काठमाडौं- विगत एक हप्तादेखि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलिफा नेपालमा छन्। कोभिड-१९ का बीच पनि नेपालका दुई हिमाल आरोहणका लागि ३१ भदौमा नेपाल आइपुगेका उनी गोरखाको मनास्लु हिमाल र लोबुचे हिमाल आरोहण गरेपछि विश्वको सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने उनको योजना छ।
नेपाल आइपुगेको एक हप्ता बित्दानबित्दै यहाँको प्राकृतिक सौन्दर्यले उनलाई मज्जासँगै आकर्षित गरेको छ। नेपालका हिमाल आरोहण गर्ने योजना बनाउँदै गर्दा नेपाललाई हिमालै हिमालको देश होला भन्ने सोचेका उनी यहाँ आइपुगेपछि जततातै हरियाली र पर्याप्त पानीको स्रोत देख्दा छक्क परेका छन्।
नेपालका के-के कुराले उनलाई आश्चर्यमा पार्यो, यहाँका के-के कुराले उनलाई लोभ्याए, सत्तारुढ नेकपा सम्बद्ध अखिलका नेता दीपेश पुनसँग ‘नेपाल फिलिङ्स’ बहराइनका राजकुमारले खुलेर साँटे। उपराष्ट्रपति नन्दबहादुर पुनका सुपुत्र दीपेश राजकुमार खलिफासँग भेटघाटका लागि मंगलबार साँझ गोकर्ण रिसोर्ट पुगेका थिए।
‘उनलाई नेपाल भनेको हिमालै हिमालको देश हो, हिमाली देश भएकाले नेपालमा हरियाली देख्न पाइँदैन भन्ने उहाँलाई लागेको रहेछ,’ दीपेशले सुनाए, ‘तर, यहाँ आइपुगेपछि जताततै हरियाली देख्न पाउँदा उहाँ निकै खुसी देखिनुहुन्थ्यो । पानी पर्याप्त भएकोमा पनि उहाँले आश्चर्य व्यक्त गरे ।’
अधिकांश खाडी राष्ट्रहरु मरुभूमि सरह छन् । त्यहाँ नेपालमा जस्तो प्राकृतिक हरियाली देख्न पाइँदैन, न त यहाँको जस्तो प्राकृतिक पानी पर्याप्त मात्रामा पाउन सकिन्छ । भर्खर वर्षायाम सकिएकाले जताततै हरियाली छ । पानीका मुहानहरु पनि सुकेका छैनन् । सुन्दरीजल नजिकैको गोकर्ण क्षेत्र त हरियाली र पानीका लागि प्रसिद्ध नै छ ।
यहाँको प्राकृतिक सौन्दर्यले मख्ख र पानीको पर्याप्त स्रोतले छक्क परेका राजकुमार खलिफाले आफ्ना साथी-संगीहरुलाई नेपालको सौन्दर्यबारे सामाजिक सञ्जालको माध्यमबाट बताउन थालिसकेका छन् ।
‘खाडी राष्ट्रमा जहाँ जहाँ राजतन्त्र छन्, त्यहाँका राजकुमारहरुसँग उनको दोस्ती र सम्बन्ध रहेछ, यता आएपछि उनले नेपालको सुन्दरताबारे बताउन थालेका रहेछन्,’ दीपेशले भने, ‘हिमाल आरोहण गरेर बहराइन फर्केपछि सबैलाई भेला गरेर पनि नेपालबारे बताउँछु भनेका छन्।’
बहराइनमा केही वर्षदेखि नेपालको राजदूतावास छ। उता नेपालको दूतावास भएपनि बहराइनले भने नेपालमा दूतावास खोलेको छैन। यता आइपुगेपछि यो कुरा उनलाई खट्केको रहेछ। उमेर पनि मिल्ने भएकाले होला, नेपालमा कस्तो दूतावास खोल्ने भन्नेबारेमा उनले उपराष्ट्रपति पुत्रसँग ‘सेयर’ गरेका छन्।
दीपेशका अनुसार, त्यहाँको राजपरिवारले प्रत्यक्ष हेर्ने गरी नेपालमा राजदूतावास खोल्ने आफ्नो चाहना रहेको उनले बताएका छन्। ‘उनको कुराबाट मैले के बुझेँ भने, कतिपय देशमा त्यहाँको राजदरवारले नै प्रत्यक्ष हेर्ने गरी दूतावास खोलेको रहेछ,’ उनले भने, ‘फर्केपछि नेपालमा पनि त्यस्तै दूतावास खोल्न प्रयास गर्छु भनेका छन्।’