आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंक, सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने-Sutra News

आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंक, सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं– धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु
बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन्।



कूल २५.४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।

आयोजनाको कूल लागत रु चार अर्ब ५६ करोड रहेको छ। सोमध्ये रु तीन अर्ब ४२ करोड रकम ऋण लगानी हुनेछ। आयोजना गोरक्ष हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो।

आयोजनामा प्रभु बैंकले रु एक अर्ब ८२ करोड, सञ्चय कोषले रु ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण
लगानी गर्ने सम्झौतामा उल्लेख छ। आयोजनामा कूल लागतको २५ प्रतिशत अर्थात् रु एक अर्ब १४ करोड भने लगानीकर्ता कम्पनी र सर्वसाधारणमार्फत उठाउने लक्ष्य राखिएको छ।

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर रेनुप्रसाद पाण्डेय, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल तथा गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन्।

आयोजनाले सुख्खायाममा ४१.६३ गिगावाट घण्टा र वर्षायाममा ९६.६३ गिगावाट घण्टा गरी कुल वार्षिक
१३८.२६ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ। प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर भइसकेको छ।

विद्युत्मा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यमा साथ दिँदै विद्युत् तथा ऊर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य बमोजिम विभिन्न ४० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट