बार्सिलोनाका प्रशिक्षक कोमनलाई सुवारेजको चेतावनी-Sutra News

बार्सिलोनाका प्रशिक्षक कोमनलाई सुवारेजको चेतावनी

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- बार्सिलोना छाडेर ला लिगाकै एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका उरुग्वेन फरवार्ड लुइस सुवारेजले आफू अझै पनि उच्च स्तरमा खेलेर मैदानबाटै देखाउने बताएका छन् । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोमनले उनलाई टोलीमा नराखेपछि क्लबले बाँकी रहेको एक वर्षको सम्झौता भंग गर्दै सुवारेजलाई एथ्लटिकोमा पठाएको हो ।



सुवारेज फ्री ट्रान्सफरमा एथ्लेटिको गए पनि विभिन्न शीर्षकमा बार्सिलोनाले एथ्लेटिकोबाट ६ मिलियन युरोसम्म बोनस रकम पाउनेछ । तर, यो बोनस रकम सुवारेजको व्यक्तिगत प्रदर्शन र एथ्लेटिकोले जितेका उपाधिका आधारमा भर पर्नेछ ।

बार्सिलोनाले सुवारेजको बिदाइमा क्याम्प नोउ रंगशालामा आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै सुवारेजले आफूलाई टोलीबाट निकाल्ने डच म्यानेजरलाई घुमाउरो पारामा कडा डाइलग पेल्न भ्याए । उनले नाम तोकेर आफू बाहिरिनको कारण कोमन नै भएको नबताए पनि सांकेतिक रूपमा कोम्यानलाई उनले चेतावनी दिए ।

सोक्रममा सुवारेजले आफू बाँकी रहेको एक वर्षको सम्झौताभरि बार्सिलोनामै रहन चाहेको तर प्रशिक्षकले आफूलाई नपत्याएको उल्लेख गर्दै एथ्लेटिकोमा गएर आफू अझै पनि उच्च स्तरबाट खेल्न सक्छु भनेर देखाउने बताए । ‘एक दिन प्रशिक्षकले मलाई भेट्न बोलाए । र, म उनको योजनामा नरहेको कुरा उनले मलाई भनें । त्यसबेला म ज्यादै दुःखी बनें । किनभने, म अझै एक वर्ष यहीं रहेर टिमलाई सघाउन चाहन्थें,’ सुवारेजले प्रशिक्षक कोमनप्रति गुनासो पोखे ।

सुवारेजले आफू अझै राम्रोसँग खेल्न सक्छु भनेर एथ्लेटिकोमा देखाउने बताए । ‘म अझै पनि उच्च स्तरबाट खेल्न सक्छु । म यो अर्को क्लबमा गएर देखाउनेछु । म प्रशिक्षकको निर्णयको कदर गर्छु । तर, मप्रति उनको बुझाइ र निर्णय गलत थियो भनेर म साबित गर्नेछु,’ कोमनलाई चेतावनी दिँदै सुवारेजले भने ।

सुवारेजले एथ्लेटिको पनि युरोपको एक ठूलो क्लब रहेको बताउँदै सो टिलाई आफूले सघाउने बताए । ‘एथ्लेटिको एक ठूलो क्लब हो, जसले सधैं ठूला प्रतियोगितामा दाबेदारी देखाउँदै आएको छ । अवश्य पनि, म त्यो टिमलाई सघाउनेछु,’ सुवारेजले थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट