दार्चुला पुगेर गृहमन्त्रीले भने : सीमाको सुरक्षा स्थानीयवासीले अझ राम्रोसँग गर्न सक्छन्-Sutra News

दार्चुला पुगेर गृहमन्त्रीले भने : सीमाको सुरक्षा स्थानीयवासीले अझ राम्रोसँग गर्न सक्छन्

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन्।



भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रमा पर्ने दार्चुलाको छाङ्रु पुगेर फर्केका गृहमन्त्री थापाले सदरमुकाम खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उपरोक्त कुरा बताएका हुन्।

‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्,’ गृहमन्त्री थापाले भने, ‘सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्छ।’

गृहमन्त्री थापाले दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको समेत बताएका छन्। विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएकाले सो क्षेत्रलाई सरकारले विशेष महत्व दिएको पनि उल्लेख गरे। सो क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको पनि उनले बताए।

गृहमन्त्री थापाले सो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने पनि उल्लेख गरे। ‘व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइनेछ’ उनले भने, कर्मचारीलाई स्थायी रुपमा राख्ने गरी पठाइनेछ।’

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट