विधानविपरीतका निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ताको तयारीमा पौडेल समूह, सिटौला फकाउँदै रामचन्द्र-Sutra News

विधानविपरीतका निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ताको तयारीमा पौडेल समूह, सिटौला फकाउँदै रामचन्द्र

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

काठमाडौं- कांग्रेस संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर आज पार्टी मुख्यालय सानेपामा विरोधपत्र दर्ता गर्ने भएको छ।



वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोधपत्र आजै बुझाउने तयारी भए पनि समय भने यकिन भइनसकेको जानकारी दिए। आइतबार बिहान सूत्रन्युजसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘बुझाउने त भनिएको हो तर समय यकिन भइसकेको छैन। सार्थीहरूसँग सल्लाह हुँदै छ।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थनमा विरोधपत्र दर्ता गर्ने प्रयास भइरहे पनि सिटौलाको सहभागी नहुने बताउँछन् केन्द्रीय सदस्य जीवन परियार। सूत्रन्युजसँग भने, ‘उहाँहरू कृष्ण सिटौला) सहभागी हुनुहुन्न होला। अहिलेसम्म खबर गर्नुभएको छैन। तर, हामीले प्रयास भने गरेका छौं।’

परियारका अनुसार मुद्दाका विषयमा एकै ठाउँमा भएकाले मिलेरै जानुपर्छ भन्नेमा जोड छ। त्यहीअनुसार छलफल भइरहेको छ। नभए पदाधिकारी र सदस्यहरू गरी २७ जनाको हस्ताक्षरमा विरोध पत्र दर्ता हुन्छ।

विरोधपत्रमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पौडेल पक्षमा रहेका २७ जनाको हस्ताक्षर भइसकेको छ। पौडेल पक्षले विरोध पत्रमा नेतृत्वको कमजोरीदेखि विधानविपरीत गरेको निर्णयको घटनाक्रमसम्म समावेश गरेको छ।

विधानविपरीत गठन भएका केन्द्रीय विभागको खारेजी र क्रियाशील सदस्यतासम्बन्धी निर्णयहरू खारेज हुनुपर्ने माग विरोधपत्रमा उल्लेख गरिएको छ। पत्रमा भनिएको छ, ‘महाधिवेशनको पूर्वसन्ध्यामा संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली सांगठनिक अभियानका माध्यमबाट सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने तथा संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनुपर्ने हो।’

अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरण निम्तिनुका साथै पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायामा पर्ने काम भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट