‘हिमचितुवा’ आङरिताले राजा वीरेन्द्रले भनेको सबैथोक माने, तर माग्नका लागि दरवार गएनन्-Sutra News

‘हिमचितुवा’ आङरिताले राजा वीरेन्द्रले भनेको सबैथोक माने, तर माग्नका लागि दरवार गएनन्

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- सोमबार (असोज ५) विहान निधन भएका प्रसिद्ध सगरमाथा आरोही आङरिता शेर्पाको दाहसंस्कार बुधबार बौद्धधर्मानुसार गरिने भएको छ। विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरेका उनलाई यही कारण ‘हिमचितुवा’ उपनाम दिइएको थियो।



सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका उनले सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका थिए। त्यही नै उनको अन्तिम आरोहण हुन पुग्यो। विश्वको सर्वोच्च शिखर सगरमाथा मात्रै होइन, पाकिस्तानको सर्वाेच्च शिखवर माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक–पटक आरोहण गरेका थिए। सन् १९८३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका उनले १९८४, १९८५, १९८७, १९८८ मा सफलतापूर्वक सगरमाथा आरोहण गरे।

सन् १९९० को दशकमा पनि विना अक्सिजन सगरमाथाको सफल आरोहण क्रमलाई उनले निरन्तरता दिए। त्यसक्रममा सन् १९९०, १९९२, १९९३, १९९५, १९९६ मा पनि उनले सगरमाथाको आरोहण गरेका थिए। सन् १९९६ मा भएको आरोहणका क्रममा बिरामी परेपछि उनको आरोहण यात्रा रोकियो।

उनको पारिवारिक सदस्यहरुले सञ्चारकर्मीहरुसँग के बताउने गरेका छन् भने, बिरामी  भएपछि राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई पठाएर आरोहणलाई निरन्तरता नदिन आग्रह गरेका थिए। गोपीकृष्णस्थित भाडाका कोठामा बसेका बेला युवराज दीपेन्द्र उनलाई भेट्न पुगेका थिए। दीपेन्द्रको भनाइ थियो, ‘बुबाले तपाईंको स्वास्थ्यस्थिति ख्याल गर्दै आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ।

उनले राजा वीरेन्द्रको आग्रह स्वीकार गरे। तर, आफ्ना लागि राजासँग उनले केही पनि मागेनन्। कतिसम्म भने, दीपेन्द्रले नै केही अपेक्षा भए दरवारमा आएर आफ्ना बुबा अर्थात् राजा वीरेन्द्रसँग भन्न आग्रह गरेपनि उनले केही मागेनन्।उनले कायम गरेको सगरमाथा आरोहणको दश पटकको विश्वकीर्तिमानलाई अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन्।

नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव समेत राखेको थियो। तर,उनी भारतमा बस्न पनि गएनन्। उनी सन् १९४८ मा जन्मेका थिए। उनको पुर्ख्यौली पेशा चौरीपालन थियो। तर, गाउँको प्रचलन अनुसार १५ वर्षकै उमेरदेखि उनी आरोहणमा लागे।

उनले पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका थिए। विना अक्सिजन सन् १९८३ मा सगरमाथा आरोहण गरेपछि उनी विश्वव्यापी रुपमा चर्चित भए। १० पटक उनले विना अक्सिजन सगरमाथाको आरोहण गरिरहे। र, आफ्नो रेकर्ड तोड्न कसैलाई पनि दिएनन्।

विभिन्न आरोहण दलका लागि उनले सगरमाथाको सफल आरोहण गरेपनि त्यसले नेपालको इज्जत र सम्मान बढाउन नै कायम गरेको थियो। तर, १०–१० पटक विना अक्सिजन सगरमाथा आरोहण गरेर विश्वरेकर्ड कायम गरेपनि उनको आर्थिक अवस्था भने दयनीय थियो। दयनीय आर्थिक आर्थिक अवस्थाका कारण नेपाल पर्वतारोहण सङ्घले उनलाई मासिक रुपमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको थियो।

स्वर्गीय आङरिताका तीन छोरा र एक छोरी छन्। त्यसमध्ये जेठा छोरा कर्साङ आरोहण पेशामै छन्। माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन्। कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन्। पत्नीको भने सात वर्ष अघि नै निधन भएको थियो। छोरी डोमा भने जोरपाटीमा बस्दै आएकी छन्। उनी छोरीसँगै बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट