असन, इन्द्रचोक र भृकुटीमण्डप सुनसान, ब्यापारी भन्छन्- अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत पनि ब्यापार छैन-Sutra News

असन, इन्द्रचोक र भृकुटीमण्डप सुनसान, ब्यापारी भन्छन्- अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत पनि ब्यापार छैन

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- दसैं आउनुभन्दा महिना दिनअघि बाट चहल-पहल सुरु हुने न्युरोड, असन, इन्द्रचोकका कपडा पसलहरु अहिले सुनसान छन्। यस वर्ष कात्तिक १ गते नौंरथा सुरु भएर कात्तिक १० गते विजया दशमी परेको छ। यसअनुसार अहिले यी क्षेत्रमा सामान खरीद गर्नेहरुको बाक्लै उपस्थिति हुनुपर्ने हो। तर, कोरोना महामारीले थलिएको ब्यापार व्यवसाय ठप्पप्रायः बनेको छ।



यो समयमा मानिसलाई आफ्नो दैनिक छाक टार्न धौ-धौ परेको अवस्था छ। कतिपय मजदुर वर्ग काठमाडौंमा आफ्नो गुजारा नचल्ने देखेपछि गाउँतिरै फर्किएका छन्। कोही गाउँतिरै खेतीपातीमा व्यस्त छन्। जसका कारण काठमाडौंमा हुने चहलपहलमा पनि कमी आएको हो।

यसको प्रत्यक्ष असर काठमाडौंमा हुने ब्यापारमा परेको यस क्षेत्रका ब्यापारीहरुको भनाइ छ। इन्द्रचोक नजिकै रहेको कपडा पसलका सञ्चालक रमोर श्रेष्ठ विगत २० वर्षदेखि कपडा पसल गर्दै आएका छन्। उनको पुर्खाले नै  काठमाडौंमा यो ब्यापार गर्दै आएका थिए। तर, अहिलेजस्तो ठप्प कहिल्यै नभएको उनले बताए।

सामान्य बेलामा पनि निकै भिडभाड हुने गल्लीहरु हुन्- इन्द्र चोक र असन। निषेधाज्ञा खुलेसँगै केही चहल-पहल देखिए पनि पसलमा भने मान्छेहरु शून्यजस्तै देखिन्छन्। श्रेष्ठका अनुसार अघिल्लो वर्ष जति सामानहरु ल्याइने गरिन्थ्यो त्यति सामानहरु आएका छैनन्। पसलमा पनि पुरानो सामानहरुमात्र रहेको उनको भनाइ छ।

‘अघिल्लो वर्षको दसैंताका यो समय भनेको ब्यापारीलाई मारामारको समय हुन्थ्यो। हामीलाई फुर्सद नै हुन्नथ्यो। दिनकै नयाँ डिजाइनका सामानहरु सजाउनेदेखि लिएर सामान आयातका काम पनि तिब्ररुपमा भइरहेका हुन्थ्यो। तर, यो वर्ष चहल-पहल नै छैन। ब्यापारी ब्यापारी जम्मा हुने बस्ने काममात्र भइरहेको छ,’ उनले भने।

उनले पसलको लागि चाहिने सामानहरु चीनबाट ल्याउने गरेको बताए। उनले भने, ‘सामान ल्याउन त लकडाउन खुलेपछि खासै समस्या भएको छैन। तर सामान ल्याएर के गर्ने? सामान बजारमा जाँदैन। चैत महिनामा गर्मीको लागि ल्याएको सामानहरु अझै बजारमा गइसकेका छैनन्। अब फेरि जाडोको सामान ल्याएर राख्दा पनि बजारमा गएन भने हामीले सामान ल्याएको पैसा कहाँबाट तिर्ने?’

उनले ‘अर्डर’का सामान पनि रसुवा नाका र केरुङको नाकामा रहेको बताए। त्यो आयो भने यो वर्षलाई पुग्ने उनले बबताए। ‘ब्यापार नभएपछि सामान धेरै ल्याएर स्टोक राख्न मिल्दैन। बजारमा फेरि नयाँ डिजाइनको फेसनहरु आउने हुन्छ। जसले गर्दा अहिले हामीले महँगो तिरेर ल्याएको सामान पछि झन घाटा खाएर बेच्नुपर्छ,’ उनले भने।    

भृकुटी मण्डपस्थित कपडा ब्यापार गर्ने एक ब्यापारी सानुमाया जिरेल विगत पाँच वर्षदेखि त्यो क्षेत्रमा ब्यापार गर्दै आएकी छन्। पाँच वर्षसम्मको सबैभन्दा ब्यापार नभएको वर्षको रुपमा उनी यही वर्षलाई लिन्छिन्। उनी भन्छिन्, ‘अहिलेको समयमा मान्छेलाई कसरी दैनिकी चलाउने भन्ने समस्या छ। जति पनि यहाँ किनमेल गर्न आउने ग्राहकहरु हुनुहुन्थ्यो, उहाँहरु पनि ५ प्रतिशतमात्र काठमाडौं भित्र हुनुहुन्छ, बाँकी सब जना गाउँ जानुभएको छ। जसले गर्दा ब्यापार बढ्छ राम्रो हुन्छ भन्ने आशा नै छैन।’

भृकुटी मण्डपको अधिकांश ब्यापारी ग्राहकको पर्खाइमा छन्। उनीहरु दिनभरि पसलमा बस्दा कहिले त बोहनीसम्म नहुने सानुमाया बताउँछिन्। उनी महेन्द्रनगरको कन्चनपुरबाट आएर ब्यापार गरिरहेकी छन्। भृकुटीमण्डपमा ब्यापार कम भएको यो उनको पहिलो अनुभव हो।

यही क्षेत्रका अर्का कपडा ब्यापारी बौद्ध अधिकारी विगत २०-२५ वर्षबाट यो क्षेत्रमा ब्यापार गरिरहेका छन्। उनको अनुमानमा भृकुटीमण्डपको ब्यापार यो वर्ष अघिल्ला वर्षको तुलनामा ८० प्रतिशतभन्दा धेरै घटेको छ। उनी भन्छन्, ‘ब्यापार खुलेको एक हप्ता भयो, जसोतसो भाडा तिर्नेचाहिँ ब्यापार भइरहेको छ।’

अहिले मान्छे नै नआउने उनको गुनासो थियो। अघिल्ला वर्षहरुमा १०-१५ हजारभन्दा बढी मान्छे आउने गरेको भए पनि अहिले मुस्किलले एक-डेढ सय मान्छेहरु आउने गरेको उनको भनाइ छ। 

उनी कपडा मिलाउँदै भन्छन्, ‘के गर्ने यो महामारीले गर्दा हाम्रोमात्र होइन, सबैलाई नराम्रो गरेको छ। बिरामी भैयो भने कहाँबाट ल्याएर उपचार गराउने भन्ने चिन्तामा छन् मान्छेहरु, कपडा किन्न आउने त कुरै भएन नि।’

सरकारले भृकुटीमण्डपमा ब्यापारीहरुलाई सहुलियत होस् भनेर एक महिना (चैत)को भाडा छुट दिएको उनी बताउँछन्। त्यो छुटले केही हदसम्म ब्यापारीहरुको घाउमा मह्लम लगाएको उनको भनाइ छ। दसैं आउन केही समय अझै बाँकी रहेको र दसैंको मुखमा केही ब्यापार-व्यवसाय बढ्ने हो कि भन्ने उनको भनाइ छ। पसलबाट अहिले भाडा तिर्नसक्ने अवस्था पनि छैन।

यस्तै बागबजार बसेर असन चोकमा कपडाको ब्यापार गर्दै आएका विजयप्रशाद शाह सिराहा जिल्लाबाट काठमाडौंमा ब्यापार गर्छन्। उनले असन चोकमा ब्यापार गर्न थालेको २२-२३ वर्ष भइसकेको छ। उनले पनि यस्तो सुनसान बजार देखेको यो साल नै हो। शाहको भोगाइ पनि अरु ब्यापारीको भन्दा फरक छैन।

उनी भन्छन्, ‘कोरोनाले काठमाडौंलाई त ध्वस्त नै बनायो नि। सरकारले फेरि लकडाउन गर्ने कुरा आइरहेको छ। तर अबचाहिँ लकडाउन गर्‍यो भने रोजीरोटी नै गुम्छ हाम्रो। मेरो विचारमा अब सरकारले लकडाउन गर्नुभन्दा पनि कसले सुरक्षाको उपायहरु अपनाएर काम गर्‍या छ, अनुगमन गरेर पालना नगर्नेलाई कारबाही गरेर लकडाउन नगरोस् भन्ने मेरो चाहना हो।’

लकडाउन र निषेधाज्ञाले मात्र समस्याको समाधान नहुने उनको बुझाइ छ। ‘अब दसैंको मुखमा भने केही ब्यापार बढ्ने आशामा छन् उनी।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट