आयल निगमले चार वर्षपछि फर्नेस आयलको बिक्री सुरु गर्दै-Sutra News

आयल निगमले चार वर्षपछि फर्नेस आयलको बिक्री सुरु गर्दै

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- नेपाल आयल निगमले चार वर्षपछि फर्नेस आयलको बिक्री सुरु गर्ने भएको छ। निगमले व्यवसाय विविधीकरण गर्नका लागि फर्नेस तेल पुनः बिक्री गर्न लागेको हो। निगमका प्रवक्ता वीनितमणि उपाध्यायले फर्नेस आयल बिक्री खुला गरिएको जानकारी दिए। 



बजारमा यस्तो तेलको माग बढेको र कारोबारलाई व्यवस्थित गर्न निजी क्षेत्रलाई फर्नेस आयल ल्याउन अनुमति दिने उपाध्यायले बताए। निजी क्षेत्रले निगमको अनुमतिमा यो तेल ल्याएर बिक्री गर्न पाउनेछन्।

उनका अनुसार अब निगमले निजी क्षेत्रलाई खरिद आदेश (पीडीओ) दिनेछ। निगमको नयाँ व्यवस्थापछि यसको कारोबार गर्दै आएका व्यवसायीहरूले स्व्स्फूर्तरुपमा खरिद बिक्री गर्न पाउने छैनन्।

उनीहरूले यस्तो आयलको कारोबार गर्न निगमको अनुमति अनिवार्य लिनुपर्ने नियम रहेको उनले बताए। अहिलेसम्म व्यवसायीले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट सिधै खरिद गर्दै आएका थिए। ‘यो व्यवस्थाले निगमको एकाधिकार कायम हुनुका साथै कारोबार व्यवस्थित हुने अपेक्षा छ,’ उनले सूत्रन्युजसँग भने।

निगमका अनुसार व्यवसायीले भारतको हल्दिया रिफाइनरी डिपोबाट आयल ल्याउनेछ। भारतकै मथुरा रिफाइनरी पीडिओ जारी गर्नेसमेत निगमले जनाएको छ।

फर्नेस आयल खरिदका लागि निगमले तीन वटा कार्यालय तोकेको छ। प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं.२ को अमलेखगञ्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्नुपर्ने निगमले जानकारी दिएको छ।

नेपालमा खासगरी यो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ। यद्यपि नेपालमा हालसम्म कति र कुन-कुन कम्पनीले यस्तो तेल आयात गरी कारोबार गर्दै आएका छन् भन्ने एकीन तथ्यांक नभएको निगमको भनाइ छ।

पछिल्लो समय नेपालमा यस्तो तेलको माग बढेको र निगम पनि व्यापार विविधीकरण विस्तार गर्ने तयारीमा रहेका बेला लाभदायी हुने देखेपछि निगमले बिक्री अनुमति खुला गरेको छ। नेपालमा यो तेलको बिक्री वितरण हुँदै आए पनि पारदर्शी र प्रतिस्पर्धी नहुँदा निगमले व्यवस्थित गर्न खोजेको उपाध्यायले बताए।

‘फर्नेस आयल डिजेलको तुलनामा निकै सस्तो हुन्छ। अहिले डिजेलको कारोबार प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुँदै आएको छ। फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्म बिक्री हुन्छ,’ उनले भने।

फर्नेस आयल बिक्रीको एकाधिकार हातमा ल्याएपछि निजी क्षेत्रले गर्दै आएको कारोबार थप व्यवस्थित हुँदै जाने उनको भनाइ छ।

निगमले फर्नेस तेलको मूल्य प्रतिटन ५३ हजार ८ सय ३६ रुपैयाँ निर्धारण गरेको छ। फर्नेस आयलको उच्चतम प्रयोगकर्ता नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको मल्टी फ्युल पावर प्लान्ट बन्द भइ माग घटेपछि निगमले यसको बिक्री बितरण रोकेको थियो।

निगमले फर्नेस तेल आर्थिक वर्ष २०७३-७४ मा ३६ टन आयात गरेको थियो। वर्ष २०७२-७३ मा ७७ टन आयात गरेको थियो। २०७१-७२ मा आठ सय ८३ टन आयात गरेको थियो भने २०७०-७१ मा हजार १ सय ७१ टन आयात गरेको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट