यतीले घोषणा गर्‍यो सस्तो मूल्यका आकर्षक प्याकेज, रु ५,९९९ मा दुई रात तीन दिन पोखरा ट्रिप-Sutra News

यतीले घोषणा गर्‍यो सस्तो मूल्यका आकर्षक प्याकेज, रु ५,९९९ मा दुई रात तीन दिन पोखरा ट्रिप

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ।



कम्पनीले स्थापनाको २२औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाईसमेत मध्यनजर गर्दै आन्तरिक पर्यटनका प्याकेज बनाएको हो। कोभिड-१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको छ। कोभिडले छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाई आर्थिक गतिविधि बढाउन प्याकेज ल्याइएको कम्पनीले उल्लेख गरेको छ।

यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताए। उनले लामो प्रतिवन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने विश्वास व्यक्त गरे।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै पर्यटन उद्योगलाई पुनःस्थापित गर्न ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ्गलगायत कम्पनीसँगको सहकार्यमा प्याकेज बनाइएको जनाएको छ।  एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘अब एयरलाइन्सले यात्रुलाई गन्तव्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिन भ्रमण प्याकेज बनाइएको हो।

आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधि सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुनेगरी प्याकेज बिक्री थालिएको छ। अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ। कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ। यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ।

यती एयरलाइन्सको आन्तरिक पर्यटन प्याकेज अभियान घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यतीको पर्यटकीय प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई समेत जोड्न कम्पनीलाई आग्रह गरे।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटकीय प्याकेजले छ महिनादेखि ठप्प रहेको पर्यटन व्यवसायलाई केही हदसम्म राहत मिल्नुका साथै पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले प्याकेजले मुलुकभित्र घुमफिरको वातावरण बनाउन सहयोग पुग्नुका साथै पर्यटन क्षेत्रका संस्थाको साझेदारितामा अन्य कार्यक्रम अघि बढाइने बताए।

यस्ता छन् यतीका पर्यटकीय प्याकेज

एभरेष्ट ट्रेलः रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक), राराः रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखराः रु पाँच हजार ९९९ र सात हजार प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवनः रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शनः रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक), मुक्तिनाथ दर्शनः रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुकः रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेलः रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ।

टिकट एप्सबाट

यती एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोबाइल फोनबाट काट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। सोही प्रयोजनका लागि कम्पनीले मोबाइल एप सार्वजनिक गरेको छ। अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लब माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट