आइपिएल: पञ्जावको पहिलो जित, बैंगलोर ९७ रनले पराजित-Sutra News

आइपिएल: पञ्जावको पहिलो जित, बैंगलोर ९७ रनले पराजित

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा पहिलो जित निकालेको छ। गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो।



दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे। यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए। सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले। उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे। उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने।

यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए। करुण नायर १५ रनमा अविजित रहे । बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए ।जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ।

पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो। बैंगलोरको यो पहिलो हार हो। पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो।

बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ। प्रतियोगिता अन्तर्गत आज चेन्नई र दिल्ली भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट