सरकार लकडाउन भन्छ, लुज डाउन भन्छ
सरकार कवाज खेलाइरहेछ
सामान्यभन्दा बेग्लै किसिमले बाँच्न नजान्ने
सामान्यभन्दा सामान्य समस्याले जेलिएको
आम सर्वसाधारणका लागि
लाइफ डाउन गराउने एउटा सरकारी आदेश हो लकडाउन
जसको जिन्दगी कुनै पनि आदेशले फरक पार्दैन
जसको दिनचर्या कुनै पनि विपत्तिमा फेरिँदैन
जसले घुमाउन सक्छ हत्केलामा अक्षरहरु
जसको घरैमा उदाउने गर्छ चाहेको बेलामा जून या घाम
जसले चाहेको बखत रोक्न र चलाउन सक्छ समयको वेग
उसका लागि केवल एउटा समाचार हो लकडाउन
बिहानै आँखा मिच्दै तरकारी बारीमा जाने किसान गोडाहरु
तरकारी बेच्न बजार जान पाउँदैनन्
तर कुनै डिपार्टमेण्टल स्टोरले होम डेलिभरी गरिरहेको भिडियो भाइरल हुन्छ
भोकले
सरकारी आदेश पर्खेर बस्न मञ्जुर छैनन् यी गोडाहरु
घरमै बस्नू भनेर मान्न तयार छैनन् यी कर्मशील हातहरु
सरकार भने जबरजस्त कवाज खेलाइरहेछ
जिन्दगी दिनको काउण्टडाउनमा सीमित छ
हरेक दिन केही न केही गरिरहेछु म
केही न केही गरिरहेछन् छिमेकीहरु पनि
मैले देख्ने केही ‘केही न केही’ बताउँछु !
केटाकेटीहरु आधा हावा खुस्केको भकुण्डोमा लात्ती हानिरहेछन्
त्यतिनैखेर संसदमा गफ दिइरहेछन् मन्त्रीहरु
घरको झ्यालबाटै देखिने फुटपाथमा लडिरहेको छ
एउटा आम नागरिकको भोको लास
प्रधानमन्त्री जनताका नाममा सम्बोधन गर्दै भनिरहेछन्
‘भोकै कसैले मर्नुपर्दैन’
एक नवगर्भवती आफ्नो पेट छाम्दै झ्यालको पर्दा उघारेर
हेर्न खोज्छिन्
बाटोमा सरकार हिँड्छ कि आफ्नै आँखाअगाडि रमाउने मान्छे!
विहे गरेको रजतवर्ष काटिसकेको जोडी
मध्यरातमा सबैको निद्रा बिथोलिरहेछन्
उनीहरुको निद्रा र भोक खोसिदिएको छ लकडाउनको राजनीतिले
दुई सन्तानको माग र आवश्यकता
बा आमाका आँखामा क्रमशः ओइलाइरहेछन्
उनीहरुको प्रेम
गृहयुद्धमा अनुवाद हुँदै गएको छ
घरधनी घरभाडाको सपना देख्दै
झ्यालमा पर्दा लगाएर बत्ती निभाएरै निदाएको छ मस्तले
प्रेसले कुन्नि के हो रातदिन छापिरहेको छ
लाग्छ कि पैसा नै छापिरहेको होला
मानिसहरुको चहलपहल देखेर झुक्किन्छु
कतै म मात्र सुतिरहेको छु कि !
वा, म मात्रै व्युँझिरहेको छु !