विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक र बाग्लुङलाई के फाइदा?-Sutra News

विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक र बाग्लुङलाई के फाइदा?

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं– पछिल्लो पटक बाढी र पहिरोबाट निकै प्रभावित सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।



नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमा र अवधि तोकी विपद् संकटप्रस्त क्षेत्र घोषणा गर्न सकिने कानूनी व्यवस्था छ। 

संकटग्रस्त क्षेत्र घोषित भएपछि हुने फाइदा

सरकारले विश्वबैंकमार्फत् नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैंया लगानी गरेर संकटग्रस्त क्षेत्र घोषित जिल्लामा पुनर्निर्माणका काम गर्ने छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यबस्थापन प्राधिकरणमार्फत् पुनर्निर्माणका काम हुने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी बुधबारको नियमति पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

अब जिल्लामा जिल्ला समन्वय समितिले पालिकाहरुमार्फत संकलन गरेका जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, अस्थायी स्थानान्तरण, जग्गा सट्टापट्टाका लागि कानुन निर्माण, बिस्थापितहरुको स्थायी बसोबास राउने लगायत काम हुनेछ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकमा २०७७ असार यता मात्रै बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार, साउन र भदौ महिनामा मात्र बाढी र पहिरोका कारण ७३ जनाको मृत्यु, ३९ बेपत्ता, १२७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा विस्थापितका लागि अस्थायी स्थानान्तरण र उनीहरुको स्थायी बसोबासका लागि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्दै आएका छन्।

उता बाग्लुङमा पनि पटक–पटक गरेर ठूलो जन र धनको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट