चीन-भारत युद्धबीच नेपाल-चीन सीमानामा सीमाङ्‍कन-Sutra News

चीन-भारत युद्धबीच नेपाल-चीन सीमानामा सीमाङ्‍कन

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

शाही भूमिसुधार आयोगको काज टुङ्गिने बेलामा एक दिन विहान १० बजे गृह सचिवको कार्यालयभित्र पसेँ । सचिव त्यसबेला मन्त्रालयका सबै सहसचिव, उपसचिवहरुसित बसेर त्यस दिनभरिको कार्यक्रम बनाउँदै रहेछन् । मलाई देख्नेबित्तिकै ‘तपाईं पनि यसै मन्त्रालयको त हुनुहुन्छ नि, बस्नोस्’ भन्दै मलाई भने, ‘भूमिसुधार आयोगको काम सकिन लाग्यो क्यारे होइन ?



मैले भनेँ, ‘हो, महाराजधिराज सरकारका पाउमा अन्तिम प्रतिवेदन चढाउने काममात्रै बाँकी छ ।’

सचिवले ‘तपाईं कति महिना घुम्नु भयो ?’ भनेर सोध्दा मैले भनेँ, ‘पुगनपुग पाँच महिना बाहिर बसेर दाङ, प्युठान, सल्यान, पोखरा, लमजुङ, गोरखाको विस्तृत अध्ययन गरेर आएँ ।’

अनि गृहसचिवले भने, ‘तपाईं लायकको अर्को एउटा काम पनि आएको छ । जानु हुन्छ ?

मैले सोधेँ, ‘फेरि कता जानु पर्यो ?’

सचिवले भने, ‘हाम्रो तिब्बतसँगको सीमानामा स्थायी स्तम्भहरु खडा गर्ने काममा ।’

मैले भनेँ, ‘मर्जी भए किन जान्नथेँ र ?’

सचिव अति प्रसन्न भए । भने, ‘स्याबास ! साँच्चैको निजामती कर्मचारी भनेको तपाईं हुनहुुँदो रहेछ ।’

अनि भेला भएका सहसचिव, उपसचिवतिर हेरेर भने, ‘तपाईंहरु कसैलाई मैले यस्तो काममा खटाएको भए तपाईंहरु एउटा न एउटा अत्तो थापी पन्छिन खोज्नुहुन्थ्यो । दमनराजजी भन्नेबित्तिकै जान तयार हुनुभयो । लौ, दमनराजजी ! तपाईंलाई सबैभन्दा बढी समस्याको भएको ठाउँमा खटाउँछु । गएर फत्य गरेर आउनुहोस् है ! लौ, अहिले जानोस् । पाल, समीयाना, मेच, टेबिल समेत साथ लान परेकाले सय सवासय जति भरिया आवस्यक पर्छ होला । असारको बेला, भरिया पाउन गाह्रो होला । भरिया नाइकेसँग आजै कुरा गर्नोस् ।’

म अफिसबाट फर्किएर घरै नगई, बाङ्गेमुडा बस्ने भरिया नाइके साहुकहाँ गएँ र भरियाको बन्दोबस्न मिलाएँ । उनले ‘असारको बेलामा भरियाहरुले दिनको दश रुपियाँ माग्छन्’ होला भन्दा मैले मञ्जुर गरेँ र फर्किएँ । माथि भनिए अनुसार, २०१९ आषाढ १७ गते श्री ५ को दर्शन गरेर आषाढ २४ गते उत्तरी सीमातर्फ प्रस्थान गरेँ ।

मेरो सुरक्षाको लागि एक स्टेनगन बोकेको जमदार, थ्रीनटथ्रीको गोलीगठ्ठा सहितको एक हुद्दा प्युठ र तीसजना देबीदत्त गणका पल्टनिया जवान थिए । सीमास्तम्भको प्राविधिक कामको लागि गङ्गाराम श्रेष्ठ भन्ने एक अनुभवी ओभरसियर, ६ जना सर्वेयर र वीस जना अमीनहरु पनि खटिएका थिए । दामकामको लागि दक्षिणकालीको डाँडासम्म चढिसकेको नारायणबहादुर नामक २०–२२ वर्षको एउटा ठिटो खरिदार पनि खटिएकोमा लाख–सवा लाखको खर्च हुने काममा मद्दत साह्रै कम भएको अनुभव गरी आफ्नै छोरा क्यानुलाई अस्थायी तहलविलदार गरेर लगियो । काठमाडौँबाट जीतपुर फेदी नुवाकोट त्रिशुलीको बाटो गरी बीच ५–६ बास बसी रसुवागढी पुगियो । त्यहाँ एउटा खरिदार हाकिम भएको एउटा सानो भन्सार चौकीमात्र थियो ।

म रसुवामा पुगेको खबर पाउने बित्तिकै रसुवालाई केरुङसित जोडिएको पुलको बीचसम्म आई केरुङको चिनियाँ प्रशासकले मलाई भेट्न आए । भलाकुसरीको कुरा सकिएपछि उनले मलाई त्यसदिन रात्री भोजनको निमन्त्रणा पनि दिए ।

जमदार, खरदार, ओभरसियर समेत साथ लिई म रातको सात बजे केरुङ गएँ । पुलको बीचसम्म उताका प्रशासकले मलाई लिन आएर ठूलो सम्मान गरेर आफ्नो निवासमा लगे । हाम्रो सम्मानमा एउटा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भयो । भव्य प्रीतिभोज भयो । प्रीतिभोजको अन्त्यमा अध्यक्ष माओत्सेतुङको सुस्वास्थ्यका लागि मैले मदिरा पान गरेँ । प्रशासकले श्री ५ महेन्द्रको सुस्वास्थ्यका लागि मदिरा पान गरे । मैले प्रशासकको सुस्वास्थ्यका लागि मदिरा पान गरेँ । उनले मेरो सफलताको कामना गर्दै मदिरा पान गरे । यस्तै रमाइलो वातावरणमा प्रीतिभोजको कार्यक्रम सकियो । अनि बाहिर कोठामा बसेर हामीले मेरो भावी कार्यक्रम तयार गर्यौँ ।

भोलिपल्ट मैले सुन्दर केरुङ शहरको दृश्यावलोकन गरेँ । त्यहाँ मत्स्येन्द्रनाथ जस्तै अवलोकेश्वरको मन्दिर रहेछ । बजारमा अलिकति चारीको घिउ किनेर मन्दिरमा बत्ती चढाई पुजा–दर्शन गरेँ । त्यसपछि बजार घुमेँ । दश बीस वटा ठूला घर खाली देखेँ । ‘यी घरहरु किन यसरी खाली भएका’ भनी सोध्दा ‘त्यहाँका मानिसहरु चीनले तिब्बत कब्जा गरेपछि भागेर गई नेपाल, भारतमा शरण लिन पुगेका छन्, हामीले ती घरहरुको राम्ररी सम्भार गरेका छौँ, उनीहरु फर्केर आएपछि घरधनीलाई नै दिइनेछ’भन्ने उत्तर दिए ।

त्यहाँ दुई–तीन वटा गुम्बा रहेछन् । तिनमा लामाहरु बसी सनातन बमोजिम पुजा–आजा धर्म, ब्रत गरिरहेको पाएँ । दुईटा प्राथमिक र एउटा माध्यमिक स्कूल पनि देखेँ । प्राथमिक पाठशालामा सयजना केटाकेटीहरु र माध्यमिक पाठशालामा ५०–६० जना जति विद्यार्थीहरु पढिरहेको देखियो । शहर हेरिसकेर त्यहाँको कम्युनमा गएँ । कम्युनमा ५०–६० चिनियाँ परिवारको आवादी थियो । तिनीहरु तरकारी रोप्ने, कुखुरा भेडा पाल्ने, गलैँचा बुन्ने, उन्नत तरिकाले गहुँ–जौ उब्जाउने आदि काममा लागेको देखियो । चिनियाँहरु विहान बेलुका शारीरिक व्यायाम र राती खुला मैदानमा ल्हासा–पेकिङ आदि ठाउँमा विकास भएका सिनेमाहरु देखाउने गर्दा रहेछन् । दिउसो कार्यक्रम बमोजिम कम्युनमा नै भोजन भयो । भोजन गरी सिकिएपछि एक अर्काका राष्ट्राध्यक्षको सुस्वास्थ्यको कामना गरी मदिरा पान भयो ।

त्यसदिन साँझ भोटे भरियाहरु साथ लिएर एउटा चिनियाँ फौजी जवानले मैले लगेका सामानहरु उनीहरुले बोक्ने तरिकाले भारी कस्न लगाए । मैले काठमाडौँबाट १ सय ६ जना भरियालाई भारी बोकाएर लगेको थिएँ । त्यही सामान भोट फर्कका एक सय बीस जनाले बोक्ने गरी भारी बनाएछन् । मैले त्यसै राती काठमाडौँबाट ल्याएका भरियाहरुलाई उनीहरुले पाउने ज्याला दिई विदा दिएँ ।

अर्काे विहान सबेरै मेरो सुरक्षाको निम्ति साठी जना जति चिनियाँ जङ्गी जवान र अफिसरहरु आए । हुलै भरियाहरु आएर टपाटप भारी टिप्दै बोकेर हिँडेकोमा एक भारी बोक्न अपुग भएछ । एक जना जङ्गी जवानले हातको बन्दुक काँधमा तेस्र्याएर पिठ्यूँमा त्यो भारी बोक्यो । मैले हाम्रा जमदारलाई भनेँ, ‘देख्नुभयो जम्दार साहेब ! चिनियाँ सिपाहीहरु कस्ता हुँदा रहेछन् ? तपाईंहरुले भए के गर्नुहुन्थ्यो ?

जमदारले भने, ‘हाम्रो भए गाउँमा गएर अर्को मान्छे समातेर ल्याउँथ्यौँ ।’

हाम्रा निम्ति आठ वटा घोडा पनि ल्याइएका थिए । प्रस्थान गरेर दुई बास बीचमा बसी हामी तेस्रो बासमा झोङ्गा पुग्यौँ । झोङ्गामा पनि हाम्रो ठूलो स्वागत–सत्कार भयो ।

झोङ्गादेखि माथि हामी मोटरमा यात्रा गर्न थाल्यौँ । हाम्रा लागि चौध वटा ट्रकहरुको व्यवस्था गरिएको थियो । म बसेको ट्रकमा मसित स्टेनगन बोकेका जमदार बसेका थिए । पछिल्तिर दुईवटा मेसिनगन ट्रकको छतमा तेर्स्याएर चिनियाँ सिपाहीहरु बसेका हुन्थे । म लघुशंकाका लागि ट्रकबाट ओर्लेपनि मतिर पिठियुँ फर्काई बन्दुक सोझ्याएका चिनियाँ सिपाहीले मलाई घेर्दथे ।

कुनै कुनै ठाउँ त यस्तो उजाड थियो कि, दाउरा समेत बोकेर लैजानु पर्दथ्यो । त्यस्तो उजाड ठाउँमा पर एउटा सानो घारी देखियो । हेर्दाहेर्दै त्यस घारीमा एउटा जनावर मिलिक्कै भित्र पसे जस्तो लाग्यो । एक जना चिनियाँ सिपाहीले गोली चलाए । ‘चाङचुङ’ भन्ने आवाज गरेर दुई जना सिपाही गोली छाडिएको ठाउँतिर गए । फर्किंदा एउटा ६–७ महिनाको घोडाको बछेडो बोकेर ल्याए । ‘तपाईं पनि घोडाको मासु खानु हुन्छ ?’ भनेर मसित सोध्दा ‘किन नखानू’ भनेँ । उनीहरुले बफाएर एउटा फिलो र एक चौटा ह्याकुल्लो पठाएछन् । मलाई साँझमा रक्सी खान सितन भयो । मैले घोडाको मासु खाएको देखेर हाम्रा कुनै कुनै सिपाहीले बान्ता पनि गरे ।

एबं प्रकारले बीचमा बाह्रौँ रात बसेपछि तेह्रौँ बासमा हामी मानसरोवर पुग्यौँ । सडकको दायाँपट्टि ‘राक्षस दह’ भन्ने अर्काे विशाल सरोवर थियो । मानसरोवर पुग्नेबित्तिकै ममा धार्मिक संस्कार जागृति भयो । म नुहाउन भनेर लुगा फुकाल्न थालेँ । एकजना टोपीमा रातो फित्ता भएका चिनियाँ अफिसरले मेरो पाखुरामा समातेर आफ्नो भाषामा ‘के गर्न लागेको ?’ भनेर सोधे । मैले ‘नुहाउने’ भन्दा उनले ‘यहाँ नुहाउनु हुँदैन’ भन्ने भाव जनाउँदै मलाई पाखुरामा समातिराखे । हातका इशाराले के के भन्दै थिए, ‘खम्पा खम्पा’भनेको मात्र सुनेँ, केही बुझिएन ।

मैले पनि हातको इशाराले ‘तपाईंहरु यतिका हुनुहुन्छ, मलाई के को डर ?’ भन्ने भाव प्रकट गरेँ । तर, उनीहरुले मानेनन् र मलाई घडी देखाएर पाँच मिनेटको समय दिए । सरोवरको किनारमा गएर मुख धोएर सेचन गरी, सूर्यनारायणलाई एक अञ्जुली अर्घ चढाएँ । र, राष्ट्रपिता श्री ५ त्रिभुवन, मेरा माता पिताको नाम सम्झेर तर्पण दिएँ । ‘म त यी चिनियाँहरुको कैदी पो रहेछु’ भन्ने मनमा लागेर रिसले चुर भएको थिएँ ।

राति बासमा पुगेपछि त्यहाँका प्रशासकले मलाई स्वागत गरे, अनि दिनभरि गुम्सिएको रीस उनीमाथि खन्याएँ । उनीहरुले मलाई सम्झाउन खोजे, ‘यहाँ खम्पाहरुले ठूलो गढ बनाई राखेका छन् । कुनै दिन र कुनै पनि बेला यहाँ हिँसात्मक दङ्गा हुन सक्छ । त्यसैले, तपाईंलाई नुहाउन नदिएका हुन् । त्यहाँका कुतत्वहरु सखाप भएपछि हामी तपाईंलाई यहाँ स्वागत गर्छौं र तपाईं नुहाउनु होला । दिनभरि हाँसको शिकार खेलौँला ।’

तर, तिनीहरुले जति भनेपनि मेरो रीस मरेन ।

piller no11.jpg

एवं प्रकारले सोह्रौँ बासमा हाम्रो कार्यक्षेत्र खोजरनाथ पुग्यौँ । त्यहाँ चीन सरकारका तर्फबाट विदेश मन्त्रालयका सीमा सम्बन्धी कार्यालयका डाइरेक्टर लिन–चेन–याङ र प्रान्तीय प्रशासक ह्वाङ– लु भन्ने दुई जना बरिष्ठ अधिकारीले मेरो स्वागत गरे ।

त्यति बेलापनि मान सरोवरमा नुहाउन नपाएकोमा मेरो रीस हराएको थिएन । तर ती अधिकारीहरु कुरा गर्न खूब सिपालु थिए । उनीहरुले म रिसाएको कारण पनि थाहा पाइसकेका रहेछन् । भाँतिभाँतीका कुरा गरेर मेरो मनको आक्रोस निखारेर मात्रै आफ्ना शिविरमा गए ।

खोजरनाथ मन्दिरको आधा किलोमिटर जतिको फासलामा एउटा ठूलो चउर रहेछ । त्यसै चउरमा तारले घेरी मलाई क्याम्प खडा गर्न ठाउँ दिए । भित्र म सुत्नलाई एउटा पाल, सिपाहीहरुको लागि एउटा छुट्टै पाल र निजामती कर्मचारीहरुको निमित्त तेस्रो पाल गाडियो । एउटा समियाना पाल पनि खडा गरियो । चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गर्दा र स्वागत समारोह आदि गर्नुपर्दा समियानाको उपयोग गरियो ।

सत्रञ्जा हलको फलामे मेच–टेबिल पनि हाम्रा आर्मी हेडक्वार्टरबाट प्राप्त भएकाले समियानाभित्र काम चलाउ बैठक बन्यो । सायरको ढोकामा एउटा र म सुत्ने पालमा एउटा गरी क्याम्पमा दुइवटा चपट राखेर सुरक्षाको बन्दोबस्त गरियो । राती समय समयमा रमन घुम्ने गर्दा हाम्रो फौजी अनुशासन पनि चिनियाँहरुलाई देखाउन पाइयो ।

म पुगेको भोलिपल्ट चिनियाँहरुले आफ्नो शिविरमा एउटा स्वागत समारोहको आयोजना गरे । त्यसको जवाफमा मैले पनि भोलिपल्टै आफ्नो शिविरमा उनीहरुको सम्मानमा एउटा स्वागत समारोह गरेँ । प्रीतिभोजको अन्त्यमा एकले अर्काको राष्ट्राध्यक्षको सुस्वास्थ्यको कामना गरी मदिरा पान गर्ने कार्यक्रम पनि राखेँ । सीमा स्तम्भ खडा गर्ने कामका विषयमा हप्ताको एक पल्ट समीक्षा वार्ता गर्ने व्यवस्था भएकोमा एक वार्ता चिनियाँ तर्फ भए अर्को वार्ता हामीतर्फ हुने गरियो ।

मेरो खण्डमा १ देखि १८ नम्बर सम्मका जम्मा अठार वटा सीमा स्तम्भ खडा गर्नु थियो । चीन सरकारसँग भएको हाम्रो सीमा सन्धि बमोजिम पहाडमा पानीढलो सिद्धान्तको आधारमा र अन्य प्राकृतिक चिन्ह भएका स्थानमा त्यसै प्राकृतिक चिन्हलाई सीमा रेखा मान्ने एवं सनातन बमोजिम कुनै बादविवाद नभएका ठाउँमा सनातन बमोजिम गर्ने, बाँकी ठाउँमा मात्र उपयुक्त ठाउँ हेरी दुबै सरकारका सीमा प्रतिनिधिले मञ्जुर गरेको उपयुक्त ठाउँमा नयाँ सीमास्तम्भ खडा गरी सिद्धान्त अपनाइयो । कुनै ठाउँको सीमानामा नदी रहेछ भने नदीको मध्यधारलाई सीमारेखा मान्ने, त्यसैले नदीका उत्तर किनारामा ‘नेपाल’भनेर लेखिएको स्तम्भ खडा गर्ने, अरु ठाउँमा स्तम्भ खडा गर्दा स्तम्भको उत्तरी पाटामा ‘चीन’भन्ने शब्द अंकित गर्ने र दक्षिण पाटामा नेपाल शब्द अंकित गर्ने । यसरी देशका नाम लेख्दा देवनागरी र चिनियाँ दुबै लिपिमा लेख्ने व्यवस्था गरियो ।

आफ्नो कार्यक्षेत्रमा बसेर काममा व्यस्त रहेको बेलामा एक दिन चिनियाँ पल्टनियाँ जवानहरुले ६ जना डरलाग्दा खम्पाहरुलाई पाता फर्काएर मेरो पालमा ल्याइपुर्याए । तिनीहरुको आंग गोली लागेकाले रक्ताम्य थियो । प्रत्येकका काँधमा चक्का–चक्का भएको एक पटकमा सय राउण्डसम्म गोली जाने नयाँ–नयाँ स्वचालित बन्दूक थिए । तिनीहरुलाई मेरा अगाडि उभ्याएर भने– ‘यिनै सैतानहरुले गर्दा अस्ति तपाईंलाई मानसरोवरमा नुहाउने समय दिन नसकिएको हो । अब त्यो ठाउँ सफा भयो । तपाईं जहिले चाहनु हुन्छ, हामी तपाईंलाई मानसरोवर लैजान्छौँ ।’

मैले ‘काम कुरा छाडी मानसरोवर जान मिलेन, फर्कने बेलामा त्यहाँ स्नान गरिएला’ भनेँ ।

चिनियाँहरुको शिविर खोजरनाथको मूर्ति भएको घरको तेस्रो तलामा थियो । खोजरनाथको मूर्तिपनि एकदमै मत्स्यन्द्रनाथको जस्तै र रङ्ग पनि रातै थियो । मूर्तिको दायाँबायाँ एक एकमुरी घिउ अटाउने अजङ्गका पानस थिए । हप्ता–डेढ हप्ता बिराएर पचासौँ धनाढ्य भोटे भोटिनीहरु घोडा चढेर ती पानस भरी घिउ खत्याएर मानिसको नलिहाड समेत फुकेर धुमधामसँग पूजाआजा गर्दथे ।

त्यो प्रक्रिया देख्दा आश्चर्यचकित भए मैले उनीहरुसित सोधेँ, ‘तपाईंहरुले खाद्य पदार्थको यत्रो अपव्यय भएको कसरी टुलुटुलु हेरिरहन सक्नु भएको ?’

मिष्टर लिउले भने, ‘हेर्नोस्, तुलाधरजी, हामीले तिब्बत कब्जा गरेको सुरुसुरुमा ल्हासाबाट यस्ता प्रथाहरु निर्मूल पार्ने प्रयास गरेका हौँ । त्यसैले हामी लोकप्रिय हुन सकेनौँ र साम्राज्यवादीहरुले हाम्रा विरुद्ध प्रचार गर्ने मौका पनि पाए । जनभावना विरुद्ध केही गर्न हुन्न भन्ने शिक्षा त्यहीँबाट लियौँ । हामीले तिब्बतमा व्यापकरुपले शिक्षा विकासको काम थालेका छौँ । यी अशिक्षित रुढीवादी बुढाबुढीहरु भएसम्म या कार्यकलाप चल्दै रहन्छ । नयाँ पिँढी आएपछि सबै कुराको आफै सुधार हुन्छ ।’

मिस्टर लिउको कुरा सुन्दा मेरो चित्त बुझ्यो ।

खोजरनाथमा शिविर खडा गरी सीमास्तम्भ गाड्ने काममा व्यस्त रहेको बेलामा ‘तपाईंले चिनियाँ अधिकारीहरुसँग हाम्रा दुई देशका सीमा वारिपारि जनताको बीच अन्तरसीमा इन्धन संकलन, अन्तरसीमा वस्तु चरन र अन्तरसीमा बन्दव्यापारको स्थायी व्यवस्थाको लागि आवस्यक सन्धि मस्यौदा गरी हस्ताक्षर समेत गर्नुहोला । यससँग सम्बन्धित कागजपत्रहरु अबिलम्ब डाँकबाट पठाउनेछौँ । त्यस काममा तपाईंलाई चाहिदो सहयोग गर्न जुम्लाका सहायक बडाहाकिमलाई त्यहाँ खटाउन गृह मन्त्रालयलाई लेखिसकिएको छ’ भन्ने बेहोराको परराष्ट्र मन्त्रालयबाट आकाशवाणी सन्देश आयो । सहायक बडाहाकिम भनेको भर्खरै काठमाडौँबाट आएको ठिटो खरदार रहेछन् भन्ने थाहा पाएपछि ‘गृहमन्त्रालयबाट जस्तो आदेश आएपनि जुम्लाका सहायक बडा हाकिमलाई यहाँ खटाउने कष्ट गर्नुपर्दैन’ भनेर बडा हाकिमलाई लेखिपठाएँ ।

अब चिनियाँ अधिकारीहरुले ‘सन्धि वार्ता गरौँ’भनी ताकेता गर्न लागे । ‘काठमाडौँबाट कागजपत्र आइपुगेका छैनन्’ भन्दै मैले उनीहरुलाई अल्मल्याएँ । तीन हप्तासम्म कुर्दापनि काठमाडौँबाट कागजपत्र आएन । खाली हात चिनियाँ अधिकारी छेउ गई वार्ता चलाउन उचित नभएकाले जो बुझ्नुपर्ने परम्परा, चलन–चल्तीका कुराहरु यथार्थ बुझी मैले सन्धिका मस्यौदाहरु तयार पारेर ब्याग भरि कागज राखी सन्धिवार्ता गर्न चिनियाँ अधिकारीहरु कहाँ गएँ ।

यी सन्धिहरुको मुख्य उद्देश्य रहेछ, बन्द व्यापार, इन्धन संकलन तथा चरनका निहुँले एक राष्ट्रका नागारिक अर्को राष्ट्रमा आवागमन गर्ने प्रथालाई बन्द गरी त्यस्तै आवश्यक काम परेमा भ्रमण आदेश लिएर मात्र आवागमन गराउने व्यवस्था लागू गराउनु, हाम्रा हुम्ला, जुम्लाका मानिसलाई दुईचार पाथी नून र पाँच सात धार्नी उन खरीद गर्न ताक्लाकोटको बजारमा जाने, त्यस्तै तिब्बती जनतालाई दुई चार पाथी खाद्यान्न किन्न हुम्ला, जुम्लाको बजारमा आउने, हाम्रा हुम्ला र जुम्लाबासीलाई चैत र वैशाख याममा आफ्ना भेडाब्राखा मानसरोवरको फाँटमा चराउन लैजान र तिब्बती जनतालाई इन्धन बटुल्न पायक परेका हाम्रा जङ्गगलमा आउनु – यी जुगान्जुग चलिआएका प्रथा एकदम बन्द गरिदिँदा कुनै देशको सीमावर्ती जनताको दैनिक जीवनमा ठूलो व्यवधान आउने देखिएकोले चिनियाँ अधिकारीमात्र स्वतन्त्र सीमाना वारपार गर्ने प्रथालाई समाप्त गर्ने भन्ने कुरामा उनीहरुलाई सहमत गराएँ । सोही बमोजिम तीन वटा सन्धिपत्रमा हस्ताक्षर भए । मैले गरेर आएको सन्धिलाई हिजो आजसम्म पनि वर्षेनी नवीकरण गर्दै कायम राखिएको छ ।

म खोजरनाथ पुग्दा चिनियाँ अधिकारीहरुले एउटा मित्रराष्ट्रबाट आएका निजामती कर्मचारीलाई जुन शिष्टाचार देखाउन पर्ने हो, त्यति ममात्रै देखाएका थिए । त्यहाँ बसुञ्जेल निकटतम सम्पर्कमा रही काम गर्दा देशहित र आत्मसम्मानको सिद्धान्तमा अडिग रहेको र मित्र राष्ट्रप्रति आदर–सद्भावना देखाउनमा पनि मैले कृपणता नदेखाएकोले चिनियाँहरुले मलाई विशेष सम्मान गर्न थाले ।

उनीहरुको कार्यालय खोजरनाथको मन्दिर भवनको तेस्रो तलामा थियो । त्यहाँ जाँदा म अलि निसासिएको जस्तो हुन्थेँ । त्यस अवस्थामा मिस्टर लिउ हवङले मेरा काखी मुनि हात छिराएर उचालेर लैजान्थे । उनीहरुसँग कुरा गर्दा मैले ‘नेपाल एउटा सानो देश हो’ भन्ने गर्दथेँ । तर उनीहरु मसँग कहिल्यै सहमत हुँदैनथें । ‘संयुक्त राष्ट्रसंघमा नेपाल र अमेरिका दुबैको एक–एक मत (भोट) भएकाले नेपाललाई अमेरिका भन्दा सानो मान्न सकिदैन’ भनेर मलाई फुरुङ्ग पार्ने गर्दथे ।

एक दिन चीनियाँ अधिकारीहरुसँग कुरा गर्दा अब पन्ध्र दिनमा दिउसो बाह्र बजेदेखि तीन घण्टाको समय दिन सक्नु हुन्छ कि’ भनेर मसित सोधे । मैले ‘तीन घण्टा त के, चौबीसै घण्टा तपाईंहरुकै सेवामा समर्पित छु’ भनेँ ।

उनीहरुले भने, त्यसो त हो । तर फलाना तारिखमा दिउसोको तीन घण्टा हामीहरुका लागि सुरक्षित राखिदिनोस्’भने । मैले मन्जूर गरेँ । उनीहरुले भनेको दिनको सूर्योदय भयो । आठ बजेतिर एउटा सिपाही डौडेर आएर मलाई भन्यो, ‘आज त नाच देखाउने हो क्यार साहेब । चार–पाँच वटा ट्रक आएका छन् । तिनमा अप्सरा जस्ता चिनियाँ आइमाइहरु पनि आएका छन् ।’ मैले सिपाहीलाई ‘नचाहिने कुरा गर्न आउँछ’ भनेर हप्काएर पठाएँ ।

एक छिनपछि मैले चिनियाँ अधिकारीहरुको आँगनतिर हेरेको त बाहिरपट्टि आँगनमा धमाधम रङ्गमञ्च खडा गर्न लागेको देखेँ । मैले आत्तिएर जमदारलाई बोलाएँ । त्यहाँ फूल, पातीको के के पाइन्छ, राम्रा–राम्रा फूलका गुच्छा बनाउन सकिन्छ ?’ भनेर सोधेँ । जमदारले ‘घाँस त नउम्रिने ठाउँमा केको फूल, पाती पाइएला ?’ भने ।

यसो घोरिँदा एउटा अक्कल सम्झेँ । मसँग एउटा सानो सिसीभरि स्यानेल अत्तर थियो । औषधिको राता–सेता रुवा पनि मुठ्ठाका मुठुठा थिए । मैले सिन्कामा रुवाका ठूला ठूला सिकहरु सयवटा जति बनाएर तिनमा अत्तर छरिदिएँ ।

ठीक बाह्र बज्यो । एक जना चिनियाँ सिपाही हातमा एउटा ठूलो खाम लिएर शिविरमा आयो । मैले खाम खोलेर हेर्दा निमन्त्रणा पत्र रहेछ । त्यसमा चिनियाँ लिपीमा छापिएको थियो, ‘सम्मानीय दमनराज तुलाधरलाई मिस्टर लिउ–चेन–यानले ल्हासा अपेराले प्रस्तुत गरेको गीति नाटक हेर्न हार्दिक अनुरोध गरेको छ ।’

चिनियाँ सिपाहीलाई ‘म आउँछु’भनेर बिदा गरें । लुगा लगाएर एकजना सिपाहीलाई रुवाका सिकहरु बोकाएँ र अर्का दुई जना सिपाहीलाई मेरो घरमा पारेको रक्सी आठ बोतल बोकाई दलबल सहित चिनियाँ शिविरतिर लागेँ । हाम्रो चपटमा बस्ने सिपाहीका लागि अर्को मान्छेलाई पालोमा राखी ‘नाच हेर्न पठाउनू’भनी जमदारलाई अह्राएँ ।

नाच भयो । नाचमा भाग लिने कलाकारहरु भव्यरुपले सिंगारिएका युवक–युवतीहरु थिए । गीति नाटक पुरा दुइ घण्टाको थियो । नाटक सकिएपछि एकाधघण्टा चटकहरु र शारीरिक व्यायामहरु पनि प्रदर्शित भए । सबै कार्यक्रम सकिएपछि सबै कलाकारहरु स्टेजमा खडा भएर नेपाल– चीन मित्रताको सामुहिक गीत गए । त्यसबेला अन्तिम समयमा स्टेजमा प्रदर्शन गरिएका तीन चारजना कलाकारबाहेक अरु सबै युवक–युवतीले आ–आफ्ना दर्ज्यानी माफिक सैनिक पोशाक लगाइसकेका थिए । म स्टेजमा गएर प्रत्येक कलाकारलाई फूल गुच्छाको साटो अत्तर हालेको रुवाको सिक दिन थालेँ । कलाकारहरु जम्मा बयालीस जना रहेछन् । बयालीस जना कलाकारले मसित जोडजोडसँग हात मिलाउँदा मेरो हात बाउँडिएला जस्तो भएको थियो ।

त्यसपछि प्रीतिभोज चल्न थाल्यो । शुरुमा नै मैले अवसर सुहाउँदो सानो भाषण दिएर ‘ल्हासादेखि आएका कलाकारहरुलाई मेरा तर्फबाट कुनै स्वागत समारोह हुन नसकेकोमा क्षमा माग्दै मेरो घरमै पारिएको रक्सीबाट मदिरापानको आरम्भव गराउन पाए मेरो मनको क्लेश केही कम हुने थियो’भन्ने प्रस्ताव राखेँ । मेरा प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकार गरियो । प्रीतिभिोज ‘बुफे डिनर’तालको थियो । त्यसैले भोज खाँदै सबैसित आलोपालोसित मेलमिलाप, कुराकानी गर्न पाइयो ।

एउटा हट्टाकट्टा नवयुवक चिनियाँ कलाकारलाई एकातिर लगेर ‘तपाईसँग एउटा भित्री कुरा सोध्न चाहन्छु, मलाई नढाँटिकन भन्नोस् है’ भन्ने भूमिका बाँधेर भनेँ, ‘तपाईंहरु त्यति टाढादेखि कैयौँ रातदिन बिताएर यहाँ आउनु भयो । तपाईंहरुको समूहमा त्यस्ता त्यस्ता सुन्दरी पनि रहेछन्, तपाईंहरुको ‘नेगेटिभ र पोजिटिभ तार’जुध्दैन ?’ त्यस युवकले स्पष्ट जवाफ दियो, ‘अर्काका खेतमा कसले खनजोत गरोस् र बिऊ राखोस् ?’ यस्तो जवाफ पाएर मेरो यौन सम्बन्धि विचारधारामा आमूल परिवर्तन आयो ।

भाद्र महिनाको आधातिर हाम्रो काम सकिन लाग्यो । मैले लिउसित ‘हाम्रो जानेबेला भयो क्यार, तपाईंले मोटरहरु मगाई सक्नुभयो होला’ भनेर सोधेँ । लिउले ‘अस्ति नै ल्हासामा आकाशवाणी पठाई सकें’भन्ने जवाफ दिए ।

म ढुक्क भएँ । काम सकियो । मोटरहरु आइपुगेका छैनन् । आज आउला र भोलि आउलान् भन्दाभन्दै हप्तौँ बिते, मोटरको अत्तोपत्तो छैन । हुँदाहुँदा दशैँ पनि नजिक आइपुग्न लाग्यो । मेरो मन साह्रै हडबढाउन थाल्यो । बेकाममा जहान परिवारबाट दशैमा छुट्टिनु पर्ने जस्तो देखिँदा म साह्रै चिन्तित भएँ । त्यसैले, मिस्टर लिउसित भनेँ, ‘अब त काम सकियो, मलाई बिदा दिनोस्, म भारतको बाटो गरेर काठमाडौँ जान्छु । मेरो खर–खजाना भएको जङ्गी जवानहरुलाई भारतीय भूमिबाट लैजान मिल्दैन, त्यसैले मैले तिनीहरुलाई जुम्ला भएर काठमाडौं आउन मिलाएको छु ।’

लिउले भने, ‘तपाईंजस्तो ओहोदाको मान्छे यहाँ बस्नुपर्दा काम कुराको कति हर्जा भयो होला । फेरि तपाईंहरुको ठूलो चाड पनि आउन लाग्यो क्यार होइन ? मोटर आउन त अझै एक दुइ हप्ता लाग्ने ल्हासाको खबर छ । टाढाको काम भयो, हामी साह्रै लाचार छौँ ।’

‘त्यसो भए म भोलि नै जान्छु, बिदा दिनोस्’ भनेर मैले भनेँ । लिउले भने, ‘एक दुई दिन पर्खिदिनोस् । आज भोलि यस भेकमा हिउँ पर्न सम्भव छ भन्ने पेकिङबाट खबर आएको छ ।’

उनले जति जोड गरेपनि म त्यहाँ अलमलिएर बस्न मानिनँ । भोलिपल्ट बिहान सबेरै म प्रस्थान गर्न लागेँ । मेरो सायर बाहिरको ढोकामा अन्दाजी सय–सवासय जना चिनियाँ सिपाहीहरु दुई पंक्ति बाँधेर खडा थिए । म ढोकाबाट निस्कने बित्तिकै तिनका कमाण्डरले चिनियाँ भाषामा दिएको आदेश बमोजिम दुईतिरका सिपाहीहरुका बन्दुकका संगीत जोडिएर एउटा गुम्बज तयार भयो । म त्यसै संगीनको गुम्बज वा सुरुङ्गबाट दायाँबायाँ दुबैतिरका जङ्गी जवानहरुसँग आँखा जुधाएर सलाम गर्दै बाहिर निस्किएँ । मिष्टर लिउ र मिस्टर ह्वाङ्ग ताक्लाकोट भन्दा पर थारी पहाडको फेदीसम्म मलाई पुुर्याउन आए । फेदी पुगेपछि ती दुबै अधिकारीसित स्नेहपूर्वक छाती मिलाएर म बिदा भएँ । चिनियाँ मित्रहरुसँग छुट्टिँदा बिहानको ११ बजेको थियो ।

साथमा पेस्तोल भिरेका हवल्दार, एक जना ओभरसियर, एकजना खरदार ठिटा र नगद भएको बाकस बोक्ने भरिया एउटा मात्र थिए । बाँकी दश जना भरिया पछिपछि थिए । यारीको उकालो लाग्यौँ । एक बजेतिर आकाश अँध्यारो भएर आयो । अलि–अलि हिउँ पर्न थाल्यो । ओभरसियरसित ‘ए गङ्गाराम, क्या हो हिउँ त पर्यो नि !’ भनेर सोधें । ओभरसियरले ‘अब अढाई कोष जति हिँडेपछि माथि टुप्पामा पुगिन्छ, हाम्रो सीमाना त्यहीँ हो, त्यहाँबाट अलिकति झरेपछि हाम्रो सरदभित्रको टिङ्कर गाउँमा पुगिहालिन्छ नि !’ भने ।

मैले ‘लौ बा! तिमीहरुकै भरमा छु भनेर हिँड्न लागें । दुई बजेपछि त अन्धाधुन्ध हिउँ पर्यो । गोरेटो देखिन छाड्यो । कतै–कतै भेडाले मुतेको पहेंलो दाग देखेर गोरेटा अन्दाज गरी हिँड्नु प¥यो । साँझ ६ बज्दा मात्र हामी यारीको टुप्पामा पुग्यौँ । मनमा ज्यादै पीर परेकाले थकाईको अनुभव कत्ति पनि भएन । ‘लौ, अब ओरालो आयो, छिटो जाऊँ’ भनेर हामी दौडन थाल्यौँ । हिउँ पर्दै थियो, हामी भाग्दै थियौँ । पछिल्तिरका भरिया आईपुगे कि भनेर हेर्छु त, एउटा मुसो पनि देखिएन ।

रातको आठ बज्यो, एउटा सानो खोलो कलकलाउँदै बगेको आवाज सुनियो । ‘खोलो भएपछि नजिकैमा गाउँ अवस्य हुनुपर्छ’ भनेर हामी चार जना स्वर मिलाएर करायौं, ‘ए गाउँले दाई हो, हामी अलपत्र प¥यौं, लौन गुहार !’

हिउँ परेको बेलामा आवाज जहाँ निस्कियो, त्यहीँको त्यहीँ रहँदो रहेछ । हामीले हरेस खायौँ । यताउति हेर्यौँ । बाह्र–तेह्र फुट अग्लो एउटा ठूलो चट्टान (ढुंगो) देखियो । चट्टानमाथि पुग्न सकिन्छ कि भनी हेर्न लगाएँ । जेनतेन चढ्न सकिने रहेछ ।

‘आज बास यहीँ भयो, बरफ पर्दा–पर्दा पनि छोपियो भने भईहाल्यो, नत्र चट्टानमा उक्लिएर भएपनि ज्यान जोगाउँला’ भनेर चट्टानमुनि बस्यौं । ओठमुख सुके । हवल्दारलाई खोलाबाट पानी ल्याउन भनेँ । ‘भाँडो छैन, के मा ल्याऊँ’ भन्दा ‘टोपमा ल्याऊ’ भनेँ । पसिनाले भिजेको टोपको पानी पनि अमृततुल्य मानेर पिएँ । एक छिनपछि फेरि तिर्खा लाग्यो । फेरि पानी लिन पठाउँदा खोलो पनि जमिसकेको रहेछ । खोलाको हिउँ मगाएर ‘कर्यामकर्याम्’चपाउँदा पनि केही स्वाद आएन, तिर्खा कत्ति पनि मेटिएन । लामो सुस्केरा हालेर काँघको स्वेटर ओछ्याएर त्यसै माथि थ्याच्च बसें । घरका जहान बच्चा सम्झिएँ, मन साह्रै कल्पिएर आयो । अनि राजा महेन्द्रलाई सम्झिएँ ।

मनमा लाग्यो, ओहो, म आज यहाँ मरेँ भने चिनियाँ राजदूत राजाकहाँ गएर ‘हिउँ पर्ने सम्भावना छ भनेर हाम्रा मानिसले भन्दाभन्दै पनि दमनराजले शिविर छाडेका हुन्’ भनेर जाहेर गर्नेछन्, राजाबाट मेरी विधवा स्वास्नी र टुहुरा छोराछोरीमाथि जस्तोसुकै करुणा भएपनि ‘दमनराज त उल्लु नै रहेछ’ भन्ने एकपटक त अवस्य हुकुम हुन्छ भन्ने पीरले आँखाबाट आँसुका धारा बगाएँ ।

बाकस खोलेर हेरेँ । सिसी राम्रो भएर मात्रै ल्याएको चिनियाँ ब्रान्डी दुई बोतल र एउटा सानो टिनमा बिस्कुट रहेछ । स्वाद न व्यादको चिनियाँ ब्राण्डी एकै सासमा रित्याएँ । दुई चारवटा विस्कुट चपाएँ । एक बोत्तल ब्रान्डी र बाँकी बिस्कुट साथीहरुलाई बाँडेर खाओ भनें ।

रातको दशबजेतिर हिउँ थामियो । भनेँ, ‘लौ, साथी हो हिउँ पर्न छाड्यो, अब बतास नचलोस् भनेर परमेश्वरसँग प्रार्थना गरौँ, चिसो बतास चल्यो भने त हामी खत्तम !’

हवल्दारले ‘त्यत्रो काम फत्ते गरेर आएकाले हाम्रो ज्यान त्यसै कहाँ जाला र ?’ भनेर मलाई सम्झाए । हामीले टुक्रुक्क बसी, घुँडा जोडी रात काट्ने आँट गर्यौँ । मेरा ती साथीहरुका मनमा पीर नभएर हो कि उनीहरु त्यसरी बसेर पनि घुर्न थाले । मलाई चाहिँ सिङ्गै बोतल ब्राण्डी रित्याएर पनि आँखामा नीद आएन । धन्य परमेश्वर ! बतास भने अलिअलि पनि आएन ।

बिहान पाँच बज्यो । पर कता–कता कुखुरा बासेको आवाज आयो । ‘लौ साथी हो, बिहान भयो, ज्यान बच्यो, अब यहाँबाट भागौँ’भनेँ र दौडादौड गरेर हिँड्न थाल्यौँ ।

दुई घण्टा ओर्लिएपछि हिउँका टाटापाटा परेको मटैलो जमिन भेटियो । ‘जय धरती माता’ भनेर घुँडा टेकी जमीनलाई ढोगेँ । त्यहाँबाट विस्तारै–विस्तारै हिँड्दा दिउँसो बाह्र बजे टिङ्करलिपु भन्ने हाम्रो पट्टिको पहिलो गाउँ भेट्टायौँ ।

भरियाहरु आउलान् भनेर एक घण्टा जति कुर्दा पनि आइनपुगेकाले मलाई साह्रै चिन्ता लाग्यो । गाउँका जिम्मावाला मुखियालाई डाकेर ‘मेरो दश जना भरियाहरू माथि हिउँमा अलपत्र परेका छन्, उनीहरूलाई खोजेर ल्याउनु पर्यो’भन्दा आठ दशजना गाउँलेहरूलाई तुरुन्त हाम्रा भरिया खोज्न पठाए । अपरान्ह चार बजेतिर भरिया आइपुगे । हिउँको टकले गर्दा सबै अन्धा भइसकेका रहेछन् । ती दशै जनाले मेरो गोडामा परेर ‘मालिक हिउँमा टकले हाम्रा आँखा खायो, हाम्रो जिन्दगी बरबाद भयो’भनेर रून थाले ।

तिनीहरू अघिल्लो राती यारीको टुप्पोमा बास बसेका थिए । विहान उठेर भात पकाएर खाई दश बजेतिर मात्र बाटो लागेकाले त्यो गति भएको रहेछ । गाउँलेहरूले ‘एक दुई दिन अँध्यारोमा बस्यो भने आँखा ठीक हुन्छ’भने । मैले तुरुन्त बाकस खोलेर जनही तीन सयका दरले बकस दिएँ । मुखियालाई डाकेर ‘बाह्र–पन्ध्र वटा कुखुरा किनेर ल्याऊ, नभए एउटा मोटो खसी ल्याइदेऊ’ भनेर रूपैयाँ दिएर पठाएँ । भरियाहरू देखेपछि मात्र मलाई हिजो रातिदेखि भोकै बसेको सम्झना आयो । दुई–चारवटा फुल (अण्डा) पकाउन लगाएर फुल, चिउरा र बजारिया रक्सी खाएर पेटपूजा गरेँ ।

टिङ्रलिपु भनेको पचास–साठी घर भएको एउटा सानो गाउँ रहेछ । घरहरू ढुङ्गाका र छाना पनि ढुङ्गाकै, समथर भएको । लोग्ने मानिस दिनभर तास खेलेर र आइमाईहरू बिहान उज्यालो भएदेखि बेलुकासम्म गलैँचा बुनेर बस्ने ! भाषा अल्मोडा–नैनीतालको जस्तो सुनिने ! लोग्ने मानिसको पैह्रन ढीला पाइजामा र जुहारीकोट, टोपी पनि अलमोडिया खालको ! स्वास्नी मानिसहरू मखमली चोलो र गउनको फरिया लगाएका ! लोग्ने मानिसहरू साह्रै निरशजस्ता, स्वास्नी मान्छे भने हँसिला–रसिला !

त्यहाँ एउटा सानो प्राथमिक स्कूल पनि थियो । त्यसमा पचास–साठी जना केटाकेटी पढ्दथे । मास्टर भने पिथौडागढ निवासी एक जना भारतीय भाई थिए । राती स्कूलका केटाकेटीहरू र गाउँका आइमाई मिलेर जिम्मावालको अनुरोधमा एउटा लामो सांस्कृतिक कार्यक्रम भयो ।

मैले केटाकेटीहरूलाई मिठाई खान भनेर तीस रूपियाँ र स्कूललाई चन्दा भनेर एक सय रूपियाँ दिएँ । दुई तीन दिन बडो मुस्किलले दिन काटी भरियाको आँखा ठीक भएपछि चौँथो दिन त्यहाँबाट प्रस्थान गर्यौँ ।

जाँदा बाटोमा छाङरु गाउँ पर्थ्यो । छाङरु गाउँ मूलबाटोबाट यता आउँदा दायाँपट्टिको डाँडोमा थियो । डाँडो उक्लिन अल्छी लागेर मूल बाटोबाट हामी सरासर अघि बढ्दै थियौँ । डाँडामा २०–२५ जना केटाकेटी बसेर ‘नेपालबाट आउने साहेब जिन्दावाद !’ भनेर कराउन लागे । म हात हल्लाएर अगाडि बढ्दै थिएँ । त्यत्तिकैमा एउटी भद्र महिलाले ‘हाम्रो गाउँमा नपसे मुर्दावाद’ भनाउन लगाई । म विवश भएर डाँडो उक्लिएँ । डाँडो स्वयम्भू जत्ति अग्लो थियो ।

Humla Painting1.jpg

गाउँभित्र पस्दा सफासुग्घर, फराकिलो अति रमणीय देखियो । गाउँको आवादी टिङ्करलिपु भन्दा अलि थोरै थियो । मानिसहरूको पहिरन पनि टिङ्करलिपुको जस्तो, तर धेरै सफा ! यहाँका पुरुषहरू पनि स्वास्नी मानिस जस्तै हँसिला र रसिला देखिन्थे । तास खेल्ने पेशाका रूपमा होइन, मनोरञ्जनका लागि । त्यहाँका आइमाई पनि गलैँचा बुन्न व्यस्त देखिन्थे ।

त्यहाँ प्राथमिक स्कूल बाहेक एउटा महिला संगठन पनि सक्रिय रहेछ । म पुग्ने बित्तिकै महिला संगठनको कार्यालयमा लगेर भाषण गर्न लगाए । भाषणको सिलसिलामा ‘यहाँका महिलाहरू काठमाडौँका महिलाहरू भन्दा कम गतिशील रहेनछन्, त्यसैले यस गाउँको भविष्य अति सुन्दर छ’ भन्दा खुव ताली बजाएर मेरो वक्तव्यको स्वागत भयो । हामीहरूलाई महिला संगठनको अध्यक्षले आफ्नै घरमा लगी स्वागत–सत्कार गरी कुखुरा काटी भोजभतेर गराइन् । मलाई एक डबका रक्सी पनि ख्वाइन् ।

राती स्कूलका केटाकेटीहरूले एउटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । मैले यहाँ पनि टिङ्करलिपुमा जस्तै स्कूलका केटाकेटीलाई रोटी खान भनी तीस रूपियाँ, स्कूललाई सय रूपियाँ र महिला संगठनलाई सय रूपियाँ चन्दा दिएँ ।

भोलिपल्ट बिहान सबेरै हिँड्दा एक घण्टामा गर्ब्याङ्ग भन्ने अलमोडा जिल्लाको एउटा गाउँमा पुगियो । त्यहाँ भारतीय सीमाना चौकी पनि रहेछ ।

चौकीका अफिसरले मेरो कामधामको विवरण लिई मलाई आगन्तुक पुस्तिकामा दस्तखत गराए । गर्ब्याङ्गका ती कर्मचारीहरूसँग कुरा गर्दा थाहा भयो, भारत र चीन सीमानाको प्रश्नलाई लिएर लडाई चलिसकेको रहेछ । घर फर्किदा मैले मोटर नपाएको कारण बल्ल पो खुल्यो ।

गर्ब्याङ्गबाट तीन चारदिन अति विकट पदयात्रा गरी पिथौरागढ पुगेँ । त्यहाँबाट रेल चढी लखनऊ पुगेँ । लखनऊमा एक दिन मुकाम गरी हवाई मार्गबाट वनारस पटना भई फूलपातीको दिन घर पुगेँ ।

यसरी मैले काठमाडौँबाट उत्तर लागि रसुवा पुगेर त्यहाँबाट उन्नाइस बीस दिन पैदल र मोटर यात्रा गरी हुम्लाको थाप्लो खोजरनाथमा पुगेर दक्षिणका लागि पिथौरागढ पुगी, त्यहाँबाट पूर्व हानी रेल हवाई जहाजमा यात्रा गरी घर पुग्दा नेपाल माताको तीनखण्डको दुइखण्ड परिक्रमा गर्ने अति दुर्लभ सौभाग्य पाएँ । यस्तो सौभाग्य प्राप्त भएकोमा समष्टि रूपले श्री ५ को सरकारप्रति व्यक्तिगत रूपले तत्कालिन गृह सचिव छेत्रविक्रम राणाप्रति आभारी छु ।

सुदूपश्चिमको तिब्बतसितको हाम्रो सीमानामा सीमास्तम्भ खडा गर्ने काम सकेर घर आउँदा दशैंमा गन्हाउने बोकाको मासु खाने र तिहारको सेल, अनर्सा खाने चाड जहान बच्चासँग बसी रमाइलो वातावरणमा मनाइयो । त्यसपछि त्यो वर्षभरिको बाह्र दिनको बिरामी बिदा र पन्ध्र दिनको क्याजुएल बिदा लिई घरमा आरामसँग बसियो ।

पुस महिना लागेपछि मात्र रेखदेख विभागमा हाजिर हुन गएँ । हाजिर भएको एक दुई दिनमा नै उद्योग वाणिज्य मन्त्रालयमा कागजमा गएँ । त्यस मन्त्रालयमा आफूभन्दा मुनिका कर्मचारीहरूको विदाहरू स्वीकृत गर्ने र मातहतका विभागहरूको त्रैमासिक रकम निकासा गर्ने बाहेक कुनै विशेष काम गर्नु पर्ने थिएन । त्यसैले एघार–बाह्र बजे अफिस गई एक–दुई बजेतिर घर फर्किने कार्यक्रम बन्यो ।

(संग्रह प्रकाशनले २०३९ मा प्रकासित गरेको ‘दमनराज तुलाधर’ पुस्तकको पेज २०२–२१८ बाट । भर्खर हुम्ला क्षेत्रमा सीमा विवाद देखिएको सन्दर्भमा यो आलेखको शीर्षक हामीले दिएका हौँ । लेखक तुलाधरको बिसं ’५० को दशकमा निधन भइसकेको छ– सम्पादक)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट