केन्द्रीय कारागारका कैदी रामलखनको मृत्यु, हत्या भएको परिवारको आरोप [भिडियो]-Sutra News

केन्द्रीय कारागारका कैदी रामलखनको मृत्यु, हत्या भएको परिवारको आरोप [भिडियो]

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- विगत ८ वर्षदेखि जेलमा रहेका ६३ वर्षीय रामलखन जैसवाल सुन्धारास्थित केन्द्रीय कारागारबाट २२ असोज (२०७७) मा रिहा हुँदै थिए। परिवारका अनुसार जेलबाट छुट्न तीन हप्तामात्र बाँकी रहँदा रामलखनको मृत्यु भएको खबर आयो।



ज्यान मुद्दाबापत् जेल परेका उनी छुट्लान् र पारिवारिक पुनर्मिलन होला भन्ने आशामा थियो रामलखनको परिवार। तर, अकस्मात परिवारले आफ्नो अविभावकसँग अब कहिल्यै भेट नहुने खबर पायो।

राम लखनकी छोरी लक्ष्मी जैसवाललाई शनिबार (३ असोज) राति १२ बजेतिर बुबाको मृत्यु भएको भन्दै फोन आएको थियो। पेसाले नर्स रहेकी लक्ष्मीले अघिल्लो शनिबारमात्रै बुबासँग फोनमा कुराकानी गरेकी थिइन्। बुबाले पैसा पठाइदिनु भनेकाले ६ हजार पैसा पनि पठाइदिएकी थिइन्।

मंगलबार बिहान १० बजे वीर अस्पतालमा भेटिएकी लक्ष्मीले भनिन्,  ‘बुबालाई मैले पैसा पनि हालिदएको थिएँ। तर, त्यो पैसा पनि उहाँको हातमा पर्न पाएन होला।’

अस्पताल परिसरमा लक्ष्मीले आफ्नो बुबाको मृत्यु नभएर हत्या भएको दाबी गरिरहेकी थिइन्। ‘बुबाको कोरोना परीक्षण गरिएको थियो,’ उनले भनिन्, ‘मैले रिपोर्ट के आयो भन्दा पोजेटिभ आयो, शव हेर्न पाउनुहुन्न भनियो। जबरजस्ती गएर हेरेँ, हेर्दा बुबाको शरीरभरि चोटपटक थियो। मेरो बुबाको मृत्यु भएको होइन। हत्या भएको हो।’

लक्ष्मीका अनुसार उनले मंगलबार बिहान जबरजस्ती शवगृहमा गएर बुबाको शव हेरेकी थिइन्। शव गृहको झ्यालबाट एक लठ्ठीको सहायताले शव छोपिएको कपडा उठाउँदा अनुहारभरि चोटपटक देखिएको उनी बताउँछिन्। उनले सुनाइन्, ‘बुबाको शरीरभरि चोटपटक थियो। जिउभरि फोकैफोका थियो।’

लक्ष्मीले खिचेका तस्बिर र भिडियोमा रामलखनको अनुहारभरि चोटपटक देखिन्छ। टाउकोबाट रगत बगिरहेको छ। हात र छातीमा पनि फोकैफोका देखिन्छन्। उनले भनिन्, ‘मेरो बुबालाई उनीहरुले मारेका हुन्। शरीर पूरै पोलिएजस्तो छ। आँखा पनि निकालेको जस्तो देखिन्छ।’

लक्ष्मीकी आमा आफ्नो श्रीमान् मृत्यु हुने अवस्थाको नभएको बताइन्। उनले भनिन्, ‘शनिबार एक्कासी मृत्यु भएको खबर आयो। आज हामीले जबरजस्ती शव हेर्दा उनको आँखामा घाउ छ, शरीरमा पोलेको छ।’

लक्ष्मी आफू कारागारमा गएर बुबाबारे बुझ्दा जेल प्रशासनले कुनै समस्या नभएको बताएको सम्झिन्छिन्। भन्छिन्, ‘जेलमा बुझ्दा बुबा दिनभरि चेस खेलेर बस्नुभएको भनिएको थियो। राति सुत्ने बेलामा सास फेर्न गाह्रो भएपछि हस्पिटल लिएर आएछन्। राति हामीलाई मृत्यु भएको खबर आयो।’

परिवारले हत्या भएको दाबी गरिरहँदा जेल प्रशासनले भने उनको मृत्यु भएको दाबी गरेको छ। केन्द्रीय कारागार सुन्धारामा कार्यरत डिएसपी नेत्रमणि गिरी उनको उपचारको क्रममा मृत्यु भएको बताउँछन्। ‘असोज ३ गते करिब ९:३० बजे उनलाई स्वास प्रस्वासमा समस्या देखिएको थियो,’ उनले भने, ‘समस्या देखेपछि हामीले आन्तरिक अस्पतालमा लग्यौं। तर, स्थिति जटिल भएकाले आन्तरिक अस्पतालबाट उनलाई वीर अस्पताल लगियो। वीरमा ल्याएपछि उनको मृत्यु भएको हो।’

परिवारले लगाएको आरोप अर्थहीन भएको डिएसपीको गिरीको दाबी छ। यस विषयमा परिवारले प्रहरीमा आएर अनुसन्धानपछि मात्रै सार्वजनिकरुपमा बोल्दा ठीक हुने उनी बताउँछन्। भन्छन्, ‘उहाँहरुले यत्तिकै आँखा निकाल्यो, किड्नी निकाल्यो भन्न मिल्दैन।’

मृत्यु भएको केही दिन वितिसकेकाले मृतकको शरीरमा फोकाहरु देखिएको हुनसक्ने बताउँछन्। गिरीका अनुसार कारागारमा रहँदा उनको शरीरमा त्यस्तो कुनै पनि किसिमको चोटपटक वा घाउ थिएन।

सूत्रन्युजले परिवारद्वारा उपलब्ध गराएका तस्बिरहरुबारे जानकारी गराएपछि डिएसपी गिरी भन्छन्, ‘त्यसबारे अस्पताललाई जानकारी हुनुपर्छ। तर, जेलबाट लैजाँदा चोटपटक लागेको थिएन। अहिले पनि नलागेको होला। परिवारले यत्तिकै हल्ला फैलाएको हुनुपर्छ।’

यसबारे परिवारले आग्रह गरेमा अनुसन्धान हुने र त्यसपछि मात्रै थप कुरा बोल्न सकिने उनी बताउँछन्।

जेलमा हुँदासम्म सबै ठीकै थियो : जेलर

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार मृतक रामलखन दीर्घ रोगी थिए, पाकिन्सनको समस्या थियो। ‘उहाँमा नशा खुम्चिने समस्या थियो। प्रेसरको पनि बिरामी हुनुहुन्थ्यो,’ उनले भने, ‘हामीले ५ लाखभन्दा बढी खर्च गर्‍यौं उहाँको उपचारका लागि। अस्ती ३ गते गाह्रो भयो भन्नुभयो। त्यसपछि प्रहरीले आन्तरिक अस्पताल लग्यो। त्यहाँ पनि नभएपछि वीर अस्पताल लगियो। ९:४५ बजे पठाइएको थियो। १० बजे मृत्यु भएको खबर आयो।’

जेलर बास्कोटाका अनुसार पीसीआर परिक्षण नगरी शव जलाउन नमिल्ने हुनाले परीक्षण गर्दा कोरोना पोजेटिभ पनि देखियो। ‘त्यसपछि आज बिहान परिवारका सदस्यहरुले फोटो लिएर हामीकहाँ पनि आउनुभएको थियो,’ उनले भने, ‘तस्बिर र भिडियो हेर्दा मृतकको अनुहारमा चोटपटक देखिएको थियो। छानबिन हुनुपर्छ भनेर निवेदन पनि दिनुभयो।’

बास्कोटाका भनाइमा, विभत्स तरिकाले कुटपिट गरेर मारेको हो भनेर निवेदन परिवारको तर्फबाट परेको छ। ‘छानबिन हुनुपर्छ भनेपछि हामीले सिसिटिभी क्यामेरा हेर्‍र्यौं, कारागारबाट निकाल्दा ठीक थियो,’ उनले भने, ‘उहाँहरुलाई पनि जेलमा हुँदा र यहाँबाट बाहिर निकाल्दाको सिसिटिभी फुटेज देखाउन तयार छौं भन्यौं। त्यसपछि अझै छानबिन चाहने हो भने माथिल्लो निकायमा भनेर म र अस्पतालमाथि नै छानबिन गर्न लगाउनुस् भनेको छु।’

बास्कोटाले आफू जेलमा हुँदासम्मको स्थितिबारे मात्रै जानकार हुने बताउँछन्। ‘यहाँबाट निस्कँदा ठीक देखिएको छ,’ उनले भने, ‘अस्पताल र त्यहाँभित्र भएको कुराबारे थप छानविनको लागि उहाँहरुलाई माथिल्लो निकायमा निवेदन दिनुस् भनेको छु।’

यस विषयमा वीर अस्पतालको प्रशासनसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट