बढी कार्बन उत्सर्जन गर्ने धनी, धेरै सास्ती पाउने गरिब-Sutra News

बढी कार्बन उत्सर्जन गर्ने धनी, धेरै सास्ती पाउने गरिब

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफोर्ड कमिटी फर फिमाइन रिलिफ (अक्सफाम)ले तयार पारेको एक प्रतिवेदनका अनुसार दुनियाँका एक प्रतिशत धनी मानिसले गर्ने कार्बन उत्सर्जन विश्वका आधा गरिब जनसंख्याले गर्नेभन्दा दुई गुणा हुन्छ। यो नजिता आएपछि अक्सफामले विश्वका धनी मानिसहरुमा कार्बन उत्सर्जनसम्बन्धी  बन्देज लगाउन माग गरेको छ।



विश्वमा जलवायु परिवर्तनको विषयमा मानिस अनुसारको सहभागितालाई निश्चित गर्ने र सोहीअनुसार न्यायोचित व्यवस्था स्थापित गर्न सार्वजनिक र व्यवस्थित ढाँचा बनाएर व्यवस्थापन तथा अर्थव्यवस्थामा पनि सुधार ल्याउनुपर्ने माग संस्थाले राखेको छ।

अक्सफामले आफ्नो अनुसन्धानका लागि सन् १९९० देखि २०१५ सम्म २५ वर्षको तथ्याङ्क अध्ययन गरेको थियो। यो त्यही समय हो, जुन अवधिमा विश्वमा कार्बन उत्सर्जन दुई गुणा वृद्धि भएको थियो। अनुसन्धान प्रतिवेदनमा बताइएअनुसार यो समयमा विश्वका १० प्रतिशत धनी मानिसहरु विश्वभर भइरहेको कार्बन उत्सर्जनको आधाभन्दा बढी (५२ प्रतिशत) मात्राका लागि जिम्मेवार देखिन्छन्। अनुसन्धाताले विश्वको १५ प्रतिशत उत्सर्जन दुनियाँका एक प्रतिशत धनी मानिसको गतिविधिसँग जोडिएको पाएका थिए।

यस अवधिमा विश्वको गरिब जनसंख्याको आधा हिस्साले केवल ७ प्रतिशत कार्बन उत्सर्जन गरेको थियो। तर, जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर गरिब मानिसहरुले नै भोग्नु परिरहेको छ। यसको कारण बताउँदै सामाजिक असमानताका विशेषज्ञ (जर्मनी) एलेन एमके भन्छिन्, ‘दुनियाँभरि अर्थव्यवस्था उपभोक्तावाद, आर्थिक विकास र मानिसहरुमा बाँडिएको पैसाको आधारमा चलिरहेको छ। यो व्यवस्थाका कारण विश्वका थोरै धनी मानिसले खपत गर्ने सुविधाको परिणाम दुनियाँका सबैभन्दा गरिब मानिसहरुले भोगिरहेका छन्।’

जर्मनी पनि जिम्मेवार

युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थाको रुपमा रहेको जर्मनीका धनी मानिसहरुलाई पनि अक्सफामको अध्ययनले कार्बन उत्सर्जनमा जिम्मेवार देखाएको छ। सबैभन्दा धनी १० प्रतिशत अर्थात् झण्डै ८३ लाख जर्मनहरु त्यहाँ भइरहेको एक चौथाई कार्बन उत्सर्जनका लागि जिम्मेवार देखिएका थिए। जर्मनीका गरिब नागरिकहरुको आधा जनसंख्या अर्थात् ४.१५ करोड मानिसले कूल २९ प्रतिसत मात्रै उत्सर्जन गरेको पाइएको थियो।

कार्बन उत्सर्जनको यो तथ्याङ्कमध्ये धनी र गरिबबीच यति धेरै अन्तर देखिनुको कारण सवारी साधनहरुको अत्यधिक ट्राफिक हो। मुख्यगरी हवाई यात्रासँग जोडिएको व्यवस्थामा परिवर्तन गरेर धेरै कार्बन उत्सर्जनसम्बन्धी समस्या परिवर्तन गर्न सकिन्छ। अक्सफामले आफ्नो प्रतिवेदनमा ठूल्ठूला एसयुवी गाडीलाई यसका लागि बढी जिम्मेवार देखाएको छ। अध्ययनका अनुसार सन् २०१० देखि २०१८ बीच विश्वमा भइरहेको कार्बन उत्सर्जनको प्रमुख कारण गाडीको प्रयोग हो भन्ने देखिएको थियो।

कसरी समाधान गर्ने ?

अक्सफामको अनुमान अनुसार पृथ्वीको तापमानमा भइरहेको वृद्धिलाई १.५ डिग्रीसम्म सीमित राख्ने वैश्विक लक्ष्य पूरा गर्न विश्वका १० प्रतिशत धनी मानिसले अहिले गरिरहेको कार्बन उत्सर्जनको मात्रालाई १० गुणा झार्नुपर्ने हुन्छ। यसका लागि अक्सफामले ‘एसयुबी’जस्ता गाडीको प्रयोग र हरेक यात्रामा हवाई माध्यमको प्रयोग गर्नेहरुमाथि धेरै कर लगाउनुपर्ने माग गरेको छ।

रिपोर्टका मुख्य लेखक तथा संस्थाका जलवायु नीति प्रमुख टिम गोरले थमसन रोयटर्स फाउन्डेसनसँगको कुराकानीमा अधिक मानिसहरुले आफ्नो स्तर उच्च देखाउन प्रयोग गर्ने सवारी साधनहरुमा व्यक्तिगत स्तरबाटै परिवर्तन ल्याउलान् भन्ने आशाले मात्र कार्बन उत्सर्जनसम्बन्धी समस्या समाधान नहुने बताएका छन्। उनले यसका लागि सरकारले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए।  

कोरोना भाइरसको महामारीको समयमा अहिले हवाइ यात्रामा निकै कमी आएको छ। बिजनेस क्लास, प्राइभेट जेट तथा वर्षमा अत्यधिक मात्रामा हवाई यात्रा गर्नेहरुको संख्यामा पनि कमी आएको छ। जलवायु परिवर्तनसँग जोडिएका विषयमा चासो राख्नेहरुका अनुसार, यो समय धनी मानिसहरुलाई बढी कर लगाउनु उचित हुनेछ।

विशेषज्ञहरुका अनुसार धनी मानिसहरुमा अतिरिक्त कर लगाउँदा हुने आम्दानीको लाभ विश्वका सबैभन्दा गरिब मानिसहरुले पाउनुपर्छ। उनीहरुको प्रस्ताव छ, ‘धनी व्यक्तिहरुबाट उठाइएको करले गरिब मानिसहरुको स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक यातायातलगायत आधारभूत जीवनका आवश्यकताहरु परिपूर्तिमा सहयोग गर्नुपर्छ।’

फ्रान्समा ‘एसयुबी’ गाडीहरुमा धेरै पहिलेदेखि नै बढी कर लगाइएको छ। न्युजिल्याण्ड र स्कटल्याण्डजस्ता देशमा सफलताको परिभाषाको बुझाइमा परिवर्तन भइरहेको छ। यी देशहरुमा सफलताको परिभाषामा ‘केवल आर्थिक विकासमा मात्रै नजर नभएर मानिसको खुसीको पनि मूल्याकंन हुनुपर्छ’ भन्ने बुझाइको विकास भइरहेको छ।

अक्सफामको अध्ययनबाट सार्वजनिक भएको तथ्याङ्कले पृथ्वी र पृथ्वीका प्राणीहरुको लागि जोखिम बढिरहेको देखाउँछ। कुनै निश्चित ‘धनी व्यक्ति’हरुको समूहले गरेका क्रियाकलापहरुको परिणाम विश्वका अर्को समूहका गरिब मानिसहरुले भोग्नुपर्ने स्थिति सिर्जना हुनु कदापि न्यायोचित्त होइन। यस अर्थमा पनि यी कुरामा ध्यान पुर्‍याएर आवश्यक कदम चालिनुपर्छ।

आर्थिक हिसाबले कमजोर वर्गका मानिसहरु धनी मानिसहरुले आफ्नो सुविधा र सम्पन्नताका लागि प्रयोग गरेका सरसामानबाट उत्पन्न भइरहेको कार्बन उत्सर्जनको समस्याबाट सबैभन्दा पहिला पिल्सिनेछन्। यो जोखिम कम गर्न वा रोक्न अहिलेबाटै कार्बन उत्सर्जनको परिमाण र यसको स्रोतलाई बुझेर आवश्यक कदम चाल्नुपर्छ। नत्र आर्थिक हिसाबले कमजोर स्थितिमा रहेका मानिसहरु जलवायु परिवर्तनको पहिलो सिकार हुनेछन्।

(‘डिडब्ल्यु’ बाट अमि प्रिन्सले गरेको अनुवाद)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट