भारतमा बुद्धिजीवीहरूविरुद्ध किन यति धेरै आक्रोस ?-Sutra News

भारतमा बुद्धिजीवीहरूविरुद्ध किन यति धेरै आक्रोस ?

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

‘एक समय थियो, मूर्ख हुँदा खुब गाली खाइन्थ्यो । अहिले बुद्धिजीवी हुनु भनेको चाहिँ आफै गाली खानु हो । गाली पाउनुमा सीमित हुँदासम्म त ठीकै थियो । तर, समाजमा बुद्धिजीवीहरुविरुद्ध घृणा यतिसम्म बढेको छ कि, उनीहरुको अस्तित्व नै मेटाउने कोसिस सुरु भएको छ ।’



एक व्यङग्य लेखमा चर्चित लेखक राकेश कायस्थले उल्लेख गरेको उपरोक्त कुरा अहिले तीतो यथार्थ बनेको छ । अहिले समाजको एउटा ठूलो समूहका लागि बुद्धिजीवीहरु निन्दा र उपहासको पात्र बनेका छन् । बुद्धिजीवीहरु विरुद्ध अहिले ‘ग्याङ’ र ‘ग्याङ्स्टर’ जस्ता शब्दहरु प्रयोग गरिएका छन् । सामाजिक सञ्जालमा उनीहरुमाथि घृणाको वर्षा नै गरिएको छ । वास्तविक जीवनमा समेत उनीहरुको मुखमा कालोमासो पोतेर अपमान गरिएका घटना भइसकेका छन् । बुद्धिजीवीहरुलाई जेल पठाउनुपर्ने मागसमेत हुन थालेको छ । गोविन्द सानसारे र एमएम कलबुर्गी जस्ता बुद्धिजीवीहरुको त हत्या पनि भईसकेको छ ।

बुद्धिजीवीहरु समाजको चेतना मानिन्छन् । उनीहरुको अनुपस्थितिमा समाज अन्धो हुन्छ । ईतिहासलाई चिहाउने हो भने कैयौं ठूला सामाजिक–राजनीतिक बदलावको उत्प्रेरक र अगुवा बुद्धिजीवीहरु हुन् । आफ्नो एक लेखमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्कन्डेय काटजू लेख्छन्, ‘प्रत्येक महान क्रान्तिको नेतृत्व बुद्धिजीवीहरुले गरेका छन् । उदाहरणका लागि फ्रान्सेली क्रान्तिमा रेबेस्पियर र डैटन, अमेरिकी स्वतन्त्रता संग्राममा जेफरसन, जेम्स मैडिसन र जोन एडम्स र रुसी क्रान्तिमा लेनिन ।’
काटजुका अनुसार बुद्धिजीवीहरु सामाजिक ईञ्जिनियर त हुँदै हुन्, त्यसबाहेक जनमतलाई दिशा निर्देशित गर्ने र नयाँ विचारका स्रोत पनि हुन् । उनीहरुले ती आदर्शहरुको प्रचार गर्छन्, जसको निमित्त मानिसहरुले संघर्ष गर्नुपर्छ ।

भारतको सन्दर्भमा यो कुरालाई अझ सरल तरिकाले बुझ्न सकिन्छ । महात्मा गान्धी र जवाहरलाल नेहरुजस्ता कैयौं बुद्धिजीवीहरुले देशको स्वतन्त्रता संग्रामलाई नयाँ दिशा प्रदान गरेका थिए । स्वतन्त्रतापछि लोकतन्त्रको स्वरुप कस्तो हुने भन्ने यकिन गर्न पनि उनीहरुको भूमिका महत्वपूर्ण थियो । सामाजिक सुधारको विषयमा पनि उनीहरुले कैयौं असाधारण काम गरे । त्यही कारण उनीहरुले देश–समाजबाट निकै समर्थन र सम्मान पनि पाए ।

तर अहिले त्यस्तो के भयो, जसका कारण बुद्धिजीवीहरुको विरुद्धमा यति ठूलो घृणाको आँधी चलिरहेको छ ? अपमानको वर्षा बर्षिरहेको छ ?

यो प्रश्नको जवाफ खोज्ने हो भने, सबैभन्दा पहिले मानव स्वभावलाई बुझ्नु पर्ने हुन्छ । मनोवैज्ञानिकहरुका अनुसार धेरै जसो मानिसहरु आफूभन्दा तेज दिमाग भएका जोकोही व्यक्तिप्रति एक किसिमको इष्र्याभाव राख्दछन् । अर्थात् यस्ता मानिसहरु बुद्धिजीवीहरुप्रति घृणा भाव राख्छन्, जसले बुद्धिजीवीहरुका कारण ती मानिसहरु आफू अलिक तल छु भन्ने हिनताबोध महसुस गर्न पुगेका छन् । बुद्धिजीवीहरुप्रति घृणा फैलाएर त्यस्ता मानिसहरु आफ्नो हिनताबोधलाई कम गर्न खोज्छन् ।

तर, यस्तो घृणा अहिले भारतमा बुद्धिजीवीहरुको जीउ–ज्यानमाथि नै खतरा हुने गरी र सामाजिक रुपमा किन यति व्यापक र गहिरो बनेको छ ? यो प्रश्नको जवाफ खोज्ने हो भने यस्तो घृणा भोग्ने र घृणा फैलाउने दुबै पक्षलाई हेर्नुपर्ने हुन्छ ।

खासमा बुद्धिजीवीहरु विरुद्धको घृणाका लागि केही बाह्य कारण जिम्मेवार छन् भने केही भने आन्तरिक कारण पनि उत्तिकै छन् । अर्थात्, कतिपय हदसम्म बुद्धिजीवीहरु आफैपनि यो नियतिका लागि जिम्मेवार छन् ।

अब पहिलो कारणको चर्चा गरौँ ।
बुद्धिजीवीहरुको विरुद्धमा नियोजित र संगठित रुपमा अभियान नै चलाइएको छ । जस्तो कि, वरिष्ठ पत्रकार हृदयेश जोशी भन्छन्, ‘सामाजिक सञ्जालमा तपाईंले हेर्नुभयो भने आफ्नो जीवनको कैयौं दशक गहन अध्ययनमा लगाएका बुद्धिजीवीहरुले हरुले केही बोल्नासाथ–लेख्नासाथ उनीहरुबारे तत्कालै ट्रोल बनाउन सुरु भइहाल्छ । जे मन लाग्छ, उनीहरुविरुद्ध त्यही कुरा भनिन्छ । खोज्दै जाने हो भने यस्तो हर्कत गर्नेहरुको सिलसिला सत्तासँग जोडिएका व्यक्तिहरुसम्म जोडिन पुग्छ ।’

केही मानिसहरुका अनुसार, यो स्थिति यति गम्भीर हुनुको कारण विचार समाजका लागि अनावश्यक चीज हो भन्ने धारणाले गर्दा पनि हो । उदाहरणका लागि आज मानवता, व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक मूल्यमान्यता जस्ता भारतीय संस्कृतिमा रहेका समावेशी तत्वहरुसँग जोडिएको विचारलाई एउटा ठूलो समूहले खासै ध्यान दिँदैन । बरु यस्ता विषयमा विश्वास गर्ने, विचारको पक्षमा बोल्ने मानिसहरुलाई आफ्नो देश र समाजको दुश्मन वा मूर्ख भएको ठान्दछ त्यो समूह । हृदयेश जोशी भन्छन्, ‘आज यस्तो अवस्था सिर्जना भएको छ, जसमा अनपढ हुनु तपाईंको गहना र लेखपढ गर्नु वा समझदार हुनु चाहिँ तपाईंको मूर्खता हो ।’

यस प्रक्रिया अन्तर्गत ती तथ्यहरुलाई सधै शंकास्पद देखाउने कोशिष गरिन्छ, जसको आधार वा सन्दर्भमा बुद्धिजीवीहरुले आफ्नो विचार राखेका हुन्छन् । जस्तो कि, आफ्नो एक लेखमा वरिष्ठ साहित्यकार अशोक बाजपेयीले भनेका छन्, ‘कुनै बेला बुद्धिजीवीको काम सत्तासँग निडर भएर सत्य बोल्नु हो भनिएको थियो । तर अहिले सत्यलाई नै शंकास्पद विषय भएको बताउने कोशिस थालिएको छ ।’

यस्तो भएपछि सत्यमा आधारित विचार प्रवाह गर्ने र त्यसलाई अरुका सामुन्ने राख्ने बुद्धिजीवीहरु पनि शंस्कापद लाग्ने भइहाले । गान्धी, नेहरु, संविधान, धर्मका पुराना मान्यताहरुलाई नै शंकास्पद बनाइदिएपछि बुद्धिजीवीहरुको विचारलाई समावेश गर्नुपर्ने झण्झट पनि भएन नि ।

मर्चेन्टको भनाईको अर्थ के हो भने, बुद्धिजीवीहरुले धर्मको विषयमा भाजपामाथि त प्रश्न उठाए । तर अन्य पार्टीहरुले आफ्नो तुष्टिका लागि विभिन्न वर्गलाई जसरी प्रयोग गरेका छन्, त्यसबारेमा भने बुद्धिजीवीहरु चुपचाप भइदिए ।

ईतिहास हेर्दा के देखिन्छ भने, प्रश्न र विचारलाई खतरा देख्ने सत्ता समाजले सधैँ ‘नयाँ–नयाँ सत्य’ सिर्जना गर्ने कोशस गरिरहन्छ । र, त्यही ‘नयाँ सत्य’ को आधारमा बुद्धिजीवीहरुको यस्तो तस्वीर प्रस्तुत गरिन्छ, जहाँ उनीहरुलाई सही वा गलत भन्ने आधारमा होइन, कुनै एजेण्डाको आधारमा कुनै विचारधारा वा वर्गको समर्थन वा विरोध गरिरहेको स्वरुपमा प्रस्तुत गरिन्छ ।

बुद्धिजीवीहरुले चाहने हो भने यस्ता आरोपलाई पश्चिम बंगालका लोकप्रिय गायक तथा संगीतकार कबिर सुमनमार्फत् अस्वीकार गर्ने कोसिस गर्न सक्छन् । कुनै समय उनले राज्यको सत्ताधारी सीपीएमको बर्बरताको कडा विरोध गरेका थिए । पछि कबीर सुमन ममता बेनर्जीको तृणमूल कांग्रेसको सांसद बने । त्यसपछि पनि उनले मुख्यमन्त्री बेनर्जीको सत्ता विरुद्धमा मोर्चा नै खोलेका थिए ।

आफ्नो एक लेखमा वरिष्ठ पत्रकार प्रियदर्शन भन्छन्, ‘लेखक र संस्कृतिकर्मी सधैं प्रतिपक्षमा नै रहन्छन् ।’ उनका अनुसार, आपतकालमा फणिश्वरनाथ रेणु र शिवराम कारतले आफ्नो पद्म सम्मान फिर्ता गरेका थिए । रेणु, नागार्जुन, रघुवंश, हंसराज रहबर, गिरधर राठी, मुरली मनोहर प्रसाद सिंह जस्ता लेखक, कुमार प्रशान्त जस्ता गान्धीवादी र कुलदीप नैयर जस्ता पत्रकार सहित विभिन्न भाषाका थुप्रै प्राध्यापक र बुद्धिजीवीहरुलाई जेल हालिएको थियो । यो सिलसिला जारी नै छ । सन् २००९ मा नयाँदिल्लीकी मुख्यमन्त्री शीला दीक्षित सरकारको विरुद्धमा सात प्रतिष्ठित व्यक्तिहरुले आफ्नो नाममा घोषणा गरिएको पुरस्कार लिन अस्वीकार गरेका थिए ।’

केही समयअघि लेखकहरुले मुलुकमा बढिरहेको असहिष्णुतालाई कारण देखाएर आफूलाई दिएको पुरस्कार फिर्ता गर्दा होस् वा प्रधानमन्त्रीलाई चिट्ठी लेख्दा, केन्द्रमा सत्तासीन भाजपाद्वारा यसलाई यसरी प्रस्तुत गरियो कि, मानौं बुद्धिजीवीहरु सधैं भाजपाको विरुद्धमा थिए । त्यतिबेला तत्कालिन अर्थमन्त्री अरुण जेटलीले ‘बुद्धिजीवीहरु दशकौंदेखि नै भाजपाविरुद्ध लागिरहेको र २००२ पछि प्रधानमन्त्री नरेन्द्र मोदी उनीहरुको वैचारिक असहिष्णुताको सबैभन्दा बढी सिकार भएको’ आरोप नै लगाएका थिए ।
यो त भयो, एउटा पक्षको कुरा । तर, धेरै मानिसहरु मान्दछन् कि, अहिलेको अवस्थाको दोषी केही मात्रामा बुद्धिजीवीहरु आफै पनि हुन् । आफ्नो विद्वता प्रदर्शन गरेर केही बुद्धिजीवीहरु सामान्य अरुलाई हेप्न खोज्छन्, आफ्नो अगाडि उनीहरुलाई हीन देखाउने प्रयास खोज्छन् भन्ने कुरा पनि त्यत्तिकै सत्य हो ।

तर, कुरा यहीँ सकिदैन । आफ्नो एक आलेखमा शिव विश्वनाथनले लेखेका छन्, ‘उदार वामपन्थी’ हरुले भारतीय मध्यवर्गका मानिसहरुलाई उनीहरुको परम्परा र विश्वासको विषयमा पनि लज्जा महसुस गराएका छन् र निच देखाउने कोशिस गरेका छन् ।

उनीहरु धार्मिक हुनुलाई साम्प्रदायिक हुनु जत्तिकै हो भन्ने व्याख्या गरिदिन्छन् । सरकार निर्माण गरेपछि दक्षिणपन्थी नेताहरुले उनीहरुलाई त्यस्तो धार्मिक विश्वासबाट आफूलाई बाहिर निकाल्दै आफ्नो परम्परा र विश्वास सर्वश्रेष्ठ भएको विश्वास दिलाएका थिए । र, मन पनि जितेका थिए ।

बुद्धिजीवीहरुको समस्या यो पनि हो कि, उनीहरुले धेरै हदसम्म बौद्धिक बेईमानी गरेका छन् । यसले उनीहरुप्रति घृणा गर्ने मानिसहरुलाई हमला गर्ने मौका पनि दिएको छ । हृदयेश जोशीका भनाईमा, सन् २०१७ मा सर्वोच्च अदालतले १९८९–९० मा कश्मिरी पण्डितको हत्याको २ सय १५ घटनाको छानबिनको मागलाई खारेज गरेको थियो । तर, भारतका बुद्धिजीवीहरुले यस विषयमा कुनै विमर्श गरेनन् । धेरैलाई त यो विषयको बारेमा जानकारी पनि छैन होला ।

अब यसको तुलना २००२ को गुजरात दंगासँग गरौँ । सन् १९९० मा कश्मिरी पण्डितहरुलाई आफ्नो घरबाट निकालिएको थियो, जुन निकै दुःखद घटना थियो । हृदयेश जोशी भन्छन्, ‘मुस्लिम कट्टरपन्थीहरुले यस्तो नकाम गरेका थिए । मस्जिदहरुबाट उनीहरुलाई घरबाट निस्कन ऐलान गरिएको थियो । यो ईश्लामको एउटा भद्दा अनुहार थियो । तर, बुद्धिजीवीहरु यस्तो हर्कतविरुद्ध समेत बोल्न चाहेनन् ।’

बुद्धिजीवीहरुले इतिहास लेखनमा समेत पूर्ण ईमानदारी नअपनाएको भन्ने आरोप पनि लाग्छ । हृदयेश जोशी भन्छन्, ‘हामी मुस्लिम–दलित एकताको कुरा गर्छौं । जोगेन्द्रनाथ मण्डल पाकिस्तानको पहिलो कानुन र श्रम मन्त्री थिए । उनले विभाजनपछि पाकिस्तान जाने फैसला गरे । तर, त्यहाँ उनीमाथि यति नराम्रो व्यवहार भयो कि पाकिस्तानी शासनले देखाएको साम्प्रदायिक व्यवहारका कारण उनी व्यथित भएर भारत फर्कन बाध्य भए । तर, यस विषयमा धेरै बुद्धिजीवीहरु कुरै गर्न चाहदैनन् ।’

यस सन्दर्भमा हृदयेश थप्छन्, ‘डा. भीमराव अम्बेडकरले हिन्दुहरुविरुद्ध थुप्रै गाली गरे । यस विषयमा निकै कुरा गरिन्छ । तर, मुस्लिमहरुको बारेमा उनको के विचार थियो ? अम्बेडकरले उनीहरुलाई पनि गाली गरे ? किन यसको बारेमा कुनै बुद्धिजीवीले केही लेख्दैनन् ?’

बुद्धिजीवीप्रति पैदा भएको घृणा वास्तवमा लामो समयदेखि घटिरहेका घटनाको परिणाम भएको मान्छन् दिल्ली विश्वविद्यालयमा लामो समयसम्म अध्यापन गराएका र हाल अशोका विश्वविद्यालयका प्राध्यापक रहेका दिलीप सिमियन । एक समय नक्सल आन्दोलनसँग पनि जोडिएका थिए प्राध्यापक सिमियन । उनी भन्छन्, ‘वास्तवमा हरेक किसिमका बुद्धिजीवीहरुले पक्षपात गरेका छन् । पक्षपातको मतलब सही–गलत छुट्याउनु वा सत्य र झुठको फरक पत्ता लगाउनु मात्र होइन । सत्य र झुठबीचको फरक पत्ता लगाउने काम त हरेक बुद्धिजीवीले गर्नैपर्छ । तर, यदि सामुन्नेको व्यक्तिले बुद्धिजीवीले के बोल्छ भन्ने पहिले नै थाहा पाएको हुन्छ, बुद्धिजीवीहरुले के कुरालाई प्राथमिकता दिएका छन् र के कुरालाई नजरअन्दाज गरेका छन् भन्ने कुरा सामुन्नेको व्यक्तिले ख्याल गर्ने स्थिति सिर्जना भएको छ भने यसबाट बुद्धिजीवीप्रति प्रश्न त उठिहाल्छ नै ।

हृदयेश जोशीको कुरामा सहमति जनाउँदै प्राध्यापक सिमियन बुद्धिजीवीहरु जुन विचारधारा कुरा गर्छन्, त्यो उनीहरुको बिद्वता नभई मोह भएको बताउँछन् । किनकी कुनै पनि विचारधारा भनेको परिवर्तनशील कुरा हो, तर बुद्धिजीवीहरु त्यसैमा जड भएर बसिरहेका हुन्छन् । सिमियन भन्छन्, ‘सत्य कुरा कुनै पनि व्यक्ति वा समूहको सम्पत्ति हुन सक्दैन् । तर, सत्यलाई कसैको सम्पत्ति बनाउन खोजिन्छ भने त्यसको अर्थ हुन्छ, तपाईं कुनै कारणले सत्यको एक भाग लुकाईरहनु भएको छ । म पछिल्लो १५–२० वर्षदेखि कश्मिरी पण्डितहरुको कुरा गरिरहेको छु । मेरा केही साथीहरु मलाई प्रतिक्रियावादी शक्तिलाई साथ दिएको आरोप लगाउँछन् । हिन्दूमाथि गरिएको होस् वा मुस्लिममाथि, ज्यादति भनेको ज्यादति नै हो । तर, सबै खालका ज्यादतिबारे बुद्धिजीवीहरु बोलिरहेका हुँदैनन् ।’

भारतीय बुद्धिजीवीहरुको एउटा समूहको एउटा ठूलो वर्ग बुद्धिजीवी हुन आवश्यक पर्ने खुला दिमाग, दिमाग, निष्पक्षता र अन्य विचारकहरुप्रति सहिष्णुता जस्ता गुणबाट टाढा भइसकेको ठान्छन् केही प्रबुद्ध व्यक्तिहरु । एक टिप्पणीमा चर्चित लेखक मिन्हाज मर्चेन्टले भनेका छन्, ‘निश्चय नै, भाजपा उदारवादी पार्टी होईन । तर, विपक्ष उ भन्दा पनि कम उदारवादी छ । कांग्रेसलाई हेरौँ, जो उदारवादका हरेक सिद्धान्तलाई तुच्छ सिद्ध गर्ने गरी गान्धी परिवारप्रति वफादार हुने नक्कल गरिरहेको छ । तृणमूल कांग्रेस, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टी र राष्ट्रिय जनता दलले धर्म र जातिको प्रश्नलाई भाजपाको तुलनामा निकै निकृष्ठ रुपमा प्रयोग गरिरहेका छन् ।’

यस्तो हुँदा समेत भारतीय बुद्धिजीवीहरुले एक पक्षीय रुपमा (भाजपालाई) मात्रै आलोचना गरेको मर्चेन्टले उल्लेख गरेका छन् । मर्चेन्टको भनाईको अर्थ के हो भने, बुद्धिजीवीहरुले धर्मको विषयमा भाजपामाथि त प्रश्न उठाए । तर अन्य पार्टीहरुले आफ्नो तुष्टिका लागि विभिन्न वर्गलाई जसरी प्रयोग गरेका छन्, त्यसबारेमा भने बुद्धिजीवीहरु चुपचाप भइदिए ।

सरसर्ती हेर्दा मिन्हाज मर्चेन्टको कुरा सही नै लाग्छ । तर, योसँगै जोडिएको अर्को पक्ष पनि छ । हाम्रा बुद्धिजीवीहरुले अन्य राजनीतिक पार्टीले गरेका गलत कामलाई गलत नभनेका होइनन् । तर, धेरै जसो मुद्दामा तुलनात्मक रुपमा निकै हलुकासँग उनीहरुले अन्य पार्टीको आलोचना गरेका छन् । भाजपामाथि गम्भीर प्रश्न उठाउनुअघि आफूलाई निष्पक्ष देखाउनुपर्ने आवश्यकता हुन्छ । त्यसैले उनीहरुले अन्य दलको आलोचना गरेजस्तो गर्छन्, तर त्यो आलोचना निकै हलुका हुन्छ । ‘भाजपाको बारेमा धेरै बोलियो–लेखियो, अब थोरै कांग्रेस र अन्य पार्टीहरुका बारेमा पनि विमर्श गरौं’ भन्ने हिसावले पनि उनीहरुले आलोचना गरेका हुन सक्छन् ।

जानकारहरुका अनुसार, भारतमा अधिकांश बुद्धिजीवी वामपन्थी समूहका छन् र उनीहरु हिन्दुत्वको विचारधारालाई सबैभन्दा ठूलो खतरा ठान्दछन् । त्यसैले, पनि उनीहरुले भाजपाको आलोचना गरेका होलान् । मिन्हाज मर्चेन्ट लेख्छन्, ‘बुद्धिजीवीहरुको काम बहसको स्तर सम्बृद्ध बनाउनु हो, अर्को विचारधारासँग तुलना गरेर बराबर बनाउनु होईन ।’ मर्चेन्टका अनुसार, बहसको स्तरलाई सम्बृद्ध बाउन नसक्दा मानिसहरुले बुद्धिजीवीहरुलाई गम्भीर भएर हेर्न छाडेका होलान् ।

चर्चित राजनीतिक चिन्तक अभयकुमार दुबेले आफ्नो पछिल्लो पुस्तक ‘हिन्दुत्व बनाम ज्ञानकी राजनीति’ मा धर्मनिरपेक्षताको कुरा गर्ने मानिसहरु आज हिन्दु वा बहुसंख्यक विरोधी किन देखिन्छन् भन्दै यो विषयलाई स्पष्टसँग उल्लेख गरेका छन् । दुबे यसको कारण बताउँछन्, ‘अल्पसंख्यकहरुको अधिकार वा हिन्दु साम्प्रदायिकतामाथि मात्र ध्यान दिने गरे, अल्पसंख्यक साम्प्रदायिकतालाई बेवास्ता गरे,सँगसँगै धर्मनिरपेक्षताको विषयमा कांग्रेस पार्टीको दोहोरो व्यवहारलाई ध्यान दिएनन् । त्यसैले, यस्तो देखिएको हो ।’

दुबेका अनुसार, आफ्नो विचारधारा र विरासतको आडमा वामपन्थी बुद्धिजीवीहरुले संघ परिवार र त्यो परिवारसँग जोडिएको तथ्यलाई बेवास्ता गरिका थिए । किनभने यो तथ्य उनीहरुलाई मन पर्दैनथ्यो अर्थात् असुविधाजनक लाग्थ्यो । त्यसै सिलसिलामा उनीहरुले संघ र त्यससँग जोडिएका संगठनहरुलाई साम्प्रदायिकता, ब्राह्मणवादी र फासीवादी भएको दोषारोपण गरे । हो, हिन्दूवादीहरुले मुसलमानहरुलाई आफूभन्दा अलग माने होलान् । तर, हिन्दूवादी संगठनहरुले विस्तारै–विस्तारै निम्न समुदायहरुका मानिसहरुलाई पनि मुख्यधारामा प्रवेश दिने काम गरिरहेका छन् । तर, यो तथ्यलाई वामपन्थी बुद्धिजीवीहरुले बेवास्ता गरिरहेको देखिन्छ ।

हिन्दु समुदाय निकै शक्तिशाली रुपमा एकजुट हुन सक्यो र एक्लै सत्ता स्थापित गर्ने स्थितिमा पुग्यो । यस्तो होला भन्ने ती बुद्धिजीवीहरुले सोचेकै थिएनन् । उनीहरुलाई सधैं लागिरह्यो, ‘हाम्रो समाजमा यति धेरै विविधता छ, हाम्रो संस्कृतिमा यति धेरै गंगा–जमुना छन् कि, यही कारण हिन्दूवादीहरु कहिल्यै एकजुट हुन सक्दैनन् ।’ तर, हिन्दुहरु एकजुट भइदिए । यसले सावित गरिदियो, धेरैजसो हाम्रा बुद्धिजीवीहरु भुईंतहको सत्यताबाट कति टाढा रहेछन्। 

केही प्रबुद्ध मानिसहरुका अनुसार, हाम्रा बुद्धिजीवीहरु सत्यबाट त टाढा छन् नै । भारतमा उनीहरुप्रति बढिरहेको घृणाभावका कारण ती बुद्धिजीवीहरुको आफ्नै काम र विचारबीच पनि दुरी बढ्न थालेको छ, अर्थात् विचार र व्यवहारबीच तादात्म्यता छैन ।

‘समाजलाई सही नेतृत्व दिने सक्ने वर्ग भनेकै बुद्धिजीवी वर्ग हो । तर, समाज र मानिसहरुलाई नेतृत्व दिने हो भने वर्तमानमा बुद्धिजीवी वर्गले आफ्नो मानसिकतापनि बदल्न सक्नुपर्छ । यसो गर्न नसक्ने हो भने बुद्धिजीवीले समाजलाई डोर्याउनु भनेको अन्धोले अन्धोलाई बाटो देखाए सरह हुनेछ ।’

यो मुलुकले महात्मा गान्धीलाई पनि देखेको छ, जसको विचार र कर्ममा असाधारण एकरुपता थियो । बीबीसी हिन्दीमा आफ्नो एक लेखमा गान्धी दर्शनका अध्येता कुमार प्रशान्तले भनेका छन्, ‘महात्मा गान्धी ईतिहासका ती सिमित मानिसहरु मध्येका एक हुन्, जसले आफ्नो मन, वचन र कर्ममा एकरुपता कायम गरेका थिए । उनको भनाई र गराईबीच भ्रम वा अस्पष्टता सिर्जना हुने अवसर नै सिर्जना हुँदैनथ्यो । यही कारण भारतको जनमत सदा साथमा उभियो ।’

तर, आज बुद्धिजीवीहरुको एउटा ठूलो हिस्साको स्थिति यो भन्दा ठीक उल्टो देखिन्छ । जस्तो कि, एनडीटीवीसँग जोडिएका एक वरिष्ठ पत्रकार भन्छन्, ‘मैले यस्ता पनि बुद्धिजीवी देखेको छु, जो जल संरक्षणको बारेमा ठूला–ठूला लेख लेख्छन् । तर, हरेक दिन विहान आफ्नो गाडी धुँदा अत्याधिक मात्रामा पानीको प्रयोग गर्छन् । दिउसो चाहिँ उनीहरुलाई भारतको गरिवीको चिन्ताले सताउँछ । र, रात्रिकालिन पार्टीमा उनीहरुको छलफल आफ्नो विदेश यात्रा र त्यहाँ किनेको लुईस भिट्टोनको पर्समा केन्द्रित हुन्छ ।’

उनी अगाडि थप्छन्, ‘सन् २०१४ सम्म समाजका सामु बुद्धिजीवीहरुको एक खालको चमक थियो । किनकी त्यतिबेला मिडियाको ध्रुवीकरण अहिले जसरी भएको थिएन । बुद्धिजीवीका विचार मिडियामा छापिन्थे र उनीहरुले त्यसमा तागत पाउँथे । अहिले केही अपवादलाई छाड्ने हो भने मिडिया सत्ताको साथमा उभिएको देखिन्छ र यही कारण मिडियामा बुद्धिजीवीले स्थान कमै पाउन थालेका छन् । सत्तापक्षीय हुनुको नाताले बरु धेरै जसो मिडियाहरु सत्ताको विरोध गर्ने बुद्धिजीवीहरु विरुद्ध नै खनिन थालेका छन् ।’

भारतमा बुद्धिजीवीहरुको हैसियत ह्रास हुनुको एक कारण बितेको केही समयमा समाजमा हरेक किसिमको विचारको महत्व घट्नु पनि हो । जस्तो कि, अशोक बाजपेयी भन्छन्, ‘विचारको महत्व आफैमा गौण हुँदै गईरहेको छ । र, विचार निकै छिटो व्यक्तिगत धारणामा परिवर्तन हुन थालेको छ ।’

मिडियाको यति शक्तिशाली बनेको छ कि, कुनै पनि विचार मिडियामा आएन भने त्यो अधुरो हुने स्थिति सिर्जना भएको छ । मिडियामा विचारले स्थान पाउन एउटै मात्र मापदण्ड भए पुग्छ– कि पक्ष, कि विपक्ष ।

मार्कन्डेय काटजुका भनाईमा, आज एक जना असल मानिस बराबर १० जना नक्कली बुद्धिजीवी छन् । उनी भारतका अधिकांश पत्रकार र लेखकहरुलाई यो श्रेणीमा राख्छन् । कटाजु लेख्छन्, ‘यीमध्ये अधिकांश घमण्ड र दम्भले भरिएका छन्, उनीहरुमा विनयको अभाव छ र आफूले आफैंलाई निकै ठूलो सम्झिन्छन् । उनीहरुमा ऐतिहासिक प्रक्रिया वा सामाजिक विकासको नियमको बारेका गहिरो ज्ञान छैन । तर, उनीहरु समाजमा आफ्नो सतही किताबी ज्ञान र अधुरो बुझाई प्रस्तुत गरेर घुमिरहेका देखिन्छन् । उनीहरु केवल आफ्नो आरामको बारेमा मात्र चिन्तित छन् र जनताको मुद्दाप्रति उनीहरुलाई कुनै सरोकार छैन ।’

दुनियाँको हरेक समाज प्रश्नवाचकता, जिज्ञाशा, असहमति र बहुलताबाटै अगाडि बढछ । र, झन् सशक्त भईरहेको हुन्छ । बुद्धिजीवीहरुप्रतिको घृणाको कारण जे सुकै होस्, त्यसले समाजलाई पुर्याउने भनेको आखिरमा नोक्सानी हो । यस्तोमा प्रश्न उठछ, बुद्धिजीवीहरुले आफूले गुमाएको स्थान कसरी हासिल गर्ने ?

प्राध्यापक सिमियन बुद्धिजीवीले आत्ममन्थन गरेर आफ्नो गल्तीलाई स्वीकार्न ढिलो गर्न नहुने बताउँछन् । यसो गर्दामात्रै समाज र बुद्धिजीवीहरुबीचको खाडललाई पुर्न सकिने बताउँछन् उनी । मार्कन्डेय कटाजु चाहिँ यसो भन्छन्, ‘समाजलाई सही नेतृत्व दिने सक्ने वर्ग भनेकै बुद्धिजीवी वर्ग हो । तर, समाज र मानिसहरुलाई नेतृत्व दिने हो भने वर्तमानमा बुद्धिजीवी वर्गले आफ्नो मानसिकतापनि बदल्न सक्नुपर्छ । यसो गर्न नसक्ने हो भने बुद्धिजीवीले समाजलाई डोर्याउनु भनेको अन्धोले अन्धोलाई बाटो देखाए सरह हुनेछ ।’
(भारतीय अनलाइनपोर्टल सत्याग्रहबाट अमि प्रिन्सको अनुवाद)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट