नेपाल–चीन ‘सीमा मिचिएको छैन’ भन्ने सरकारको भनाइप्रति कांग्रेसको ध्यानाकर्षण-Sutra News

नेपाल–चीन ‘सीमा मिचिएको छैन’ भन्ने सरकारको भनाइप्रति कांग्रेसको ध्यानाकर्षण

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण गराएको छ।



बिहीबार पार्टी प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

जिल्ला संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसले बताएको छ।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनले नेपालको सीमा नमिचेको जनाएको थियो।

‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन’ जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकता बारे वस्तुगत अध्ययनकै क्रममा रहेको जानकारी गराएको छ।

सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चारमाध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने कांग्रेसले बताएको छ।

बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराइने विज्ञप्तिमा उल्लेख छ।

स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको कांग्रेसको ठहर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट