प्रहरीले अपहरण गरेर वीर अस्पताल पुर्‍याएको डा. केसीको आरोप, शिक्षण अस्पताल नपुर्‍याएसम्म उपचार नलिने-Sutra News

प्रहरीले अपहरण गरेर वीर अस्पताल पुर्‍याएको डा. केसीको आरोप, शिक्षण अस्पताल नपुर्‍याएसम्म उपचार नलिने

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- डा. गोविन्द केसी नेपालगञ्जको फ्लाइटमा दिउँसो १ बजे काठमाडौं आए। उनी विमानस्थलमा ओर्लिएकामात्र के थिए, एउटा दृश्य देखापर्‍यो। उनी शिक्षण अस्पताल महाराजगञ्ज पुगेर आफ्नो अनसन जारी राख्न चाहन्थे। तर, प्रहरीको जत्था उनीसामु आएर जबरजस्ती गर्न थाल्यो। उनी चढिरहेको एम्बुलेन्सअगाडि आएर प्रहरी तेर्सिए।



‘म टिचिङ अस्पताल जान्छु, मैले काम गर्ने ठाउँ टिचिङ हस्पिटल हो,’ डा. केसी हतासिएको भावमा प्रहरीलाई भनिरहेका थिए।

अचानक ढोकाबाट केसीलाई तान्ने प्रयासमा प्रहरी लागे। ‘म जान्न भनेको,’ उनी हिच्किचाउँदै अस्वीकार गर्न थाले। तर मास्क लगाएका डिएसपी गाडीभित्र घुसेर उनीतर्फ लम्कँदै भने, ‘जबरजस्ती नगरौं न!’

र, धम्काउने शैलीमा बोले, ‘तपाईँ यस्तो अवस्थामा जबरजस्ती नगर्नुस्।’

‘यो प्रहरीको गुण्डागर्दी हो,’ केसी डिएसपीसामु प्रतिकार गर्दै बोल्दै थिए। डिएसपी उनलाई सम्झाएझैँ गरी तान्न थाले। 

‘म डाक्टर हैन? मलाई थाहा छैन के छ भन्ने कुरा,’ केसी जोडले प्रतिकार गर्दै थिए। तर, उनको कुरा नसुन्दै कठालोमा समातियो। र, लछार्न थालियो।

‘प्रहरी तँ जतिको बलियो छस् नि, म नि त्यति बलियो छु,’ केसी भन्दै थिए।

तर, प्रहरीले उनको कुरालाई वेवास्ता गर्‍यो। केसी डेग चल्न नमानेपछि घिसारियो। प्रहरीलाई सहयोग गर्ने दुई जना थपिए। त्यसपछि अरु थपिए। उनलाई कैदीझैँ लछारेर लगियो। चिच्याउँदै केसीले आवाज निकालिरहेका थिए, ‘ओलीको गुण्डागर्दी तानाशाही तन्त्र मुर्दावाद।’

डा. केसीलाई अहिले ट्रमा सेन्टरमा राखिएको उनका सहयोगी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीन गिरीले बताए। गिरीका अनुसार डा. केसीले कुनै पनि उपचार लिन मानेका छैनन्। ‘अहिले उहाँलाई ट्रमाको आकश्मिक कक्षको बेडमा राखिएको छ। अझै पनि टिचिङ जान्छु भन्नुभएको छ। इच्छाविरद्ध ट्रमामा ल्याएको भनेर उपचार लिन मान्नुभएको छैन,’ डा. गिरीले भने।

अस्पताल बाहिर डा. केसीका समर्थकहरू छन्। ‘कसैलाई पनि भित्र छिर्न दिइएको छैन। प्रहरीले बाहिरबाट अवरोध गरेको थियो,’ केसीका सहयोगी डा. हिमालय खड्कीले भने।

जुम्लामा असुरक्षित महसुस भएपछि काठमाडौं

डा. केसीले ६ बुँदे माग राख्दै २९ भदौमा जुम्लामा अनसन सुरु गरेका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायतका कार्यक्रमहरु सञ्चालन, मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दीगो निशुल्क सेवा सुनिश्चित गर्नुपर्ने र सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राख्दै उनले अनसन थालेका थिए।

सहयोगी डाक्टरका अनुसार अनसनको छैठौं दिनमा स्थानीय प्रहरीले कर्णाली जुम्ला स्वास्थ्य प्रतिष्ठानमा डा. केसीलाई लिएर गएको थियो। केसीले कुनै पनि उपचार लिन मानेका थिएनन्। त्यहाँ आफूलाई असुरक्षा महसुस भएको डा. केसीले बताएका थिए।

असुरक्षा महसुस भएकै कारण अनसन बसेको आठौं दिनमा उनी काठमाडौं जाने कुरा गरेका थिए। ‘उहाँ एक्लै काठमाडौं जान्छु भन्नुभयो। एक्लै पठाउन हुँददैन भनेर म उहाँको साथमा काठमाडौं आएँ,’ डा. गिरीले सूत्रन्युजलाई भने। नेपालगञ्ज आइपुगेपिछि भने डा. केसीले उपचार र स्लाइन पानी लिन मानेका थिए। नेपालगञ्जबाट बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौं आइपुगे। ‘काठमाडौं आएपछि भने जबरजस्ती इच्छाविपरीत ल्याएका कारण उहाँले अहिले उपचार लिन मान्नुभएको छैन,’ डा. गिरीले भने।

उनका अनुसार डा. केसीले प्रहरीले आफूलाई अपहरण गरेर ल्याएको आरोप लगाइरहेका छन्। डा. केसीले शिक्षण अस्पताल महराजगञ्ज नपुर्‍याएसम्म कुनै उपचार नलिने अडान लिएका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक-पटक अनसन बस्दै आएका डा. केसीको मागलाई सरकारले सधैं बेवास्ता गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट