देउवाले भने- महिलाले महिला भोटर ल्याउँ, प्रधानमन्त्री बन्न सक्नुहुन्छ-Sutra News

देउवाले भने- महिलाले महिला भोटर ल्याउँ, प्रधानमन्त्री बन्न सक्नुहुन्छ

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा आबद्ध महिला नेता–कार्यकर्ताहरूलाई बढीभन्दा बढी महिला मतदाताको संख्या बढाउन निर्देशन दिएका छन्।



मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३औं स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको ‘नेपालमा महिला समानताको संवैधानिक तथा कानुनी वयवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक ‘भर्चुअल’ छलफल कार्यक्रममा सभापति देउवाले उक्त निर्देशन दिएका हुन्।

देउवाले अहिले पार्टीमा बढीभन्दा बढी महिलालाई मतदाताका रूपमा भित्र्याउन सके आगामी दिनमा महिला नै नेपालको प्रधानमन्त्री बन्‍नसक्ने बताए। ‘प्राइमिनिस्टर बन्‍न सक्नुहुन्छ भोलि, त्यो काम पहिले गर्नुस् न! महिलाले महिला भोटर ल्याउँ, दलितले दलित, जानजातिले जानजाति, थारुले थारु, मुस्लिमले मुस्लिम भोटर बढाऔं,’ उनले भने, ‘भोट हाल्ने जनता छ, त्यो जनता नै आफ्नो पक्षमा ल्याउनुपर्‍यो। अहिलेको आवश्यकता भनेको भोट हो। भोट ल्याउने काम गर्नुभयो भने पार्टीले चुनाव जित्छ। नत्र पार्टी हारिहाल्छ नि! भोट जित्यो भने भोलि राष्ट्रपति, प्रधानमन्त्री, पार्टीकै सभापति महिला बन्नुहुन्छ।’

सभापति देउवाले आफूलाई महिलावादीका रूपमा चित्रित गर्दै महिलाको हकअधिकारको रक्षाका लागि महिला आयोग गठन गरेको स्मरण पनि गरे। ‘म पूरापूरा महिलावादी नै हुँ नि! महिला आयोग मैले बनाएको हो। दलित आयोग मैले बनाएको हो, जनजाति प्रतिष्ठान मैलै नै बनाएको हो,’ उनले भने।

सभापति देउवाले कांग्रेसको जस्तो अन्य पार्टीले महिला, आदिवासी, जातजाति, थारु, मुस्लिमलाई आरक्षण नदिएको पनि दाबी गर्दै पार्टीले सबैलाई आरक्षण दिएको भनाइ राखे। उनले भने, ‘जनसंख्याको आधारमा आरक्षण दिएको छ। हाम्रो पार्टीमा जस्तो कुनै पनि पार्टीले आरक्षण दिएको छैन। तर, आरक्षणमात्रै भएर भएनन नि, जनताको भोट पनि आउनुपर्‍यो।’

छलफल कार्यक्रममा केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले कांग्रेसले एक तिहाइ महिलालाई गाउँपालिका र नगरपालिका प्रमुखमा प्रत्यक्षतर्फ अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, ‘समावेशिता र समानताका कुरा गर्दै गर्दा नेपाली कांग्रेसले अब एक तिहाइ महिलालाई गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयरमा लैजानुपर्ने आवश्यकता छ। त्यो पनि समानुपातिकबाट होइन, प्रत्यक्षमै लैजानुपर्छ।’

संविधानले गरेको व्यवस्थाकै कारण संघीय संसदमा ३३ प्रतिशत, प्रदेशसभामा महिलाको प्रतिनिधित्व ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व पुग्नुलाई महिला मूल प्रवाहमा आएका मान्न नसकिने धारणा राखिन्। ‘त्यो पुग्नुले समग्र महिलाहरू नीति निर्माण र विकासको मूल प्रवाहमा आउन सक्दैनन्। त्यो पुग्ने प्रक्रिया पनि के भयो भने समानुपातिक प्रक्रियाबाट पुग्यौं। जनताबाट चुनिएर जान सकेनौं,’ उनले भनिन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट