उच्च सर्तकता अपनाएर यती एयरलाइन्स सञ्चालनमा-Sutra News

उच्च सर्तकता अपनाएर यती एयरलाइन्स सञ्चालनमा

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं– निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्थाको रुपमा रहेको यती एयरलाइन्सले उच्च सर्तकता अपनाएर हवाई उडान सुरु गरेको छ।



एयरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा आज पत्रकार सम्मेलन गरी कोभिड–१९ को सम्भावित संक्रमणका कारण झण्डै ६ महिनादेखि बन्द रहेको यती एयरलाइन्स आजदेखि नै उडान सुरु गरेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले कोभिड–१९ पछिको आवश्यक कार्यविधि बनाएर उडान सञ्चालन गरेको जानकारी दिए। सरकारले असोज १ देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेपनि यती एयरलाइन्सले असोज ५ गतेदेखि उडान सुरु गरेको हो।

एयरलाइन्सका सिइओ रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यतीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एयरलाइन्स तथा तारा एयरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित तवरले जहाज सञ्चालन गरेको बताए।

‘यात्राका दौरान यात्रुहरुलाई सुरक्षित राख्न गर्नुपर्ने अतिरिक्त सुरक्षा उपायका लागी कर्मचारीहरुलाई अभ्यस्त राख्न तालिम प्रदान गर्ने, आवश्यक उपकरणहरु खरीद गर्ने तथा उडान सम्बन्धि पूर्वाभ्यासहरु सम्पन्न गरीसकेका छौँ,’ उनले भने। स्वास्थ्य सुरक्षा सर्तकतासँगै निर्धक्क भएर यात्रा गर्न सकिने उनको भनाइ छ।

२०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एयरमा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन्।

यतीका विमानले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

व्यवसाय भन्दा सेवालाई प्राथमिकता दिएको यती एयरलाइन्सले नेपालगञ्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको छ।

यतीले उडान हुनुभन्दा दुईघण्टा पहिला विमानस्थल पुग्न, माक्सको अनिवार्य प्रयोग गर्न, भौतीक दूरी कायम राख्न, वायुयानमा फेस भाइजरको प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ। ७० वर्षभन्दा बढी उमेरका दिर्घरोगी र गर्भवती महिलालाई सकेसम्म जहाजमा यात्रा नगर्न अनुरोधसमेत गरेको छ। तत्कालका लागि उडानमा खानपान र शौचालयको प्रयोग निषेध गरिएको एयरलाइन्सले जनाएको छ।

यात्रालाई सुरक्षित राख्न यती एअरलाइन्सले हरेक प्रयोग पश्चात वायुयान, यात्रु ओसारपसार गर्ने सवारीसाधन, व्यागेज ट्रली तथा उपकरणको अनिवार्य नि–संक्रमण गर्ने, कार्गो तथा लगेजहरुको आवश्यक्ता अनुसार नि–संक्रमण गर्ने व्यवस्था मिलाएको छ।

पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारालाई अगाडि सारेको यतीले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको छ।

प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौं आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार बाट दुईतर्फी हवाई टिकट सहीत बस्ने होटलको व्यवस्था मिलाएको छ।

‘अब एयरलाइन्स उड्नमात्र होइन, घुम्नपनि’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिनका लागि भ्रमण प्याकेज खरीद गर्ने पहिलो १०० जना खरीदकर्ता यात्रुलाई आकर्षक उपहार प्रदान गर्नुका साथै भ्रमण प्याकेज खरीदकर्ता यात्रुले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फत् समेत आकर्षक उपहार प्राप्त गर्नसक्ने यती एयरले जनाएको छ।

यतीले आफ्नो २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एयरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याएको छ। मोबाइल एप्सको सेवासँगै मोबाइल एप्सको माध्यामबाट टिकट बुकिङ गरे विशेष छुटको व्यवस्था समेत लिन सकिने एअरलाइन्सले जनाएको छ।

एण्ड्रोईडको गुगल प्ले स्टोर र आइओएस को एप्स स्टोरमा गई ‘यती एयरलाइन्स’ डाउनलोड गरी एप्सको माध्यमबाट टिकट बुकिङ गर्न, स्काई क्लब माइलेज तथा फ्लाईट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर सजिलैसँग थाहा पाउनसकिने प्रवक्ता बर्तौलाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट