काठमाडौं- पुराना राजनीतिज्ञ तथा कथाकार यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन्।
मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।
जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेहथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुन्।
राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ।
उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए। उनकै अगुवाइमा नेपालमै पहिलोपटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउ) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो।
कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ।
धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ।