चितवनमा स्क्रबटाइफस र डेङ्गीका बिरामी बढे-Sutra News

चितवनमा स्क्रबटाइफस र डेङ्गीका बिरामी बढे

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गीका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गी देखिएको छ।



अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो। सोही अवधिमा ३ सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेङ्गी देखिएको छ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार सबै रोगको तथ्याङ्क सङ्कलन भइरहेको छ। मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रबटाइफस हुने भरतपुर अस्पतालका डा. महेन्द्र अग्रहरिले जानकारी दिए।

यो रोग वर्षाको समयमा देखिन्छ। उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ। यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए।

यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गी हो। यसको सङ्क्रमणमा सुरूवाती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वँँरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्षण देखा पर्ने डा. अग्रहरिको भनाइ छ।

जिल्लाका शहरी क्षेत्रमा अहिले पानी भरिएको छ। त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका डा. भोजराज अधिकारीले बताए। उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा छ।

जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी बढ्ने गर्दछन्। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट