अवस्था सामान्य हुन्थ्यो भने रंगकर्मी संगीता थापा यतिबेला रंगमञ्चका ‘रंग’ हरूमा घुलिरहेकी हुने थिइन्।
इरानी थिएटरमा नाटक ‘म्याकवेथ’ मा अभिनेता नाजिर हुसेनसँगै अभिनय गरिसकेकी हुने थिइन्। कौसी थिएटरमा रिहर्सलको तयारीमा रहेको नाटक ‘एनिमल फार्म’ को कुनै पात्रमा आफूलाई बदलिसकेकी हुने थिइन्। सिनेमामा अभिनेता दयाहाङ राईसँग स्क्रिन सेयर गरिसकेकी हुने थिइन्।
तर, अवस्था कहाँ सामान्य भइदियो।
कोरोना महामारीले निम्त्याएको परिस्थिति उनी अनुकूल बनेन। अरुको जस्तै उनको योजना र सपनामा पनि त्यसले अंकुश लगाइदियो। चाहनालाई एकातिर थन्क्याएर नयाँ विकल्पबारे सोच्नुपर्ने भयो। ‘गाउँमा बसेर आफ्नो सपना पूरा गर्न सकिन्न थियो,’ संगीता सुनाउँछिन्, ‘त्यसका लागि काठमाडौंमै संघर्ष गर्नुपर्थ्यो। अनि नयाँ विकल्प सोचें।’
यही क्रममा सुल्झेको नयाँ उपाय थियो, अनलाइन व्यापार।
साथीहरूसँगको सहकार्यमा अघिल्लो महिनाबाट उनले अनलाइन बिजनेस (सेल्स) सुरु गरिन्। सहकार्यमा दुई साथी छन्- रंगकर्मी प्रमोद खड्का र गजलकार नारायण काइँलो। उनको टिमले सबै किसिमका सामान डेलिभरी गरिरहेको छ।
हुन त, संगीतालाई कहिल्यै लागेको थिएन, जीवनमा व्यापार पनि गर्छु भनेर। उनको मन संगीत, अभिनय, नृत्य र साहित्यमा गहिरो गरी बसिसकेको थियो।
‘काम व्यापारको भए पनि आँखा अभिनय र संगीतमै डुलिरहँदो रै’छ,’ संगीता थप्छिन्। आफूले कल्पनासमेत नगरेको क्षेत्रमा अचानक लागिपर्दा उनलाई अनौठो लागिरेहको पनि छ। यो बेला उनी कवि तुलसी दिवसको ‘बाटो’ शीर्षकको कविता सम्झिन्छिन्-
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ
हुन त, यो बाटो विश्वव्यापीरुपमा फैलिरहेको महामारीले मोडिदिएको थियो। मोडिएको बाटोमा मोड्नुको विकल्प थिएन। तैपनि उनलाई ‘मिस’ भइरहन्छ, इरानी प्रोजेक्ट म्याकवेथको। सायद त्यो प्रोजेक्ट उनको करिअरको एउटा ‘टर्निङ पोइन्ट’ नै हुनसक्थ्यो।
उनी सम्झिन्छिन्, ‘नाटक ‘गुम्फन’ गरेपछि दसैंमा व्यस्त थिएँ। दसैंताका मलाई दिलीप सर र राजन खतिवडा सरको फोन आयो। उहाँहरुले प्रोजेक्टबारे सुनाउनुभएको थियो।’
त्यो प्रोजेक्टमा खोजिएको पात्र एकदम भिन्न थियो। जसको लागि उपयुक्त उम्मेदवार थिइन् संगीता। ‘इरानको नाटकको लागि अभिनयसँगै मीठो गाउने र नृत्य गर्नसक्ने कलाकारको आवश्यक परेको छ, ’ संगीतालाई नाट्य निर्देशक दिलीप रानाभाटले सुनाएका थिए।
उनले नाटकको लागि नेपाल आएका इरानी समूहसँग भेट गरिन्। अडिसन दिइन्। क्लासिकल, लोक, चरियालगायत धेरै किसिमका नृत्यका पारखी थिइन् उनी। इरानी टिमले चाहेको पनि त्यही थियो। त्यसपछि उनलाई गीत गाउने प्रस्ताव गरियो। उनले गीत गाएर सुनाइन्। गीत अत्यन्तै रुचाइयो। र, उत्साहसाथ अडिसनमा छानिइन् उनी। नेपाली संस्कृतिलाई समेत जोडेर इरानमा गरिने नाटक थियो त्यो।
तर, अचानक सिर्जना भएको परिस्थितिले त्यो प्रोजेक्ट र संगीताको रहर दुबैलाई अलिक परै धकेलिदियो।
जोखनाले गराएको ‘युर्टन’
डेढ वर्षअघि जापानी भाषा सिकिरहेकी थिइन् उनी। जापान जाने र जागिर खाने सोचाइ थियो उनको। ‘यहाँ बसेर केही हुन्न भन्ने लागेको थियो, केही वर्ष पैसा कमाउने सोच पलाएको थियो त्यतिबेला’ संगीता सम्झिन्छिन्।
भाषा कक्षाको तयारी गर्नुअघि उनले एउटा नाटकमा काम गरेकी थिइन्। त्यो थियो, लिलामे माइलो। काठमाडौंमा आएको सुरुवाती दिनमा गुरुकुलमा चल्ने नाटकले आकर्षित गर्थे। त्यसैले, गरुँ भन्ने त लाग्थ्यो। तर, अभियन सक्छु भन्ने आत्मविश्वास नहुनाले पछि हटेकी थिइन्।
पछि एक दुई वटा ‘कल्चर मुभी’मा काम गरेपछि गुमेको ‘कन्फिडेन्ट’ फिर्ता आएको थियो। त्यतिबेला उनले आफूलाई थिएटरमा काम गर्ने रहर कलाकार राज थापालाई सुनाएकी थिइन्। पछि उनैमार्फत् संगीताले ‘लिलामे माइलो’को लागि नाटक गर्ने अवसर त पाइन्। तर, वैकल्पिक कलाकारको रुपमा। उनले निर्वाह गर्ने भूमिका पाउन पनि सक्थिन्, नपाउन पनि।
क्यारेक्टर दुई मिनेट जतिको थियो। संगीता सम्झिन्छिन्, ‘पछि उलटपुलट भयो। जो मान्छे हुनुहुन्थ्यो उहाँले एउटा सो पनि गर्न पाउनुभएन। सबै सो मैले नै गरें।’
जो मान्छेको सट्टामा उनले नाटक रिहर्सल गरेकी थिइन्, पछि पूरै दिनको सो उनले नै पाइन्। त्यही बेलामा उनले नाटकबारे विविध कुरा जान्ने मौका पाइन्।
‘लिलामे माइलो’ सकेपछि उनलाई लाग्यो- मैले नाटक त गरिहालें। रहर पूरा भइहाल्यो। अब जापान जान्छु, पछि फर्किएर अवसर पाए फेरि गरम्ला।
अचानक उनलाई नयाँ नाटक ‘जोखना’ को लागि प्रस्ताव आयो। उनलाई रंगकर्मी अनिल सुब्बाले प्रस्ताव गरेका थिए। सोचेकी थिइन्, त्यस नाटकमा पनि भूमिका सानै होला। तर, निर्देशक किरण चाम्लिङ राईसँग कुरा भएपछि संगीतालाई थाहा भयो, नाटकको केन्द्रीय पात्रमा उनैलाई पो प्रस्ताव गरिएको रहेछ।
सुरुमा त लाग्यो, ‘सक्दिनँ होला।’ तर, साहस बटुलिन्।
आफूलाई अभ्यस्त बनाउन खुब मेहेनत गरिन्। ‘जोखना’ मा उनले निभाएको सशक्त भूमिकाको निकै तारिफ भयो। उनले केन्द्रीय पात्र ‘धनसुवा’ को भूमिका निभाएकी थिइन्। ‘यो नाटकले मलाई रंगमञ्चमा चिनायो, नाटकमा साधना गर्न थप प्रेरित गर्यो,’ संगीता सम्झिन्छिन्।
‘जोखना’ गरेपछि उनलाई धेरैले भनेका थिए, ‘तिमी एक्टिङकै लागि जन्मिएकी हौ। यसैमा तिम्रो भविष्य छ।’ त्यतिबेला उनको मनले पनि त्यही भन्यो। संगीताले मनको कुरा सुनिन्।
जापानमा गएर ५ वर्ष बस्ने सपना ‘जोखना’ गरिसकेपछि त्यागिन्। र गरिरहेको जागिर पनि छाडिन् । ‘ नाटक गर्नुअघि भोजन गृह डिल्लिबजार भन्ने होटेलमा बेलुका ७ देखि ९ बजे सम्म गीत गाउथें । थिएटरमै पूरा समय दिन्छु भनेर सोच आएपछि जागिर पनि छाडे,’ उनी सम्झिन्छिन्।
नाटकलाई अझै तिखार्नु थियो। उनी ‘थिएटर भिलेज’ गएर नाटक सिक्न थालिन्। त्यही ब्याचले गरेको नयाँ नाटक थियो- गुम्फन।
रंगकर्मी दिलीप रानाभाटले निर्देशन गरेको नाटक ‘गुम्फन’मा पनि उनी केन्द्रीय पात्रमै थिइन्। त्यस नाटकले पनि उनको आत्मविश्वास थप बढाएको थियो।
संगीत टुटेपछि गजल
संगीतालाई लाग्छ, संयोगले जीवनका बाटा बदलेका छन्। कुनै समय मेहफिलबाट गजलमा चम्किएकी उनलाई कहिल्यै लाग्दैन थियो, म गजलकार बन्नेछु। आज उनलाई रंगकर्मीमात्र होइन, गजलकारको रुपमा चिन्ने जमात पनि ठूलै छ।
सपना एउटा थियो, टुट्यो। सपना टुटेपनि मन त जोड्नु नै थियो।
मन जोड्ने क्रममा उनको ध्यान गजलले खिचेको थियो। ‘म त गायिका बन्न आएकी थिएँ काठमाडौं, तर भोकलमा समस्या आयो। ६ वर्ष रेस्ट गर्नुपर्यो,’ उनी भन्छिन्, ‘त्यही पीडामा गजल लेख्न थालें।’
सानो हुँदा उनको गायनका प्रशंसकहरू गाउँमा थुप्रै थिए। त्यतिबेलाको सपना पनि गायिका नै बन्ने थियो। एसएलसीपछि पढ्न काठमाडौं आइन्। संगीत कक्षामा भर्ना भइन्। र, साधना गर्न थालिन्। जब क्लासिकल संगीतबारे बुझिन्, ‘क्लासिकल गायिका नै बन्छु’ भनेर लागिन्। त्यसको निम्ति संघर्ष गरिन्।
दुर्भाग्य, ०६६ सालतिर भोकलले साथ दिन छाड्यो। चेकअप गराइन्। डाक्टरले भने, ‘६ वर्ष गीत जति गाउनु हुँदैन। रेस्ट गर्नुको विकल्प छैन।’
परिस्थिति विस्तारै सहज होस् भन्ने चाहना छ संगीताको। र त, थिएटरमा जम्ने उत्कण्ठा पनि मरेको छैन। सायद उनको एउटै कामना छ, अब बाटो नमोडियोस्, सपना नमोडियोस्।
उनले आफ्नो जीवनमा ठूलै बज्रपात परेको ठानिन्। ‘जुन रहरले मलाई काठमाडौंसम्म डोर्यायो, त्यही सपना पूरा नहुँदा म कति रोएँ कति। आफ्नो घाँटी बसिसकेपछि अरुको गीत सुन्दा पनि रुन्थें’ संगीता भावुक बन्छिन्।
एकदिनको घटना उनी कहिल्यै भुल्न सक्दिनन्। गीतमा रियाज गर्दै थिइन्। रियाज गरेको एक घण्टापछि बाबाको फोन आयो। उताबाट बाबा बोलिरहे। उनको भने आवाज फुट्न सकेन। केवल आँखामात्र टम्म भरिइरहे।
त्यही पीडा कम गराउन उनी गजल कार्यक्रमतिर हिँड्न थालिन्। गजल सुन्ने क्रममा अनाम मण्डली र मधुवनसँग जोडिइन्। कार्यक्रममा जान्थिन्। गजल सुन्थिन्। फर्कन्थिन्। ७ महिना यसरी नै बित्यो।
अनाम मण्डलीमा शास्त्रीय बहर र मधुवनमा लेखिरहेको ट्रेन्डलाई समात्न सिकिन्। यद्यपि, लेख्न भने थालेकी थिइनन्। त्यसयता गजल भन्न दबाब आइरहन्थे। उनी लेख्दिन थिइन्। दबाब यसरी बढ्दै गयो, नलेखी धरै पाइनन्। लेख्न सुरु गरिन्।
एउटा कार्यक्रममा गजलवाचनका लागि अन्तिमतिर उनको पालो आयो। त्यो समयमा उनले गजल वाचन गरिन्ः
केही रहस्य देखियो पातालभित्र
कोही बसेको रै’छ बाघचालभित्र
के सोची चराले गुँड बनायो होला
त्यो बन्दुक त्यो तोपको नालभित्र
म किनारमा उभिरहेकी हुनेछु
सक्छौ तुफान पठाउनु छाल भित्र
अलिकति अतित सम्हालेकी छु
परदेशीले दिएको रुमालभित्र
मेरा यी गजलका सुगन्ध पनि त
कहिले सम्म रहला यो पर्खालभित्र
गजल पढेपछि कार्यक्रमको माहोल अर्कै भयो। सबैको नजर उनीतिर आकर्षित भयो। प्रतिक्रिया सुनिन्, ‘केटी मान्छेले पनि यस्तो ‘स्ट्रङ’ गजल लेख्दो रैछ!’
वाचन पछाडि धेरैको फोन आयो, प्रशंसा आयो। ‘म्यासेज’ हरु आउन थाले। त्यसयता उनलाई सुन्नेहरूको जमात बढ्न थाल्यो। यही क्रममा ०७३ सालमा मेहफिलमा जमिन्, त्यसले उनको चर्चा गजल लेख्नेको जमातमा झनै चुलियो।
अहिले संगीतालाई लाग्छ- मसँग सब कुरा छ। र, पनि केही छैन। कला भएर पनि ‘अर्थ’ भएन भने जीवनका धेरै अर्थहरु अस्तित्वविहीन हुँदा रहेछन्।
६ वर्षको आरामपश्चात् संगीतलाई मजबुत बनाउन उनको प्रयास जारी छ। गजल(साहित्य)को फाँटमा पनि उनको हस्तक्षेप छ। नृत्यमा उतिकै लगाव छ। यी सबै कला एकट्ठा भएर नै उनको रंगमञ्च यात्रा सुदृढ भएको थियो। र त, थिएटरमा पूर्णकालीन हुने सोच बनाएकी थिइन्।
आखिर यही सपना पनि भत्किने हो कि भन्ने डर उनका आँखामा छचल्किएका छन्। सोच्न त सोच्छिन्, ‘सबैथोक छाडेर थिएटर गरौं।’ यथार्थमा त्यो सम्भावना धमिलो देख्छिन्।
म हुने खानेको छोरी होइन। आफूले आफैँलाई पाल्नका लागि पनि व्यवसाय नगरी हुन्न’ गम्भीर भावमा उनी भन्छिन्, ‘लकडाउनले व्यापारको सोच ल्यायो। अब यसैलाई बलियो बनाएर कला क्षेत्रमा फर्किन्छु।’
परिस्थिति विस्तारै सहज होस् भन्ने चाहना छ संगीताको। र त, थिएटरमा जम्ने उत्कण्ठा पनि मरेको छैन। सायद उनको एउटै कामना छ, अब बाटो नमोडियोस्, सपना नमोडियोस्।