काठमाडौं- सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा उनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरक्षिक भीमप्रसाद ढकालले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरे।
नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरशः पालना गरी ती प्रहरीले प्रलोभनमा पार्न खोज्ने चालक र सहचालकलाई कारबाहीको दायरामा ल्याएका थिए। संगठनको छविलाई उच्च पारी दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गरेकाले प्रोत्साहन गरिएको उनले बताए।
यसअघि पनि प्रलोभनमा नपर्ने ५० ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको थियो। संगठनको नीति विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही समेत गरिएको महाशाखाले जनाएको छ। अन्य ४ प्रहरीलाई नोकरीबाटै हटाइएको छ।