हराएको ११ नम्बर पिलर भेटिएपछि हुम्लामा नेपाल–चीनबीच सीमा निर्धारण गर्न सहज-Sutra News

हराएको ११ नम्बर पिलर भेटिएपछि हुम्लामा नेपाल–चीनबीच सीमा निर्धारण गर्न सहज

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं- हराएको भनिएको ११ नम्बर पिलर भेटिएसँगै हुम्लामा देखिएको नेपाल–चीन बीचको सीमा समस्याको समाधान हुने अपेक्षा बढेको छ। लामो समयदेखि हराइरहेको ११ नम्बर पिलर हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोलीले बुधबार फेला पारेको थियो।



हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चास्थित नेपाली भूमिमा चिनियाँ पक्षले ११ वटा भवन बनाएको दावी स्थानीयवासीले गरेपछि नेपाल–चीनबीच सीमा समस्या सतहमा आएको थियो। स्थानीयवासीले सो भू-भाग नेपालीहरुको चरिचरनको क्षेत्र भएको दावी गरेका थिए।

फरक–फरक दावी
स्थानीयवासीले विवादित भूमि नेपालको रहेको दावी गरेपनि नेपाल सरकारले भने चिनियाँ पक्षले निर्माण गरेका भवनहरु चिनियाँ भूमिमै रहेको स्पष्ट पारिसकेको छ। बुधबार साँझ विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले अहिले चर्चामा रहेको भू-भाग चिनियाँ सीमाभित्रै रहने स्पष्ट पारेको हो।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा सन् २०१६ मा पनि उक्त क्षेत्रमा बनाइएको भवनबारे मिडियामा समाचार आएको र अन्तर मन्त्रालय टीमले नीरिक्षणपछि भवन बनाइएको क्षेत्र लगभग एक किलोमिटर चिनियाँ भूमि भित्रै पर्ने निष्कर्ष निकालेको उल्लेख थियो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पनि सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको स्पष्ट पारेका थिए।

‘हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा पनि आएको थियो,’ उनले भनेका थिए, ‘त्यति बेला पनि सरकारले गृह, परराष्ट्र नापी सहितको छानविन समिति बनाएको र टोलीले स्थलगत अध्ययन गरेको थियो।’

परराष्ट्रमन्त्री ज्ञवालीको भनाई थियो, ‘अहिले पनि त्यही ठाउँमा घरहरू बनाएको भन्ने जानकारी प्राप्त भएको छ। नेपाल–चीनबीचमा सीमा समस्याहरू छैनन्। कहीं कतै त्यस्ता समस्या देखिए पनि बसेर छलफल गर्ने सौहार्द सम्बन्ध हाम्रो छँदैछ।’

त्यसअघि मंगलबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि विज्ञप्ति जारी गरी चीन र नेपाल मित्रवत छिमेकी भएको, भवन रहेको भू-भाग चिनियाँ सीमाभित्रै रहने दावी गर्दै नेपालले यसलाई थप प्रमाणिकरण गर्न सक्ने बताएको थियो।

‘चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको थियो, ‘यो कुरा नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ।’

‘चीनले अतिक्रमण गर्यो भनेका छैनौं’
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले स्थानीयवासीबाट त्यो पिलर भेटिएको आफूले जानकारी पाएको बताए। ‘पिलर बुधबार भेटियो भनेर मलाई जानकारी आएको थियो,’ लामाले सूत्र न्यूजसँग भने, ‘तर त्यो क्षेत्रमा फोन सम्पर्क गर्न सम्भव नभएकाले पिलर भेटिएकोबारे बुझ्न पाएको छैन।’

गाउँ पालिका अध्यक्ष लामाका भनाइमा, सीमा स्तम्भ भेटिएकाले अब सीमाको मार्किङ गरेर त्यो क्षेत्र नेपालको हो कि होइन भन्ने एकिन हुनेछ। स्तम्भ भेटिएपछि त्यसै अनुसार मार्किङ गरेर त्यो भूमि कर्तापर्छ भन्ने एकिन गर्न सकिन्छ।

‘त्यो क्षेत्र धेरै आउत जावत गर्न मिल्ने क्षेत्र होइन, त्यो क्षेत्रमा मानववस्ती कहीँ पनि छैन, सीमा पोष्ट त्यो क्षेत्र भन्दा दुई–तीन किलोमिटर भित्र छ,’ उनले भने, ‘चिनियाँ पक्षले भवन बनाएपछि त्यो हाम्रो क्षेत्रमा पर्‍यो कि भन्ने एउटा आशंका हो । अहिले नै चीनले नेपाली भूमि अतिक्रमण ग¥यो भनेर हामीले भनेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट