

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनकासमकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुने भएको छ। उनीहरूबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन्। तर, यसको औपचारिक जानकारी भने दिइएको छैन।
गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिएका थिए।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनका अवसरमा फोन गर्नुभएको थियो। टेलिफोन कुराकानीका क्रममा उहाँहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको थियो।’
सो अवसरमा प्रधानमन्त्री मोदीले शुभकामनाका लागि श्रीलङ्काका दुवै नेताहरुलाई धन्यवाद दिएका थिए भने सम्बन्ध र सहकायलाई थप बलियो बनाउनका लागि आफ्नो तर्फबाट आवश्यक कदम चाल्ने र चासो राख्ने आश्वासन दिएका थिए।
त्यही बेलाको कुराकानीका आधारमा अहिले भिडियो कुराकानी हुने तय भएको बताइएको छ।