काठमाडौं- विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।
विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको (५ असोज) काठमाडौंस्थित निवासमा निधन भएको थियो।
उनको आज बिहान टेकु दोभानमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। सशस्त्र प्रहरीले शेर्पाप्रति सलामी अर्पण गर्यो।
शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पुर्याइएको थियो। शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागीता थियो।
सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका शेर्पा ‘हिउँचितुवा’ उपनामले पनि चिनिन्छन् ।