

काठमाडौं- ट्रेकिङ र ट्राभल कम्पनीको काम एयरलायन्सले गरेको भन्दै नाट्टा र टान आक्रोशित बनेका छन्। एयरलाइन्सको नाममा टुर प्याकेजहरु घोषणा भएपछि नाट्टा र टानले त्यसको विरोध गर्दै संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेका छन्।
दुबै संस्थाले आफ्नो काम नखोस्न विमान कम्पनीहरुलाई आग्रह गरेका छन्। सबैले आ-आफ्नो उद्धेश्यअनुरुप कार्य गर्नुपर्ने र कसैले पनि कसैको व्यवसायमाथि हस्तक्षेप नगर्न विज्ञप्तिमार्फत् माग गरिएको छ।
हवाई व्यवसायी नितान्त आफ्नो पेसाप्रति जिम्मेवार भई नेपाल ट्रेकिङ तथा ट्राभलसम्बन्धी प्याकेजमा हस्तक्षेप नगरी स्वच्छ व्यवसाय गर्न नाट्टा तथा टानले संयुक्त रुपमा अनुरोध गरेको हो।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्ष अच्युत गुरागाईँले आफ्नो संस्थाको जिम्मेवारीअनुसार काम गर्नुपर्ने र एक अर्काको कार्यमा हस्तेक्षेप गर्नु नहुने बताए।
उनले नेपाल सरकारले दिएको जिम्मेवारीअनुसार व्यवसाय गर्नुपर्ने र आन्तरिकदेखि बाह्य पर्यटकलाई आकर्षित गर्ने, घुमाउन, प्याकेज तयार गर्ने ट्राभल एजेन्ट र कम्पनीहरुको काम भएको बताए।
नेपाली पर्यटनलाई विदेशमा प्रर्वद्धन गर्न भूमिका खेल्ने तथा जोडिएका ट्राभल एजेन्ट्सहरुका व्यवसायमा आएका बाधा अड्चन हटाई सुरक्षा प्रदान गर्नु नाट्टाको महत्वपूर्ण जिम्मेवारी भएकाले यससम्बन्धी कार्य गर्न तत्पर रहेको गुरागाईँको भनाई रहेको छ।
केही दिन अगाडि यती, बुद्ध र समिट एयरलायन्सले पर्यटन प्रवर्द्धनका लागि भन्दै विभिन्न ठाउँको लागि प्याकेजको घोषण गरेका थिए।