म्याग्दी- तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्ताबेज हो, २०७६ मा प्रकासित ‘महारानी’ उपन्यास। उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ।
तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो। त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ।
पर्वत राज्यको इतिहास, यहाँका अनेकन किम्वदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिरलगायतका विषयवस्तुहरु यस उपन्यासमा उठान गरिएको छ।
यही कृतिलाई ‘मदन पुरस्कार गुठी’ को आइतबार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको थियो।
नेपालको एक प्रतिष्ठित पुरस्कार मानिएको मदन पुरस्कार पाउने बानियाँ साविकको धौलागिरि अञ्चलकै पहिलो व्यक्ति हुन्। साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साविक पुलाचौर ९, हाल बेनी नगरपालिका वार्ड नं ५ भिरमुनीमा २५ चैत्र २००७ मा भएको हो।
उनी हस्तदल बानियाँ र नन्दकुमारी बानियाँका कान्छा छोरा हुन्। उनले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसी र काठमाडौंको ठमेलस्थित सरस्वती क्याम्पसबाट स्नातक गरेका छन्।
विसं २०२४ मा बालबोधिनी प्रावि भिरमुनिबाट शिक्षण कार्य शुरु गरी पौलस्त्य निमावि भिरमुनि, मुक्तिधाम मावि राखु भगवती र मङ्गला मावि बाबियाचौरमा पढाएका थिए।
अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उनलाई बर्खास्त गरिएको थियो।
उनलाई जागिरबाट बर्खास्त मात्र गरिएन, सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिए।
त्यस समय प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाको पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी शिक्षकमा पुनर्बहाली गरिदिने प्रलोभन समेत देखाएको थियो। तर, बानियाँले स्वीकार गरेनन् । फलस्वरुप उनले लगातार १० वर्ष तारेख धाउनु पर्यो ।
त्यसपछि उनले निजामती सेवातर्फ प्रवेश गर्ने सोचाई बनाए। त्यसैले, विसं २०३४ र २०३५ मा दुई पटकसम्म लोकसेवा आयोगको लिखित परीक्षा उतीर्ण पनि गरे।
लोकसेवाको योग्यताक्रममा दुई र पाँच नम्बरमा नाम निकाल्न सफल भएका थिए। तर, पञ्चायत व्यवस्था विरोधी रहेको भन्दै अन्तर्वार्तामा अनुत्तीर्ण गराइयो।
उहाँले २०४० सालतिर तत्कालीन नेकपा (माले) को सम्पर्कमा रहेर २०४४ सालदेखि सङ्गठित सदस्यको रुपमा काम गरे । उनी शुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र त्यसपछि ‘क्रान्तिकारी बुद्धिजीवी सङ्घ’को अध्यक्ष बने।
मार्क्सवादी सिद्धान्तका ज्ञाता बानियाँले बुर्जुवा शिक्षा बहिष्कारको नीतिको प्रभावले होला स्नातकोत्तर गर्न भने चाहेनन् । उनी विसं २०४६ को जनआन्दोलनमा सक्रिय रुपमा सहभागी बने।
विसं २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। र, विजयी पनि बने । संसदमा रहेका थोरै ‘कवि सांसद’ मध्ये उनीपनि एक थिए।
कमजोर स्वास्थ्य अवस्थाका साथै राजनीतिमा आफूलाई उपयुक्त पात्र नठानेको बताउने बानियाँ सङ्गठित राजनीतिबाट अलग भए। तर ५ भदौ २०५९ मा तत्कालीन नेकपा (माओवादी) मा लागेको आरोपमा प्रशासनले गिरफ्तार गरी पटक पटक नजरबन्दमा राख्यो।
सर्वोच्च अदालतको आदेशबाट जेलमुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिएको भन्दै उनी २०६१ सालदेखि सपरिवार काठमाडौँमा डेरा गरी बस्न थाले।
उनको परिवारमा धर्मपत्नी मित्रकुमारी, छोरा प्रविन र छोरी प्रमिला छन्। करिव १० वर्ष काठमाडौँमा बसेपछि पोखरामा कार्यरत छोरा डा. प्रविन बानियाँको अनुरोधमा विसं २०७१ देखि पोखरामा बस्न थाले।
साहित्यकार बानियाँको लेखनशैली पहिलेदेखि नै मिठो र स्तरीय हुने गरेको म्याग्दीका साहित्यकारहरु बताउँछन्। तथापि गहिरो अध्ययन अनुसन्धान र लेखनमा भने पोखराको बसाइपछि मात्र गर्न थालेको साहित्यकार कृष्णबहादुर बानियाँले जानकारी दिए ।
उनको ऐतिहासिक पर्वत राज्य, मृत्यु संस्कारः मन्थन नामक पुस्तक २०७५ सालमा प्रकाशित भएको थियो । यसलगत्तै विसं २०७६ मा महारानी ऐतिहासिक उपन्यास प्रकाशित भएको हो।
यी दुबै कृति ‘शिखा बुक्स काठमाडौँ’ ले प्रकाशन गरेको हो। सोही प्रकाशनबाट निकट भविष्यमा ‘भौँज्याहा’ नामक निबन्ध सङ्ग्रह प्रकाशित हुन लागेको बानियाँले जानकारी दिए।
‘‘महारानी’ उपन्यासका लागि विसं २०७६ को मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताउँछन्। उनलाई आफू साहित्यकार हुँ भन्ने पनि लाग्दैन।
‘म साहित्यकार पनि होइन’ ७० वर्षीय बानियाँले भने, ‘मैले यो उपन्यासले मदन पुरस्कार पाउँला भनेर कल्पनासम्म पनि मैले गरेको थिइनँ।’
म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आउनुभएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली छाएको छ।