मन्त्रिपरिषद् हेरफेर र संवैधानिक निकायमा पदपूर्ति गर्ने जिम्मेवारी ओलीलाई-Sutra News

मन्त्रिपरिषद् हेरफेर र संवैधानिक निकायमा पदपूर्ति गर्ने जिम्मेवारी ओलीलाई

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- दुई दिन चलेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।



मन्त्रिपरिषद् पुनर्गठन र विभिन्न संवैधानिक निकायमा नियुक्ति लगायतको विषय टुंग्याउने गरी बसेको बैठकले अन्ततः यसको मुख्य जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पेको छ।

आइतबार पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायहरुमा पदपूर्ति र पार्टीको एकता हुन बाँकी सांगठानिक विषयलगायतलाई कार्यसूची बनाएको थियो।

मंगलबार बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे थप कुनै छलफल नगरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकका निर्णय सुनाउँदै श्रेष्ठले बैठकको दोस्रो कार्यसूची रहेको संवैधानिक निकायहरुमा पदपूर्तिको प्रक्रिया अगाडि बढाउन पनि सुझाव दिएको सञ्चाकर्मीहरुलाई जानकारी गराए।

नेकपाका एक सचिवालय सदस्यले यी दुबै विषयको मुख्य जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिइएको बताए। ‘मन्त्रिपरिषद् पुनर्गठनबारे आज थप धेरै कुरा भएन,’ उनले सूत्रन्युजसँग भने, ‘मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक निकायहरुमा पदपूर्तिको मुख्य जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको छ। अर्का अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँगको परामर्शमा उहाँले यो काम अब चाँडै टुंग्याउनुहुन्छ।’

आइतबारको सचिवालय बैठकल मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल गर्दै मुख्य तीन मापदण्डका आधारमा त्यो गर्न सुझाएको थियो।

क्याविनेट अलि ठूलो मात्रामा पुनर्गठन गर्ने, नयाँ पुराना सबैलाई समेटेर पुनर्गठन गर्ने र पुनर्गठन गर्दा क्षेत्रीय, जातीय, सामाजिक र लैंगिक सन्तुलनलाई मिलाएर गर्ने सुझाव नेताहरुले दिएका थिए।

तीनै मापदण्डका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको काम चाँडै अघि बढाउने एक सदस्यले जानकारी दिए।

त्यस्तै संवैधानिक निकायहरुमा नियुक्ति गर्दा विगतमा जस्तो विवादति व्यक्ति नआउने गरी नियुक्ति गर्न सुझाव दिइएको छ।

विभिन्न ४० संवैधानिक पदमा नियुक्त गर्न बाँकी छ। प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया थाल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट