नेकपा सचिवालय बैठक सकियो, संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई सुझाव-Sutra News

नेकपा सचिवालय बैठक सकियो, संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई सुझाव

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। बालुवाटारमा बसेको बैठकमा संवैधानिक निकायमा रिक्त रहेको पदपूर्ति गर्ने सम्बन्धमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



उनका अनुसार संविधानले व्यवस्था गरेअनुसार संवैधानिक निकायमा रिक्त रहेको पदपूर्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सम्बन्धमा प्रधानमान्त्री केपी शर्मा ओलीसँग छलफल भएको हो।

‘हालसम्म संविधानले व्यवस्था गरेको संवैधानिक निकायहरु पूर्ण भएका छैनन्। रिक्त रहेको पदपूर्तिका सम्बन्धमा आजको सचिवालय बैठकमा छलफल भयो,’ सञ्चारकर्मीसँग श्रेष्ठले भने, ‘त्यसका लागि प्रधानमन्त्रीज्युले छिट्टै संवैधानिक परिषद्को बैठक बोलाउनुहुनेछ।’

उनले संविधानले व्यवस्था गरेअनुसार नै रिक्त रहेका पदहरुमा नियुक्ति गरिने जानकारी दिए।

त्यस्तै पार्टीभित्र बाँकी रहेको सांगठनिक कामहरु दस दिनभित्र पूरा गर्नेगरी अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘पार्टीभित्र पनि सांगठनिक कामहरु पूरा हुन बाँकी छन्। त्यसबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई आवश्यक खाका ल्याउन जिम्मेवारी दिइएको छ,’ उनले भने।

प्रवक्ता श्रेष्ठका अनुसार हालसालै राष्ट्रिय सभामा नियुक्त भएका वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटबारे सरकारलाई कुनै किसिमको जानकारी नआएको बताए। त्यस्तै कुलमानको विषयमा पनि बैठकमा कुनै छलफल नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट