हिमालयन डिष्टिलरीका पूर्वसञ्चालक र ब्रोकरलाई धितोपत्र बोर्डद्वारा कारबाही-Sutra News

हिमालयन डिष्टिलरीका पूर्वसञ्चालक र ब्रोकरलाई धितोपत्र बोर्डद्वारा कारबाही

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- नेपाल धितोपत्र बोर्डले हिमालयन डिष्टिलरीको पूर्वसञ्चालक रहिशा श्रेष्ठ शाह र ब्रोकर श्री इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाललाई कारबाही गर्ने भएको छ। बोर्डले नियमविपरीत सेयर बेचेको भन्दै शाहलाई ७५ हजार रुपैयाँ र ब्रोकरलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।



पूर्व सञ्चालक शाहले नियमविपरीत चैत ६ गते २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँ बराबरको सेयर बिक्री गरेकी थिइन्। उनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) विपरीत सेयर बिक्री गरेको भन्दै ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०८ बमोजिम कारबाहीमा परेका सञ्चालक वा कार्यकारी प्रमुख कुनै पनि सूचीकृत संस्थाको १० वर्षसम्म सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनलाई १० वर्षसम्म कुनै पनि सूचिकृत संगठित संस्थाको सञ्चालन हुन नपाउने गरी कारबाही गरिएको हो।

यस्तै धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) विपरीत कारोबार गरेको भन्दै धितोपत्र दलाल व्यवसायी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएको छ।

शाहले इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल नामक ब्रोकरबाट २०७६ चैत ६ गते २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा बिक्री गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट