काठमाडौं- कुनै दिन यो काठमाडौं शहरमा नाजिर हुसेन नाच्नलाई छिरेका थिए, अहिले स्थापित अभिनेता भएर निस्किए। नाटक होस् या फिल्म, अभिनय गरेर उनले थुप्रै प्रशंसकहरु कमाए। अझ प्रचलित भाषामा भन्दा, ‘नाम कमाए, अलिअलि दाम कमाए।’
तर, यी सब प्रसिद्धिसहित आज गाउँ फर्किदा पनि उनलाई आफ्नो ‘स्याउली चोक’ साँच्चै फिक्का लाग्छ। स्याउली चोक अर्थात् बारा जिल्लाको तत्कालीन डुमरवाना गाविसको वडा नम्बर ८ मा उनी जन्मेको प्रिय गाउँ। किनकि स्याउली चोकमा सबथोक छ, तर उनकी आमा छैनन्। उनी २० वर्षको हुँदा उनकी आमाको निधन भयो ।
त्यसैले त आमाको अभाव भनौं या सम्झनामा उनले कवितै लेखेका छन्:
स्याउली चोकमा सबथोक छ
तर, तिमी छैनौं आमा
घरको पालीमा गौँथलीले गुँड लाउन अझै छाडेकी छैन
हरेक वर्ष झैँ कोरल्छे वचेराहरु
र उडाइ दिन्छे आकाशमा,
त्यो बचेरासँगै उनको सपना पनि त उड्दो हो
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौं…’
०००
सोमबार साँझ सूत्रन्युजको अफिसियल च्यानल सूत्र टिभीको स्टुडियोमा नाजिर करिब एक घन्टा गफिए। नाटक, फिल्म र म्युजिक भिडियोमा उनले गरेका कामहरुबारे त उनी सधैं बोलिरहेकै थिए, तर हामीसँग बाल्यकालका दिनहरु सम्झेर थोरै नोस्टाल्जिक भए। अनि, घर नजिकैको स्याउली चोक, त्यो चोक नजिकै रहेको दुधौरा खोला र प्रिय आमासँगको सम्बन्धबारे खुलेर आफ्ना स्मृतिहरु साटे।
हिन्दू परिवारमा काठमाडौंमै हुर्किएकी मीना बेगमले बाराका मोहम्मद इसाख हुसेनसँग प्रेममा परेपछि भागी बिहे गरेकी थिइन्। त्यसपछि जन्मिएका थिए- नाजिर हुसेन। २२ भदौ उनको जन्मदिन हो। तर, आमाको निधनपछि उनको जन्मदिनमा कहिल्यै पनि केक विषेश भएनन्, त्यसैले कहिल्यै काटेनन्। ‘आमाजी बित्दा नै हो म सबैभन्दा बढी रोएको। आमाजी बितेपछिको दुई तीनटा जन्मदिनमा पनि म बेस्सरी रोएको छु,’ उनी सुनाउँछन्।
उनी पाँच वर्षको छँदा एकपल्ट साथीको बर्थडे पार्टीमा केक काटेको देखेका थिए। त्यही देखेर उनले जन्मदिनमा केक कटाउनका लागि आमासँग खुब रोएका थिए।
हरेक जन्मदिनमा आमाले भुड्को (खुत्रुके)को सिक्का हातभरी राखिदिएका पल उनी कहिल्यै बिर्सदैनन्। ‘अहिले त म जन्मिएको दिन, मसँग मेरो जन्माउने मान्छे नै छैन भन्ने हुँदोरहेछ। त्यसैले केक काट्न मन लाग्दैन,’ उनले भने।
नाजिर आफ्नो बुबाबारे खासै खुल्न चाहँदैनन्। कारण, केही समयपछि उनका बुबा-आमा अलग भए र उनी आमाकै काखमा स्नेहपूर्वक हुर्किए। ‘मेरो बुबासँग गहिरो अट्याच्मेन्ट हुन सकेन,’ नाजिर भन्छन्, ‘तर, आमासँग म एकदमै नजिक र घनिष्ठ थिएँ। कान्छो छोरो भएको फाइदा खुब लिएको थिएँ।’
नाजिरकै भाषा सापटी लिएर भन्नुपर्दा शहरको बीचमा उभिएर एउटा नौजवानले आफ्नो बाल्यकाललाई फर्केर हेर्दा कस्तो देख्ला?
जवाफ पनि उनी आफैँ दिन्छन्, ‘बाल्यकाल भन्नेवित्तिकै धेरैलाई सम्झिने स्वतन्त्रता होला। केही कुराको चिन्तै नहुने। तर, मेरो बाल्यकाल अर्कै हिसाबले बित्यो। बरु अहिलेचाहिँ बच्चाजस्तो लाग्छ।’
त्यसो त गाउँमा रमाइलो हुँदै नहुने होइन, खुब हुन्थ्यो। उनी ७-८ वर्षको हुँदादेखि नै घासदाउँरा गर्न जंगल जान्थे, उस्तै फुर्तिका साथ घरको काम पनि गर्थे। चार-पाँच जना साथीहरुको टोली थियो, उनीहरुसँग खुब रमाइलो गर्थे। अनि, औषधिको डब्बामा सुतरीको डोरीमा मट्टितेल हालेर त्यसमै बत्ति बाल्थे उनी। त्यतिबेला अहिलेजस्तो बिजुली कहाँ थियो र पढ्नलाई, न बिजुली जाँदा कसैले ‘कुलमान गयो’ भन्थ्यो नै।
नाजिरकी आमालाई मादल बजाउन खुब मनपर्थ्यो। घरदेखि चार-पाँच घर पर ठकुरी मामाको घर थियो। दुवैलाई गीत गाउन र बजाउन भनेपछि अचाक्ली मनपर्ने। त्यसैले साँझ पर्नासाथ स्याउली चोकको रौनक नै फेरिन्थ्यो। ‘सधैं कतिखेर साँझ पर्छ भन्ने हुन्थ्यो,’ नाजिर सम्झन्छन्, ‘खानासाना खाएर, भाडासाडा माँझेपछि हामी आँगनमा भेला हुन्थ्यौं। आगन पनि ठूलो थियो। आमा मादल बजाउनुहुन्थ्यो, ठकुरी मामा आफूलाई एकदमै मनपर्ने गीत गाउनुहुन्थ्यो- ‘काली पारी, दाई कति राम्रो…’, यसरी ९-१० बजेसम्म नाचिन्थ्यो।’
नाजिर उसै त नाच्न माहिर थिए। कतै गीत बज्यो कि नाचिहाल्थे। यतिसम्म कि गाउँघरमा बिहेका बेला हुने रत्यौली पनि छाड्दैन थिए। ‘रत्यौलीमा केटा मान्छेलाई जान दिँदैन। तर, हाम्रो आमाजीलाई चाहिँ मादल बजाउनकै लागि भए पनि एक दिन अगाडि नै सुपाडी आइसकेको हुन्थ्यो। म कान्छो छोरो नाच्नकै लागि ढिप्पी गरेर भए पनि उहाँसँगै जान्थें।’
स्याउली चोक नजिकैको दुधौरा खोलासँग नाजिरको नजिकको साइनो छ। उनकी दादीले उनलाई ‘मुसलमानको बच्चाजस्तो छैन यो, पहाडेजस्तो छ’ भन्दा उनकी आमाले भन्थिन् रे, ‘हो त सानो भाइ, तँलाई त दुधौरा खोलोमा भेट्टाएको हो।’
‘यतिमात्रै होइन यो खोलामा बाढी आएको बेला साथीले धकेल्दा म झन्डै डुबेर मरेको थिएँ,’ उनी सम्झन्छन्। कुनै दिन दुधौरा खोलामाथि फिल्म नै बनाउने नाजिरको सपना छ। ‘फिल्म नभए पनि नाटक त बनाउँछु नै,’ उनले भने।
नाजिर मध्यमवर्गीय परिवारमा हुर्किए। त्यसैले एसएलसी परीक्षामा ट्यूसन फी तिर्न पनि सहज थिएन। ट्यूसन फी तिर्नकै लागि उनी अरुको बारीको धान काट्थे, स्वास्थ्य चौकीमा काम गर्न पुग्थे। ‘त्यतिबेला पोलियो थोपा खुवाउने बेलामा हात्तिपाइले के-के आइरहेको थियो। नाम टिप्नै मात्र जाँदा पनि दिनकै २५ रुपैयाँ पाइन्थ्यो। कम्ता मज्जा आउँथ्यो यार। त्यही पैसा जम्मा गर्यो, ट्यूसन फी बुझायो,’ त्यो पल सम्झिदा आज उनी रोमाञ्चित हुन्छन्।
स्याउली चोकमा नाजिरको घर अगाडि चौतारा थियो। चौतारा छेउमा सिताराम दाइको साइकल पसल। गाउँमा ‘ठूल्भाइ’का रुपमा चिनिने उनका दाइले सितारामकै पसलमा सिकेर आफैँ साइकल मर्मत गर्ने पसल खोले। नाजिर पनि गइरहन्थे दाइको पसल, साइकलको पञ्चर टाल्न।
शनिबार जंगलमा दाउरा लिन जानेहरु धेरै हुन्थे। त्यसैले अरु दिनभन्दा त्यसदिन पञ्चर टाल्न आउनेहरुको भीड लाग्थ्यो। ‘मलाईचाहिँ रिस उठ्थ्यो। त्यसैले साइकल बनाउनु नपरोस् भनेर धेरै बहाना बनाउँथे। कहिले होमवर्क गर्नुछ भन्थे, कहिले के…,’ उनी सम्झन्छन्।
तर, नाजिरलाई यस्तो पनि लाग्छ- ‘यदि आज अभिनेता नबनेको भए सायद गाउँमा त्यही साइकल पसलमा पञ्चर टालिरहेको हुन्थेँ।’
साइकलसँग नाजिरको छुट्टै लगाव छ। घरमा उनको बुढो साइकल थियो। भन्छन्, ‘जुन दिन मलाई साइकल चलाउन आएको थियो नि, त्यो दिन पछाडि किताब च्यापेर कैँचीबाट चलाउँदै चलाउँदै गएको अझै बिर्सेको छैन। पछि डन्डीबाट चलाउन पनि सिकेँ।’
‘लड्नुभएन?’
‘अहँ, नलडी सिकेँ। तर, जीवनमा त कति लडियो, लडियो।’
गाउँमा हुँदा नाजिर स्कुलको कार्यक्रममा खुब नाच्थे। दसैँमा केही कार्यक्रम गरिहाल्नुपर्यो भने उनी नै अगाडि सर्थे। गाउँमा डुमरवाना कला केन्द्र समूह थियो। समूहले चेलीबेटी बेचबिखन, लागुपदार्थ दुर्व्यसनी, घरेलु हिंसा आदि सामाजिक मुद्दामाथि सडक नाटक गरिरहन्थ्यो। नाजिर त्यसको हिस्सा हुन्थे। मंगलबार र शनिबार लाग्ने हाटबजारमा सडक नाटक देखाइन्थ्यो, जहाँ उनी पनि प्रस्तुत हुन्थे।
९ कक्षा पुगेपछि एसएलसी आउँदैछ भनेर उनका लागि नाटक ठप्प भयो। त्यसपछि जब उनले कक्षा ११ को परीक्षा दिए, काठमाडौंमा आयोजित ‘कन्टेम्पररी ब्याले’ कार्यशालामा सहभागिताको अवसर मिल्यो। उनी आए, नाचे।
नेदरल्यान्डबाट आएको समूहले उनको प्रशंसा गर्दै भन्यो- ‘तेरो आँखा बोल्छ, थिएटर किन ट्राइ गर्दिनस्?’ त्यसपछि उनलाई थिएटर भर्ना हुने मोह बढ्यो।
मण्डला थिएटरसँग जोडिए। त्यतिबेला गुरुकुल भत्किएको थिएन। सिनियर कलाकारहरु विपीन कार्की, सौगात मल्ल, सरिता गिरी, कमलमणि नेपाल आदिका कुरा सुन्दै आगो ताप्न खुब रमाइलो मान्थे उनी।
घरमा सबैको मान्यता थियो, उनले सरकारी जागिर गर्नुपर्छ। कलाकारिता गरेको खास निको मान्थेनन् कसैले। एकपल्ट दाइले त सिधै प्रस्ताव नै गरिदिए- ‘कि पुलिस अफिसर बन कि गाउँ गएर बस्?’
नाटकको माहोलमा भिजिसकेका नाजिरले सिधै दाइलाई ‘गाउँ जाँदिन’ भन्दिए र केही दिन घर छोडेरै हिँडिदिए। नाजिरलाई लाग्छ- थिएटरले उनलाई जीवन जिउन सिकायो। ‘म अरुसँग कति इमान्दार छु/छैन तर रंगमञ्चले मलाई आफूसँग इमान्दार हुन सिकाएको छ। दुःखै पर्दा पनि चिउरा र दालमोट खाएर दुई-दुई घन्टा नाटकको रिहर्सल गर्दा पनि बेग्लै ऊर्जा मिल्थ्यो। नढाटी भन्नुपर्दा मलाई नाटकले जीवनसँग नजिक हुन सिकायो। ती दिनहरु सम्झदा अहिले पनि छुट्टै आनन्द आउँछ।’
अहिले नाजिर नाटक हुँदै फिल्मका परिचित कलाकार बनिसके। ‘होस्टेल रिटन्स’, ‘जंगे’, ‘गाँठो’, ‘कागजपत्र’लगायत थुप्रै फिल्ममा अभिनय गरिसके। म्युजिक भिडियोमा उस्तै व्यस्त छन्। लकडाउनमा फुर्सदिलो भएपछि करिब ६ वर्षपछि उनलाई यतिखेर रेडियो नाटक गर्ने अवसर जुरेको छ। त्यसैले बाल विवाह र दाइजोप्रथाविरुद्धको रेडियो नाटकको तयारीमा व्यस्त छन् यतिखेर।
नाजिरको जीवनको प्रेरणाको श्रोत कोही एउटा पात्रमात्रै छैन। भन्छन्, ‘बाटोमा ठोक्किदा कोही मान्छे गज्जब लाग्यो भने म त्यही मान्छेबाट पनि केही न केही लिन खोजिरहेको हुन्छु। कहिलेकाहीँ गाउँतिर बुढाबुढा दाँत फुस्किसकेका आले मामाहरुको कुरा सुन्दा पनि मेरो मनमा बेग्लै ऊर्जा आइदिन्छ।’
नाजिर आफ्ना संघर्षका कुरा खासै गर्न रुचाउँदैनन्। संघर्ष के हो भनेर उनलाई सोध्यो भने जवाफमा केही गम्भीरता, केही मुस्कान छर्दै बोल्छन्, ‘दार्शनिक प्रश्न हो यो। कसैले मलाई अभिनय के हो भनेर सोधिहाल्यो भने पनि म भन्न सक्दिनँ। मैले गरिरहेको संघर्षले तपाईँलाई नछोइदिन सक्छ। यो त दृष्टिकोणमा भर पर्छ। तपाईँले भारी बोक्न सक्नुभएको छैन तर म १० किलोमिटर पर जंगलबाट भारी बोकेर घर आको मान्छे तपाईले सकिनसकी बोकेको देखेँ भने ‘जाबो त्यति पनि बोक्न नसकेको’ भन्छु होला। त्यसोभए कसरी बुझ्ने त संघर्षलाई?’
नाजिरबारे बाँकी जान्न, हेर्नुस् सूत्र टिभीले गरेको भिडियो कुराकानी: