स्कुले विद्यार्थीहरुलाई राष्ट्रिय टिममा फुटबल खेल्ने अवसर-Sutra News

स्कुले विद्यार्थीहरुलाई राष्ट्रिय टिममा फुटबल खेल्ने अवसर

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- हालः कोरोना भाइरस महामारीको कारण नेपालमा सम्पूर्ण खेलकुद गतिविधिहरु ठप्प छन्। निश्चित मापदण्ड अपनाएर फुटबल गतिविधि सञ्चालन गर्न पाउनुपर्ने भन्दै अखिल नेपाल फुटबल एसोसियशन (एन्फा)ले सरकारसमक्ष आफ्नो माग राख्दै आइरहेको छ।



यसैबीच एन्फाले आगामी मंसिर दोस्रो सातादेखि अन्तरविद्यालय फुटबल लिग प्रतियोगिता सञ्चालन गर्ने भएको छ। नेपाली फुटबलको व्यावसायिक विकास गर्न र युवाहरुलाई फुटबलप्रति आकर्षित गर्नका लागि लिगको आयोजना गर्न लागिएको हो।

`एन्फाले अहिले यस प्रतियोगितालाई आफ्नो महत्वाकांक्षी परियोजनाको रुपमा सञ्चालान गर्न लागेको छ,’ परियोजनाका संयोजक नवीन महर्जनले सूत्रन्युजलाई टेलिफोनमार्फत् जानकारी दिए। निकट भविष्यका लागि उमेर समूहका राष्ट्रिय टिमका लागि खेलाडी उत्पादन गर्ने प्रमुख उद्देश्य रहेको उनले बताए।

उनका अनुसार यो लिग पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकमा सञ्चालन गरिनेछ। भविष्यमा महिला टिमलाई समेत समेटेर यस परियोजना अन्य जिल्लामा पनि विस्तार गरिने उनले बताए। ‘लिगका उत्कृष्ट खेलाडीहरुले उमेर समूहका राष्ट्रिय टोलीमा छनोटको मौका पाउनेछन,’ उनले भने, ‘उनीहरुको यात्रा उमेरसमूह हुँदै राष्ट्रिय टिमसम्म हुनसक्छ।´

लिगमा सहभागी हुनका लागि एन्फाले मापदण्ड तोकेको छ। मापदण्डअनुसार विद्यालयको आफ्नै खेल मैदान हुनुपर्ने छ, जसको लम्बाई कम्तीमा ७० देखि १०० मिटर र चौडाइ कम्तिमा ३५ देखि ५० मिटरको हुनुपर्नेछ। विद्यालयको कम्तिमा २३ देखि बढीमा ३० जनाको आफ्नै यु-१५ टिम हुनुपर्नेछ भने उनीहरुलाई प्रशिक्षण दिनका लागि कम्तिमा फिफाको `सी ग्रेड लाइसेन्स´ प्राप्त प्रशिक्षक अनिवार्यरुपमा हुनुपर्नेछ। विद्यालयको मैदानमा `होम म्याच´ सञ्चालन गर्ने सम्भाव्यता हुनुपर्नेछ।

एन्फाले इच्छुक विद्यालयहरुलाई १५ दिनभित्र आवेदन दिनका लागि आजै सूचनासमेत प्रकाशित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट