स्याङ्जा- पहिरोमा पुरिएर ज्यान गुमाएका स्याङजाका नौ जनाको सामूहिक दाहसंस्कार भएको छ। स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार भएको हो।
बिहीबार बिहान वालिङ–१४ तमादीकी माया नेपालीको घर पहिरोले पुरिँदा ९ जनाको मृत्यु भएको हो।
कालीगण्डकी नदीको घाटमा ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहासंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले जानकारी दिए।
सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबैलाई दागबत्ती दिए।
पोष्टमार्टमपछि उनीहरुको शव कालीगण्डकी नदीको घाटमा पुर्याइएको थियो। एउटै परिवारका नौ जनाको दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्त भावविह्वल भएका थिए। परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा छ।
पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताएका छन्।