जाडो महिनामा कोरोना भाइरसको अर्को ‘वेभ’ सुरु हुनसक्छ : डा‍. शेरबहादुर पुन [अन्तर्वार्ता]-Sutra News

जाडो महिनामा कोरोना भाइरसको अर्को ‘वेभ’ सुरु हुनसक्छ : डा‍. शेरबहादुर पुन [अन्तर्वार्ता]

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- कोभिड-१९ बारे अनुसन्धानहरू जारी छन् । समयअनुसार भाइरसको प्रकृति पनि फरक–फरक पाइएकोे अनुसन्धानदाताहरूले बताउँदै आएका छन् । भाइरसको सुरुको अवस्थामा लक्षण नदेखिए पनि पछिल्लो समय नेपालमा लक्षण देखिएका संक्रमितहरू बढ्न थालेका छन् । तर, सरकारको संयन्त्र कोरोना रोकथाममा उति सबल देखिन्न ।



पहिलो पटक लकडाउन गरी पुनः निषेधाज्ञा गरिरहेको सरकार सक्रिय संक्रमित संख्या २५ हजार नाघे फेरि लकडाउन गर्ने स्थिति तयारीमा देखिन्छ । प्रस्तुत छ– कोरोना रोकथाममा सरकारको भूमिका र संक्रमणमाथि गरिएका अनुमान र अनुसन्धानबारे शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युटिका संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग सूत्रन्यूजका समर्पण श्रीले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमणबाट मुक्त हुनेहरूबाट पछिल्लो समय दुई कुरा सुनिन थालेका छन् । कोही ‘कोरोना केही होइन रहेछ, नआतिनुस्’ भनेर भन्छन् । कोही भने ‘यसलाई खेलाचीँ नगरौं’ भन्दै आफ्नो पीडादायी अनुभूति सुनाउँछन् । खासमा यो हाउगुजी मात्र हो कि साँच्चै जटिल प्रकृतिको महामारी हो ?

म केही उदाहरण दिन्छु । सवारी गुड्ने सडकमा कोही व्यक्ति बेवास्ता गरेर बीचबाट हिँड्यो भने दुर्घटना हुन्छ । जो दुर्घटनामा पर्‍यो, उसले त धेरै दुःख पायो नि ! बाटोमा हिँडेको छ, उसले ट्राफिक नियम पालना गरेर हिँड्यो भने दुर्घटना कम हुनसक्छ । तर गाडी हिँड्ने बाटो नै नदेखेको मान्छेले भन्छ– गाडी भनेको कस्तो हो, गाडी पनि हुन्छ ?

अब म कोरोनाको प्रसंगमा यसलाई व्याख्या गर्छु । केही प्रतिशत मानिस जोखिम अवस्थामा हुनुहुन्छ । उहाँ र उहाँको परिवारले यसलाई खतरा भन्छन् । उनीहरू मृत्युको मुखमा पुगेर आएका हुन्छन् । संक्रमित हुनेमा अधिकांश सामान्य रुघाखोकी र तातोपानी खाएर ठीक हुन्छन् । उनीहरूले भन्छन्, ‘जिस्कनुचाहिँ हुन्न यो रोगसँग । तर त्यस्तो खतरा पनि होइन है !’

यत्रो महिना भइसक्यो, बाहिर निस्कन पाएको छैन । ‘इरिटेसन’ भइसक्यो । ती व्यक्तिहरूले भनिरहेका छन् कि, ‘कोरोना वास्तवमा छँदै छैन । यो कसैले हावा पो फिँजाएको हो ।’ अर्को एउटा समूह छ, । त्यो समूह भन्छ, ‘कोरोना त लागेको थियो, शरीर दुख्यो, दुई चार दिन, योगा गरें, तातो पानी खाएँ ठीक भएँ । यो खासै केही रहनेछ ।’

अर्को व्यक्ति, जसलाई अक्सिजन धेरै चाहिएर भेन्टिलेटर पनि प्रयोग गर्नुपर्ने अवस्था छ । उहाँको परिवारले भन्छ– ‘कोरोना खतरानाका छ ।’ मचाहिँ के भन्छु भने, ‘कोरोना अहिले पनि छ । कोरोना लाग्दैमा मरिहहाल्ने हैन । कोरोनाले संक्रमण गर्ने ३ देखि ५ प्रतिशतमा हो ।’

त्यो तीन प्रतिशत को हो त ? थाहा छैन । त्यसैले सबैले होसियारी अपनाउनु पर्यो । यसलाई बेवास्ता गर्यो भने अरुलाई पनि दुःख दिन्छ, स्वयम् आफैंमा पनि लाग्नसक्छ । हामीले कोरोनालाई नहराएसम्म सतर्क रहनुपर्छ । यदि लागिहालेमा पनि तर्सिने हैन, संयमित हुनुपर्छ ।

६ महिनाअघि कोरोनाबारे गरिएका र अहिले गरिएका अनुमान मिल्दाजुल्दा छन् त ? के फरक पाइरहनु भएको छ ?
अहिले लक्षणहरूमा पनि धेरै परिवर्तन आइरहेको छ । जुनबेला चीनको संक्रमण वुहानमा देखियो, त्यतिबेला खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या हुनु, रुघाखोकी लाग्नु जस्ता समस्या देखिए कोरोना हुन्छ भनेर भनिन्थ्यो ।

युरोप र अमेरिका पुग्दा ‘यसले छाती मात्र हैन, अंगहरुलाई पनि समस्या ल्याउँदैछ, मस्तिष्कमा पनि समस्या पुर्‍याउँछ’ भनेर बेलायतमा भएको अनुसन्धानले पनि देखाएको छ । पहिल्यैदेखि मुटुको बिरामी हुनेको मुटु खराब हुने पनि अनुसन्धानले देखायो । रगतहरु जम्ने समस्या हुने रहेछ भन्ने कुरा पनि देखायो । यसका रुपहरु नयाँ र नौला–नौला देखिँदै आए ।

संसारमा यसका जे– जे रुप देखिए, नेपालमा आउँदा विपरीत देखियो । ९९ दशमलब ७ प्रतिशतमा लक्षण देखिएको थिएन । जुन पहिलो लकडाउन खोल्दाको डाटाले भनेको थियो । विस्तारै लक्षण भएका संक्रमित भेटिए भनेर भन्न थालियो ।

पछिल्लो समय कामठामाडौंमा देखिएका मध्ये ३५ प्रतिशतमा लक्षण देखिएको भन्ने कुरा आइरहेको छ । त्यो भनेको आधा भन्दा बढीलाई लक्षण देखिएको हो । यस बाहेक विभिन्न छाला लगायत अरु अंगमा पनि समस्या देखिन्छ भन्ने कुरा आएको छ । यसरी नयाँ नयाँ लक्षणहरू देखिँदै छन् । मुक्त भएपछि पनि मानिसहरूमा यसको असर देखिरहँदो रै’छ भन्ने कुरा पनि आएको छ ।

कोरोना नेगेटिभ आयो भनेर पठाउँदा पनि केही हप्तासम्म आलस्य देखिने रहेछ । लामो समयसम्म खोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या देखिने रहेछ । भाइरसबाट उत्पन्न भएका जति पनि लक्षण छन्, ती सबै देशमा फरक फरक छन् ।

लक्षणमा मात्र हैन, अहिले मानिसको सोचाइमा पनि फरकपना आएको छ । कुनै समय यस्तो थियो, जहाँ एउटा मात्र संक्रमण देखियो भने तहल्का मच्चिन्थ्यो । अहिले चाहिँ हजारौंमा देखिँदा पनि मान्छेहरू अटेसमटेस नगरी हिँडिरहेका छन् । हुलमुलमा जहाँ पनि हिँडिरहेका छन् । मास्क नलगाइकन पनि हिँड्नेहरू छन् । हुँदाहुँदा कति मानिसहरू ‘कोरोना नै छैन’ भन्न पनि थालेका छन् । मान्छेको सुरुको सोच र अहिलेको सोचमा मनोवैज्ञानिक प्रभाव समेत परेको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ’को कुरा गरौं । सुरुवाती अवस्थामा ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी देखिएको थियो । कसैलाई संक्रमण भयो भने उसको ‘ट्राभल हिस्ट्री’ खोजिन्थ्यो । तर, अहिले ‘ट्राभल हिस्ट्री’ खोज्न त परै जाओस्, संक्रमण पुष्टि भयो भन्न पनि धेरै दिन लगाइएको देखिन्छ । आफ्नै पिसिआर रिपोर्ट पाउन पनि कठिन छ । किन यस्तो भयो ?
मैले लकडाउन खोल्ने वित्तिकै भनेको थिएँ, ‘कन्ट्याक्ट ट्रेसिङ अब प्रभावकारी नहोला’ भनेर । लकडाउनभन्दा अघि सीमित मान्छे हिँड्थे, सीमित ठाउँमा जान्थे । र, ‘कन्ट्याक्ट ट्रेसिङ’ सजिलै गर्नसक्थे । त्यो बेला स्रोत–साधनले पनि धानेको थियो । तर लकडाउन खुलेसँगै धेरै संक्रिमत बढे । संक्रमित जति भयो, त्यसको अनुपातमा जनशक्ति बढी चाहिन्छ । पहिला एक जनाको मात्र हुँदा सजिलो थियो । अब थुप्रैलाई गर्न जनशक्ति अत्याधिक चाहिन्छ । फोनबाटै गर्न पनि दिनभरि मान्छे थप्दै जानुपर्यो । अब हामीसँग भएको जनशक्ति बढाउनुपर्यो । ‘कन्ट्याक्ट ट्रेसिङ’ मा समस्या देखिन्छ । संख्यात्मक रुपमा संक्रमित संख्या बढ्ने, तर त्यही अनुपातमा स्रोत र साधन नबढ्दा समस्या आएको हो ।

त्यसोभए समुदायमा संक्रमण भइसकेपछि कन्ट्याक्ट ट्रेसिङ सम्भव हुन्न ?
व्यापक रुपमा भएपछि सम्भावना अति न्यून हुन्छ । त्यो बेलामा बढी मात्रामा रोगको बारेमा सूचना दिँदा राम्रो हुन्छ होला ।

सक्रिय संक्रमित संख्या २५ हजारभन्दा माथि भएमा लकडाउन गर्ने भनेर स्वास्थ्य मन्त्रालयले सिफारिस गर्‍यो । यदि संक्रमित संख्या २५ हजार माथि नाघेमा फेरि लकडाउन गर्नुको विकल्प सरकारसँग नभएको हो रु यसअघि पनि लकडाउन गरिएकै हो । तर, संक्रमित संख्या बढेको बढ्यै गर्यो । अब पनि लकडाउन गर्नुको के औचित्य ?
लकडाउनलाई मैले एउटा विधिको रुपमा लिएको छु । यो सजिलो विधि रहेछ । एकदम अनियन्त्रित भएको अवस्थामा मानिसहरूको ‘मुभमेन्ट’लाई ठप्प गर्न सहयोग त हुनसक्छ । तर, कतिन्जेल भन्ने कुरा आउँछ । लकडाउन भन्दा पनि ठूलो कुराचाहिँ मानिसलाई कसरी मनाउने ? उसलाई यो आवश्यक छ भन्ने कुरा महसुस कसरी गराउने भन्नेमा म सधैं जोड दिन्छु ।

अहिले पनि जनस्वास्थ्यको मापदण्ड हामीले पालना गरेको छैनौं । त्यो पालना कसरी गर्ने भन्ने उपाय चाहियो । लकडाउन गर्दा मेनरोड त सुनसान देखिएला । तर भित्री वा गल्तीतिर चलहपहलमा कमी हुन्न ।

लकडाउन आफैंमा विकल्प हैन । त्यसले केही समय ‘रिल्याक्स’ गराए पनि त्यो गलत प्रभाव पर्नसक्छ । अब त कम भएको हो कि भन्ने देखिएला । तर निषेधाज्ञाले संक्रमितको संख्या घट्ने भन्दा पनि स्थिर अथवा बढेकै अवस्था थियो । त्यसकारण अब भविष्यमा गएर २५ हजार नाघेर लकडाउन गर्छु भन्नु भन्दा ‘त्यहाँ पुग्दा कति समय लाग्छ, पुग्नुअघि हामीले त्यो सँगसँगै मानिसहरूमा कसरी बोध गराउने’ भनेर महाअभियानमा लाग्नैपर्छ । कोरोना विरुद्धको प्रयासलाई महाअभियानको रुपमा लिइएन भने कठिन स्थिति आउनेछ ।

कोरोनाअघि र अहिलेको अवस्थामा जीवनयापन गर्ने तरिका फरक हुनुपर्छ । कोरोना भाइरसको गतिविधि अनुसार हामीले हाम्रो जीवनशैली परिवर्तन गर्नुपर्छ । हामीले सर्वसाधारणलाई बुझाउने प्रयत्न गरेकै छैनौं । हामीले एक अर्कालाई कसरी सम्झाउने भनेर बहस पनि गरेकै छैनौं ।

जापानकै कुरा गरौँ, त्यहाँ मास्क लगाएर सानो स्वरले बोल्ने चलन छ । नजिक जाने चलन छैन । हामीले पनि २-३ वटा जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्यो नि १ ‘न्यू नर्मल’लाई आत्मसाथ गर्नुपर्छ । थाइल्याण्डमा स्वयम्सेवीले घर–घरमा गएर जनचेतना फैलाएको पाएको छु । त्यसैले, कोरोना त्यहाँ महामारीको रुपमा फैलिएको छैन ।

‘लक्षण नदेखिएकाहरूले परीक्षण नगर्नू’ भनेर सरकारले भन्यो । यो त स्वाथ्य मापदण्ड प्रोटोकलको विपरित भएन र ?
परीक्षण गर्ने–नगर्ने भन्दा पनि सकेसम्म बाहिर नजाऔं । पुष्टि भइसकेको मान्छेबाट टाढै बसौं । कतिपय व्यक्तिले डराइ–डराइ धेरै पटक जाँच गरेका छन् । यो हप्ता परीक्षण गर्दा नेगेटिभ आयो, अर्को हप्ता पनि कता–कता सरेजस्तो लाग्यो भने उसले फेरि पनि गर्छ । फेरि नेगेटिभ आउँछ । फेरि पनि त्यस्तै आशंका हुन्छ । यो गर्ने क्रम कहिलेसम्म जान्छ, थाहा छैन । बरु हामीले मानिसलाई ‘कन्भिन्स’ गर्नुपर्छ जस्तो लाग्छ । दीर्घ रोगी छ, उसलाई लाग्ने सम्भावना भए दुई परीक्षण गर्नुपर्छ भन्नेमा दुई मत रहेन । जतिबेला मन लाग्यो, त्यतिबेला परीक्षण गर्दा त्यतिसारो राम्रो देखिन्न । सबैभन्दा राम्रो चाहिँ भिडमा नजाऔं । बच्ने कोशिस गरौं । आफैं बच्ने कोसिस गरेनौं भने समस्या देखिन्छ ।

पैसा हुनेहरूले पिसिआर परीक्षण प्राइभेट अस्पतालमा गर्छन् । निकै कम आय भएका सर्वसाधारणले प्राइभेटमा गएर परीक्षण गराउन सक्दैनन् । सरकारी ल्याबमा गराउन खोज्दा झनै संक्रमण फैलने सम्भावना मात्र देखियो नि ?
ल्याबमा पनि बाध्यता नै देखिएको छ । हजारौं हजारलाई यहाँको सीमित जनशक्तिले धान्दा पनि धान्दैन । टेकुको अस्पतालले नै देशभरिको थेग्न सक्दैन । सर्वसाधाराणले पनि त्यो समस्या भोगिरहेका छन् । यसलाई व्यवस्थापन सरकारले गरिदिए हुन्थ्यो भन्ने हो । तर, यो कुरामा व्यवस्थापन कमजोर नै देखिएको छ ।

पिसिआर रिपोर्ट फरक–फरक ल्याबमा गर्दा फरक–फरक रिपोर्ट आएको घटना बाहिरिएको थियो । यसरी फरक रिपोर्ट कसरी आए त ?
कहिले एक दुई दिन पछाडि जाँदा पनि फरकपन आउने हुनसक्छ । शरीरले भाइरससँग लडिरहेको हुन्छ । दुई चार घण्टामै फरक पर्नु ‘टेक्निकल इरर’ पनि होला । किनकि यसअघि एउटा अस्पतालमा सबैको परीक्षण गर्दा सबैको पोजेटिभ आएको थियो । त्यसबाहेक ‘स्याम्पल’ कसरी लिइन्छ, कसरी राख्छ, कसरी ‘प्रिपिरेसन’ गरिन्छ र कसरी ‘रन’ गर्छ भन्ने कुराले पनि अर्थ राख्छ ।

सामान्य अवस्थामा पनि अहिले संक्रमण बढिरहेको छ । केही जनस्वास्थ्यविद्का अनुसार साउन भदौ महिनामा लकडाउन गर्नुको अर्थ नै थिएन । लकडाउन गरियो, तर त्यसको प्रभाव देखिएन । अब दसैं नजिकिँदै छ । सबै जना दसैंमा चाहिँ स्थिति भयावह हुनसक्छ भन्छन् नि ?
काठमाडौंमा अधिकांश मानिस बाहिरबाट आएका छन् । दसैंमा उनीहरू सबै आ–आफ्ना घर जान्छन् । भाइरस मान्छेले नै लैजाने हुन् । आगामी हप्तामा मान्छेहरू विस्तारै बाहिर जान्छन् । अहिले गाउँमा खासै संक्रमित छैनन् । दसैंमा जानेहरुले गाउँमा सार्न सक्ने सम्भावना रहन्छ । गाउँघरमा पूजा आजामा धेरै भेला हुन्छन् । सतर्कता अपनाइएन भने सर्न सक्ने सम्भावना हुन्छ ।

काठमाडौंमा देखिरहेको संख्या अहिले त स्थिर छ । बरु दसैंताकातिर काठमाडौंमा चाहिँ संक्रमण कम हुन्छ भन्ने मेरो प्रक्षेपण छ । यसको प्रभाव गाउँमा भने अत्यधिक देखिन सक्छ ।

गर्मीमा भाइरस निष्क्रिय हुने हुँदा कम हुन्छ भन्ने आंकलन पनि थियो । तर, त्यस्तो भएन । अब जाडो आउँदैछ, चिसो पनि बढ्दै छ । अब यो अझै तीव्र गतिमा फैलने सम्भावना बढेको हो ?
भाइरसको बारेमा कसैलाई धेरै जानकारी छैन । जति विज्ञ बोलेका छन्, थोरै ज्ञानका आधारमा बोलेका छन् । त्यसकारण वुहानमा डिसेम्बरतिर भाइरस ‘आउटब्रेक’ भयो । त्यो बेलामा त्यहाँ पनि तापक्रम कम थियो रे भन्ने कुरा सुनेका थियौं ।

भाइरसहरू प्रायः जाडो महिनामा सक्रिय हुन्छन् । यस्तै अरु भाइरस छन्, जो बाह्रै महिना जतिबेला पनि सरिरहेका हुन्छन् । कोरोना चाहिँ खोकेर सर्ने भएकाले फ्लुसँग जोडेर हेरौं । यदि केही गरी फ्लुजस्तै यसको सक्रियता बढ्ने हो भने त्यो बेलामा भाइरस सक्रिय होला कि ?
तर हामीले एक वर्षको म्याप हेर्न पाएका छैनौं । जाडो महिनामा बढी सक्रिय होला कि, अर्को ‘वेभ’ आउन सक्ला कि भन्ने प्रक्षेपण छ । अमेरिका लगायत युरोपका वैज्ञानिक पनि आउने जाडो महिनाका लागि चिन्तित देखिन्छन् । यसले स्वास्थ्यमा ठूलै समस्या ल्याउँछ कि भनेर चिन्तित भएको देख्छु । तर यस्तै हुन्छ नै भनेर ठोकुवाचाहिँ गर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट