एकता नै नटुंग्याएको नेकपाले चैतमा महाविधेशन गर्ला ?-Sutra News

एकता नै नटुंग्याएको नेकपाले चैतमा महाविधेशन गर्ला ?

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- लामो समय विवादमा उल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति तोकिसकेको छ। नेकपाले २०७७ चैत २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।



दुई पार्टीबीच एकिकरण (३ जेठ २०७५) भइ नेकपा बनेयता पहिलो पटक गर्न लागिएकाले होला यसलाई एकताको राष्ट्रिय महाधिवेशन भनिएको छ। नेकपाले तोकेको यो महाधिवेशन मिति नयाँ भने होइन।

यो मिति सबैभन्दा पहिले नेकापाको केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको थियो। पार्टी विवाद समाधान गर्न गठित कार्यदलले पनि त्यही समयलाई निरन्तरता दियो। कार्यदलकै आधारमा २६ भदौमा बसेको स्थायी कमिटी बैठकका लागि अध्यक्षद्वयले प्रस्ताव गरेको १५ बुँदे सहमति प्रस्तावमा पनि त्यही मिति राखियो। सचिवालयले त्यसलाई अनुमोदन गरिदियो।

पछिल्लो पटक ४ असोजमा सुरु सचिवालय बैठकले पनि त्यसलाई निरन्तरता दिँदै महाधिवेशनका लागि पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे विशेष खाका ल्याउन अध्यक्षद्वयलाई जिम्मेवारी दियो। एकातिर कोरोना महामारीको बढ्दो कहर र अर्कोतिर पार्टी एकिकरणको समग्र काम नै नटुंगिएको अवस्थामा प्रश्न उठ्छ- तोकिएको चैत मसान्तमै नेकपाले महाधिवेशन गर्न सक्ला?

एकता टुंगिनै बाँकी

नेकपा गठन भएको दुई वर्ष बितिसकेको छ। अहिलेसम्म पार्टी एकताका सम्पूर्ण काम सम्पन्न गर्ने, सदस्यता नवीकरण गर्ने र स्थानीय कमिटीका अधिवेशनहरु र राष्ट्रिय महाधिवेशनसमेत सम्पन्न गरिसक्नुपर्ने थियो तर त्यो हुन सकेन।

यसलाई स्वीकार गर्दै नेकपालले विलम्ब हुनुमा प्रमुख नेताहरुबीच बेलाबेलामा उत्पन्न विवाद र कोभिड-१९ महामारीलाई कारण ठानेको छ। ‘फरक-फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमीले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरुका बीचमा बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका संगठनात्मक बिषयहरुमा सहमति हुन नसक्ने जस्ता समस्याहरुले एकीकरण प्रकृयामा अनपेक्षित विलम्ब हुनपुगेको छ,’ विवावद सधानका लागि गठित ६ सदस्यी कार्यादलले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘कोभिड–१९ महामारीको सामना गर्नुपर्ने जस्तो अनपेक्षित राष्ट्रिय समस्याले पनि पार्टीकाम प्रभावित हुन पुगेको छ।’

अहिलेसम्म नेकपाको केन्द्रीय कमिटी सदस्यमा गर्नुपर्ने मनोनयन र पोलिटब्युरो गठनको बाँकी नै छ। त्यस्तै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले एकता पूर्वको पार्टी सदस्य र संगठित सदस्य संख्या यकिन गर्न पनि बाँकी छ।

राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि संगठित सदस्य संख्याको भारतले निकै अर्थ राख्छ। तत्कालीन दुवै पार्टीमा संगठित सदस्य संख्याको आधिकारिक रेकर्ड नरहेकाले यो विषय टुंग्याउन निकै हम्मे-हम्मे पर्ने छ।

नेकपा पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार २२ वटा जनवर्गीय संगठन र ३३ वटा विभागको नेतृत्व टुंगो लागेको छ। तर, सदस्यको अन्तिम रुप दिन बाँकी छ। त्यस्तै ज्येष्ठ नागरिक कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको पनि नेतृत्व मात्र टुंगो लागे पनि सदस्य नियुक्त गर्न बाँकी नै छ।

जनवर्गीय संगठनमा नेपाल उद्योगी व्यवसायी महासंघ, नेपाल दलित मुक्ति संगठन, नेपाल बुद्धिजीवी संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल भूमिहीन सुकुम्बासी संगठन, पेसागत महासंघ नेपाल, अखिल नेपाल महिला संघ, अपाङ्गता संगठन नेपाल, खेलकुद महासंघ नेपाल, ट्रेड युनियन महासंघ नेपाल र प्रवासी नेपाली एकता मञ्च भारतको त एकीकरण प्रक्रिया नै बाँकी नै छ। त्यस्तै केही प्रदेशबाहेक अधिकांश प्रदेशमा प्रदेश र स्थानीय तहका कमिटीहरु गठन गर्न बाँकी नै छ।

नेकपामा महानगर कमिटीको स्तर, मर्यादा र जिम्मेवारी टुंग्याउने विषय पनि निकै पेचिलो छ। नेकपाको विधानअनुसार महानगर कमिटीको मर्यादा जिल्ला कमिटीसरह हो। तथापी, महानगर कमिटी सम्बन्धित जिल्ला कमिटीको मातहत हुन्छ।

तर, दुबै कमिटीमा केन्द्रीय सदस्यलाई इन्चार्ज तोकिएको छ। यस कारण पनि को कसको नेतृत्वमा रहने भन्ने समस्या महानगर रहेका जिल्लामा रहेको छ। जिल्ला र महानगर दुवै समितिमा केन्द्रीय सदस्य इन्चार्ज थिए, जसले को कसको नेतृत्वमा रहने भन्ने समस्या महानगर रहेका जिल्लामा देखिएको थियो। महानगर कमिटीलाई सिधै प्रदेश कमिटी मातहत ल्याउने सुझाव पनि कतिपयको छ। तर, महानगर कमिटी प्रदेश स्तरीय हुँदा जिल्ला कमिटी के हुन्छ भन्ने पनि छ। विधान संसोधन गरेर यसको उपयुक्त निकास खोज्न पनि नेकपाले चाँडै खोज्नुपर्ने हुन्छ।

गर्नैपर्ने काम, घर्किँदो समय

पार्टी एकताको २८ महिनापछि महाधिवेनमा औपचारिकरुपमै जाने निर्णय गरेको नेकपाले महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न असोज १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने भनेको छ।

वर्तमान कोरोना महामारीको संकटमाझ ४ सय सदस्य रहेको नेकपाको जम्बो केन्द्रीय कमिटिको बैठक तोकिएको मितिमा बस्न सम्भव हुन्छ कि हुँदैन भन्नेमा दुविधा छ। त्यसअघि ६ असोजमा सचिवालयले दुई अध्यक्षलाई  जिम्मा दिएको एकता गर्न बाँकी विषयबारे विशेष खाका ल्याउने काम सक्नुपर्छ।

सचिवालय बैठकले अध्यक्षद्वयलाई १० दिनको समय दिएको थियो, जसअनुसार १६ असोजसम्मको समय हुन्छ। १५ असोजमा केन्द्रय कमिटी बोलाउने भनिएको अवस्थामा त्योभन्दा पहिले नै विशेष खाका तयार भइसकेको हुनुपर्छ।

महाविधेनका लागि महत्वपूर्ण मानिने संगठन विभागको २८ असोजमा बसेको बैठकले पार्टीले गरेको निर्णयअनुसारै असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिक मसान्तभित्र अद्यावधिक गर्ने र मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय गरेको छ। तर, एकातिर चाडपर्व यही समयमा पर्ने र अर्कोतिर पार्टीको पूर्ण एकीकरण नै नसकिएको अवस्थामा यी सबै काम कसरी सम्पन्न होलान् भन्ने आशंका छ।

त्यस्तै महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल ब्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिकालगायतका सबै चाँडै टुंग्याउनुपर्छ।

यी र यस्तै आशंकामाझ तोकिएको समयमा महाधिवेशन गर्न नसकिएला कि भनेर २८ असोजको संगठन विभागको बैठकमा पनि अनौपचारिक कुरा भएको केन्द्रीय सदस्य एवं विभाग सदस्य रेखा शर्मा बताउँछिन्। भन्छिन्, ‘सबै जिल्ला सम्मेलन गरेर, निर्वाचन गरेर प्रतिनिधि छनोट कति सम्भव हो? सबै ठाउँमा सम्मेलन कति सम्भव हुन्छ? प्रतिनिधिहरुको स्थिति के हुन्छ भनेर अनौपचारिक कुराकानीमा त्यो विषयमा सोच्न सकिन्छ भनेर छलफल भएको थियो।’

शर्माको भनाइमा महाधिवेशनका जुन प्ररम्परा हुन्छन्, तिनीहरुलाई बदलेर भए पनि काम गर्न सकिन्छ। यद्यपि यसलाई अभियानकैरुपमा सञ्चालन गर्दा असम्भव भन्ने पनि उनलाई लाग्दैन। ‘हाम्रो पार्टीको काम गर्ने एउटा प्रचलन र संस्कार पनि छ,’ शर्मा भन्छिन्, ‘पूरै अभियानकैरुपमा सञ्चालन गर्न पाउँदा असोजभरिमा विवरण अद्यावधिक गर्ने, मंसिरभरीमा नवीकरण गर्ने भन्ने कुरा ठूलो होजस्तो लाग्दैन।’

स्थायी कमिटी सदस्य युवराज ज्ञवाली प्रयत्न गर्दा महाधिवेशन सम्भव भएको बताउँछन्। ‘प्रयत्न गनुपर्छ सकिन्छ,’ उनी भन्छन्, ‘कामलाई छिटो टुंग्याउनुपर्छ। एकीकरणको बाँकी कामलाई पनि छिटो टुंग्याउनुपर्छ। त्यसपछि सदस्यता नवीकरणको काम तीव्ररुपमा अघि बढाउनुपर्छ।’

नेकपा सत्तारुढ पार्टी भएकाले नेताहरु सरकारी काममा पनि व्यवस्थ हुनुपर्छ। यसले पनि महाधिवेशनमा विलम्ब हुन्छ कि भन्ने आशंका पनि छ। तर, ज्ञवाली सरकारको काम आफ्नै र पार्टीको काम आफ्नै ढंगले अगाडि बढ्ने भएकाले महाधिवेशनमा असर नापर्ने बताउँछन्। ज्ञवाली भन्छन्, ‘सरकारी काम आफ्नो तरिकाले अगाडि बढेको हुन्छ, पार्टी काम आफ्नो तरिकाले अघि बढेको हुन्छ। एउटाले अर्कोलाई रोक्ने कुरा हुँदैन।’

कोरोनाको चुनौति

आइतबारमात्रै नेपालमा १ हजार ५ सय ७३ कोरोना संक्रमित भेटिए। योसँगै कूल संक्रमितको संख्याले ७३ हजार नाघेको छ। काठमाडौंमा उपत्यकामा मात्रै ८ सय ९ संक्रमित थपिए। यही ‘ट्रेन्ड’मा संक्रमण बढ्दै गए महामारीको विकराल अवस्था आउने देखिन्छ।

विशेषज्ञहरु अब जाडो महिनामा आउन लागेकाले यसको संक्रमण झन् बढ्ने हो कि भन्नेमा चिन्तित छन्। ‘हामीले एक वर्षको म्याप हेर्न पाएका छैनौं,’ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘जोडो महिनामा भाइरस बढी सक्रिय होला कि, अर्को ‘वेभ’ आउन सक्ला कि भन्ने प्रक्षेपण छ। अमेरिकालगायत युरोपका वैज्ञानिक पनि जाडो महिनामा लागि चिन्तित देखिन्छन्।’

विशेषज्ञहरुले चिन्ता गरेजस्तै अवस्था हुने हो भने नेकपा महाविधेशन पूर्णरुपमा प्रभावित हुनेछ। यस्तो अवस्थामा के गर्ने भन्नेबारे चाहिँ नेताहरु प्रष्ट छैनन्। शर्माचाहिँ संक्रमण फैलिदै गएको अवस्थामा महाविधेशनबारे सोच्नुपर्ने बताउँछिन्।

भन्छिन्, ‘अहिलेभन्दा पनि अवस्था भयंकर भएर गयो भने त त्यो बेला फेरि सोच्ने कुरा होला।’

ज्ञवाली पनि कोरोना संक्रमण बढ्दै गए महाधिवेशन प्रभावित हुने बताउँछन्। ‘कोरोना धेरै लामो समय जाँदो रहेछ भने त्यसले ‘डिस्टर्व’ गर्छ,’ उनी भन्छन्, यदि कम हुँदै गयो भने त महाधिवेशन चैतमा सम्भव छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट