काभ्रेमा एकैदिन ६९ सैनिकसहित ७९ जनामा कोरोना संक्रमण-Sutra News

काभ्रेमा एकैदिन ६९ सैनिकसहित ७९ जनामा कोरोना संक्रमण

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काभ्रेपलाञ्चोक- जिल्लामा एकैदिनको परीक्षणमा अधिक कोरोना संक्रमित देखिएका छन्। मंगलबारको परीक्षणबाट ७९ जनामा कोरोना संक्रमित थपिएका हुन्। थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।



पोष्टका अनुसार मंगलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई/दुईमा कोरोना संक्रमण देखिएको छ।

नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा संक्रमण देखिएको थियो। नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गर्दछ।

नेपाली सेनाले आफ्नै व्यवस्थापनमार्फत पाँचखालको संक्रमण रोक्ने प्रयास भइरहेको जनाइएको छ।

यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना संक्रमण देखिएको थियो। हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना संक्रमण देखिएको जनाइएको छ।

जिल्लामा हालसम्म ५४१ मा कोरोना संक्रमण देखिएको छ। पोष्टका अनुसार कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन्। १९५ सक्रिय संक्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट