

सुर्खेत- वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण सुरु गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गरेका हुन्।
गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स सेवा सुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरेको छ।
गत माघदेखि सेवा सुरु गरिए पनि छपाइ गर्न काठमाडौं पठाउनुपर्ने र कोभिड-१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाइँले जानकारी दिए।
उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व संकलन भएको छ। कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व संकलन गरिएको जनाएको छ।
‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’
मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिएका छन्।
सुर्खेतबाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यातायात व्यवस्था कार्यालय कर्मचारीलाई लाइसेन्स लिन भनसुन र पहुँचभन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिए।