विकका हत्यारालाई हदैसम्मको कारबाही गर्न सांसद संग्रौलाको माग-Sutra News

विकका हत्यारालाई हदैसम्मको कारबाही गर्न सांसद संग्रौलाको माग

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

काठमाडौं- कांग्रेस नेतृ डा.डिला संग्रौलाले बझाङको मष्टा गाउँपालिका-२, की १२ वर्षीया नाबालिका सम्झना विकका हत्यारालाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेकी छिन्।



आइतबार एक विज्ञप्ति जारी गर्दै सांसदसमेत रहेकी डा.संग्रौलाले भनिन्, ‘जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न म सरकारसँग माग गर्दछु।’

दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटना बढ्दै गएको बताउँदै उनले रुकुमपश्चिममा नवराज विकलगायतका ६ युवाको हत्यापछि मधेशमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटनाहरू भएको बताएकी छिन्।

विज्ञप्तिमा थप भनिएको छ, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन। दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका छन्।’

संविधानले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको उल्लेख गर्दै डा.संग्रौलाले कोरोना महामारी नियन्त्रण, रोग र भोकसँग जुधी रहेका जनतालाई राहत दिने कामसँगै देशमा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट