ग्रीसको मोरिया क्याम्पबाट करिब ५०० आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने-Sutra News

ग्रीसको मोरिया क्याम्पबाट करिब ५०० आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

पेरिस– ग्रीसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीहरूले बताएका छन्।



फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटिआरसँग भने, ‘फ्रान्सले केही दिन पहिले डढेलो प्रभावित शिविरका ३५० बालबालिकालाई फ्रान्स ल्याउने प्रतिवद्धता जनाइसकेको थियो। थप १५० बालबालिकासहित उक्त क्याम्पका कूल ५०० आप्रबासी बालबालिकालाई फ्रान्समा शरण दिइने छ।’

सेप्टेम्बरको सुरुमा करिब १२ हजार शरणार्थी रहेको शिविरमा आगलागी भएपछि उनीहरूलाई यूरोपका विभिन्न स्थानमा व्यवस्थापन गर्ने इयू नेताहरूबीच सहमति भएको र फ्रान्सले यसै आधारमा ती बालबालिकालाई आफ्नो मुलुकमा भित्र्याउन तयार भएको हो।

‘आप्रबासी र शरणार्थी व्यवस्थापनका लागि भएको नयाँ सम्झौता’ मा इयूका २७ सदस्य राष्ट्रहरूले शरणार्थीको बोझ लिने सहमति गरिएको यूरोपेली आयोगले बुधबार सार्वजनिक सूचनामा जानकारी गराइएको थियो। यद्यपि केही साना मुलुकहरूले बराबर शरणार्थी बाड्ने सहमतिमा असहमति जनाएका छन्।

यसैबीच बिउनीले फ्रान्सको मार्सेलीतर्फ हिँडेको भनिएका तर इटालीबाट उद्धार गरिएका १३० आप्रबासीहरूलाई इटालीमा व्यवस्थापन गर्ने बताउँदै फ्रान्सले यसबाट आफ्नो हिस्सामा पर्ने बोझ लिन तयार भएको पनि बताए। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट