसाय घटने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट