काठमाडौं- गायिका ज्योती मगरमाथि सधैं लागिरहने एउटा आरोप छ- बजारमा बिक्न र चर्चामा आउनका लागि उनी जे पनि गर्न तयार हुन्छिन्। यदि त्यसो हो भने उनले गर्न हुने र नहुनेबीच किन कहिल्यै जीवनरेखा कोरिनन्? यो बजार र बजार चलाउने सिस्टमले उनलाई कतिसम्म शोषण गरेको छ? यी र यस्तै विषयमा केन्द्रित रहेर उनीसँग सूत्रन्युजका लागि अनिल यादवले गरेको कुराकानीः
गत असार २५ गते एकाबिहानै तपाईँले बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणलाई जोड्दै एउटा लामो स्टाटस लेख्नुभएको थियो। धेरै समस्याहरु मनभित्रै दबिएर बसेको आशयसहित त्यहाँ तपाईँले भन्नुभएको थियो- ‘५-७ वर्ष भयो होला म राम्रोसँग सुतेको छैन।’ यसो भन्नु पछाडिका कारणहरु के-के थिए?
जीवनमा सबैका आ-आफ्नै समस्या हुन्छन्। सबैलाई सबैका पीडा ठूलो लाग्छ। तर, हाम्रो समाज र सोसल मिडियाचाहिँ अरुको पीडामाथि नाच्ने र रैला गर्ने माध्यममात्रै भइरहेजस्तो लाग्छ। पीडितले न्याय पाउन सकिरहेका छैनन्। पीडितहरु आफूमाथि भएका शोषण त्यहीकारण बाहिर ल्याउन डराउँछन्। ल्याएपछि निम्तिने नतिजाका कारण डराउँछन्। त्यहीकारण कतिपय कुराहरु मनभित्रै गुम्सिएर बस्छन्। र, त्यसरी कुराहरु गुम्सिएपछि निन्द्रा लाग्ने कुरै भएन। मलाई ५-७ वर्षदेखि राम्रोसँग निन्द्रा नलाग्नुको कारण सोध्नुहुन्छ भने धेरै छन्। ज्योती मगरजस्तो समाजसँग लडिरहेको मान्छेलाई त यति धेरै डिप्रेसन हुन्छ भने अरु सामान्य महिलालाई कति होला? जो महिला त लड्नै सक्दैन, जसको आवाज उठाउनुभन्दा अगाडि नै दबाइन्छ, उसलाई कति गाह्रो होला। मलाई पीडा हुने धेरै चिजमध्ये एउटा कारण मिडियामा उछालिने नाम पनि हो।
किन नि?
कहिल्यै राम्रो कुराको प्रशंसा नगर्दिने, म्युजिकमा उठ्न खोजिरहेका बेला सबैले नराम्रै भन्दिने, दबाउन खोज्ने। अर्को कारण, पारिवारिक पनि हो। मेरो बुबा अत्यधिक जाँडरक्सी पिउने। यही कारण बच्चैदेखि बुबाको मायाबाट एकदमै टाढा भइयो। मैले त बालापन नै भोग्न पाइनँ क्या! बच्चैदेखि आमालाई सघाउने। जिम्मेवार हुनुपर्छ भन्ने लाग्ने। छोरी भएर पनि छोराजसरी बाँचियो। पछि आएर साथीभाइहरुले गर्ने व्यवहार। उनीहरुले राम्रो कुराको ‘अप्रिसिएट’ नगर्दिने तर नराम्रो कुरालाई धेरै उछाल्दिने। जस्तै ‘ज्योती मगर भल्गर, ज्योती मगर यो, ज्योती मगर त्यो, ज्योती मगर के गीत गाउँछ र, सबै तिघ्रा देखाएर त हो निजस्ता टिप्पणीले मान्छेलाई निरुत्साहित गर्ने रहेछ।
तपाईँलाई यी र यस्तै कारणले गर्दा ‘यो जीवन, यो संसार मेरो लागि होइन रहे’जस्ता भावना मनमा आयो?
अलिअलि आउँथ्यो। एकपटक हात हेराउने बेलामा ज्योतिषले ‘तेरो रेखामा त पूरै गिभअप लेखिरहेको छ त’ भन्नुभयो। त्यसपछि उहाँलाई चुनौति दिनका लागि पनि त्यो सोचबाट टाढा हुन्छु। किनभने मलाई ज्योतिषको कुराहरु त्यति सत्य लाग्दैन। यद्यपि तपाईँले भनेकोजस्तो सोच पहिले-पहिले खुब आउँथ्यो।
कस्तो बेलामा आउँथ्यो?
त्यही त हो नि, मान्छेहरुले मरेपछि प्रशंसा गर्छन्। तर, जिउँदो भइन्जेल कहिल्यै राम्रो भन्दैनन्।
तपाईँमाथि कवि विनोदविक्रम केसीले एउटा कविता लेख्नुभएको छ, ‘ज्योती मगरको तिघ्रा’ शीर्षकमा। पढ्नुभएको छ?
अँ, पढेको छु।
कविता पढ्दा कस्तो महसुस हुन्छ?
जतिबेला मलाई एकदमै धेरै गालीको वर्षा भइरहेको थियो, त्यतिबेला मैले यो कविता पढेको थिएँ। त्यसैले त्यो समय यो कविताले केही हदसम्म मेरा लागि मल्हमको काम गरेको थियो। म सधैं के चाहन्छु भने यो समाजमा एउटा केटी मान्छेलाई हेर्ने दृष्टिकोणमा परिवर्तन होस्। उसले कस्तो पहिरन लगाउने, ऊ कुन तरिकाले हिँड्ने, कुन तरिकाले खाने त्यसको निर्णय ऊ आफैँले गर्न सकोस् भन्ने लाग्यो। यति भन्दै गर्दा सत्य के पनि हो भने विनोदजीको कविताले भनेझैँ मलाई कतिपयले गिद्देनजरले हेर्नुभयो, कतिपयले आँखाले हेरेर भरपुर रसपान लिनुभयो होला, कतिपयले गाली गर्नुभयो। यहाँ यस्तै हो।
यो बजार र बजार चलाउने सिस्टमले आफ्नो शोषण गरेको छ भन्ने लाग्छ? त्यस्तो बोध गर्नुभएको छ?
छ, एकदमै धेरै। ममाथि मात्रै होइन, नेपालमा प्रायः महिलामाथि यो सिस्टमले शोषण गरेको छ। छोरी मान्छे भएर लजाउनुपर्छ, उत्ताउलो हुनुहुँदैन, छोराको सात वटा श्रीमती हुँदा हुन्छ, तर छोरीको चाहिँ बिहेपछि मात्रै भर्जिनिटी तोडिनुपर्छ भन्ने यो सिस्टमले निर्माण गरिदिएको जुन मान्यता छ, यसले कुनै न कुनै हिसाबले सबैलाई शोषण गरिरहेको छ। खासमा त मलाई यो छोरी भनेर दिइने ट्याग पछाडि नै ठूलो शोषण भइरहेजस्तो लाग्छ। किनभने यी पीडाहरु भोग्दा-भोग्दा मलाई नै अब त छोरी जन्मिदै नजन्मियोस् भन्ने भावना मनमा आउन थालिसक्यो।
ज्योति मगरलाई एउटा तप्काले छाडा गीतको प्रतिनिधि मान्छ। तपाईँचाहिँ आफूलाई कस्तो गीतको प्रतिनिधि मान्नुहुन्छ?
म विशुद्ध मनोरञ्जनात्मक गीतहरु हेर्न र सुन्न रुचाउँछु। हो, मैले समाज परिवर्तन गर्ने खालका सकरात्मक गीतहरु गाउन सकिनँ होला अथवा त्यस्ता गीतहरु गाउन दिइएन होला। तर, मैले गाउने गीतहरु मूल उद्देश्य छाडाभन्दा पनि दर्शकलाई मनोरञ्जन दिलाउने भन्ने नै हुन्छ।
बजारमा बिक्न र चर्चामा आउनका लागि जेजति गर्न सकिन्छ, त्यो सबै गर्ने कलाकार तपाईँ हुँदै हो। युट्युबका अनगिन्ती भिडियो त्यसको प्रमाण हुन्। तपाईँले गर्न हुने र नहुनेबीच किन कुनै लक्ष्मण रेखा कोर्नुभएन?
खासमा एउटा कलाकार भइसकेपछि उसले सबैखाले काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। कतिपयले म यो गर्छु, यो गर्दिनँ भनेर लक्ष्मण रेखा पनि कोर्नुहुन्छ, आफ्नै नियमहरु पनि बनाउनुहुन्छ। तर, मचाहिँ बच्चैदेखि सबै चिजहरु गर्ने भएर होला मलाई त्यस्तो लाग्दैन। बच्चैदेखि कहिले मैले गीत गाए, कहिले नाचे, कहिले रेडियो नाटक गरेँ। धेरैथोक गरेँ। मैले कहिल्यै आफूलाई म मोडल, म गायिका या म के भनेर आफ्नो परिचयको सीमा तोकिनँ। मलाई जे आउँछ, जे गर्न मन लाग्छ, त्यो नै गरेँ।
बजारले आलोचना गरिरहँदा कहिलेकाहीँ मैले हद गरे कि भन्ने महसुस तपाईँलाई हुन्न?
त्यस्तो त भएन। किनभने बजारमा भएका केही कुर्सीमा बस्ने र केही जाने बुझेकाले कला र कलाकारको मापदण्ड तोक्नुहुन्छ, उहाँहरुको लागिचाहिँ म यो कलाकारिता क्षेत्रमा आएको होइन। म सामान्य रोल्पाको एउटा गाउँमा जन्मिएको छोरी हुँ, त्यसैले दर्शक-श्रोतालाई के मनपर्छ राम्रोसँग बुझ्दछु। जसले यहाँ लेभल छुट्याएर पदवी दिन्छन् नि उनीहरुलाई भुइँमान्छेका रुची नै थाहा छैन यहाँ। उनीहरु खाली यसले अश्लिलता फैलायो, यो ‘सी ग्रेड’को गीत आदि घोषण गर्दिन्छन्।
तपाईँका कतिपय गीतहरु भद्दा र द्विअर्थी पनि छन्। तपाईँलाई आफ्नो गायकीमा भन्दा अन्य ट्रिक र तिकडममा बढी विश्वास छ, हो?
त्यस्तो होइन। कतिपय मेरा गीतहरु द्विअर्थी पनि छैनन्, सामान्य छन्। तर, कहिलेकाहीँ मेरो नेचरअनुसार मेरो मजाक गर्ने बानीहरु हुन्छ। स्टेजमा कतिपय समय मैले रमाइलोका लागि बोलिरहेको हुन्छ। तर, त्यही चिज हेरेर होला कहिलेकाहीँ संगीतकर्मीहरु त्यही खाले गीतहरु लिएर मकहाँ आइपुग्नुहुन्छ। अनि, मैले काम गर्नैपर्ने अवस्था भइदिन्छ।
त्यसोभए तपाईँलाई गीतमा नचाउन खोज्ने, गवाउन खोज्नेहरु सबैको नियत सफा हुँदैन भन्ने कुरामा तपाईँ प्रष्ट हुनुहुन्छ?
सफा छैनन् पनि म भन्दिनँ। म राम्रो पारिश्रमिक लिएर गाइरहेको हुन्छ, भिडिया खेलिरहेको हुन्छु। त्यसबाहेक मेरो केही लेनदेन हुन्न। तर, मलाई के लाग्छ भने कहीँ न कहीँ यो चिजसँग हामी सबै जिम्मेवार छौं। मलाई द्विअर्थी गीत गर्ने मन हुँदैन, तैपनि गर्नुपर्छ।
किन?
किनभने बाँच्नका लागि। मेरो चुल्हो बाल्नका लागि। मेरो घरमा ग्यास जलाउनका लागि मलाई गीत गाउनबाहेक अरु काम आउँदैन। त्यसैले म त्यही गर्छु, त्यसको पैसा लिन्छु र त्यसबाहेक धेरै कुरा सोच्दिनँ पनि, सोच्नु पनि छैन मलाई। कसैले मलाई द्विअर्थी गीत दियो र मैले भोलि त्यो गीत गाउँदिन भनेँ भने भोलि मलाई त्यस्तै गीतमा पनि अफर आइदिएन भने म कहाँ जाने? बाटोमा साग बेच्न जाउँ म? नढाटी भन्नुपर्दा मेरो ब्याक टु ब्याट राम्रा र हिट गीतहरु छन्। तर, ती गीतहरुले मलाई वर्षभरि खान पुग्दैन नि। त्यसका लागि मैले काम गरिरहनुपर्छ। र, ज-जसले मलाई सुझाव दिनुहुन्छ उहाँहरु त मलाई समस्या पर्दा मेरो घरमा दाल चामल बोकेर त आउनुहुन्न। अर्को कुरा, बजारमा त्यस्तै द्विअर्थी चिजहरु यति धेरै हेरिन्छन् नि घुमाइफिराइ मलाई त्यस्तै अफर आइदिरहन्छन्। त्यसैले मैले भन्न खोजेको यसमा हामी सबै जिम्मेवार छौं, जो त्यही चिज हेरिरहेका छौं र त्यसको भ्युअर्स बढाइरहेका छौं।
यसको मतलब बजारसँग सम्झौता गर्नु तपाईँको बाध्यता हो?
यो मेरोमात्रै होइन, धेरै कलाकारको बाध्यता हो। कलाकारको मात्रै होइन, पत्रकारको पनि (हाँस्दै)।
पूरा अन्तर्वार्ता हेर्न भिडियो हेर्नुहोस्: